सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कोरोना परीक्षण किट अभाव, परीक्षण विनै घर जाने स्थानीयको चेतावनी

२०७७ वैशाख ३१, ०५:४४ डीवि विष्ट

बझाङ : भारतका विभिन्न शहरहरुबाट बझाङ पुगेर क्वारेन्टाइनमा बसेका स्थानीयहरुले क्वारेन्टाइनमा बसेको १४ दिनभित्र कोरोना परीक्षण नगरे परीक्षण विनै घर जाने चेतावनी दिएका छन्।

भारतका विभिन्न चार क्वारेन्टाइनमा करिब ३२ दिन बसेका उनीहरु बैशाख १८ गते बझाङ पुगेका थिए। सरकारको आदेश अनुसार १४ दिन वा एकदुई दिन थप क्वारेन्टाइनमा बस्ने तर समयमा कोरोना परिक्षण नगरे १६औं दिनको बिहानै आ–आफ्नो घर लाग्ने उनीहरुले बताएका हुन्। अन्नबाली भित्र्याउने समयमा आफुहरु क्वारेन्टाइनमा बसेकाले खेतबारीमै अन्न खेर गएर भोकमरी हुने चिन्ताका कारण छिटो कोरोना परिक्षण गरेर घर पठाउनुपर्र्नेे बुंगल नगरपालिकाका मानसिँह बोहराले बताए।

बुंगल नगरपालिकाका क्वारेन्टाइनमा भारतबाट आएका ३ सय ८४ जना बसेका छन्। कोरोना परीक्षण किट अभावका कारण उनीहरुको परीक्षण गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

भारत तथा अन्य जिल्लाबाट आएका ५ सय ३२ जना जिल्लाका १२ वटै स्थानीय तहका क्वारेन्टाइनमा छन्। जसमध्ये विथ्थडचिर गाउँपालिकामा ९६ जना, केदार स्युँ गाउँपालिकामा २६ जना, बुंगल नगरपालिकामा ३ सय ८४ जना, छविसपाथिभेरा गाउँपालिकामा २६, खप्तड छान्ना गाउँपालिकामा ९ जना, सुर्मा गाउँपालिकामा ७ जना क्वारेन्टाईनमा रहेका छन्  

अहिलेसम्म जिल्लाभरी ९ सय १७ जनाको आरडिटी परीक्षण गरिएको छ। जसमध्ये एक जनाको मात्रै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। भारतबाट आएका ती ३५ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि कैलाली पठाइएको छ। 

 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस