‘बा’ रोए
कल्पना जोशी
आज बिहानै बा रोए,
छताछुल्ल आमाको शरीर,
निर्जीव आँखामा जमेको रगत,
खुट्टाको काँडेतारको पाउजु,
लुटिएका गहना,
चिथोरिएको अस्तित्वमा बहुला हाँसो हाँसिरहेकी आमा देख्दा,
बा घोप्टो परेर रोए।
एकाएक आमाको छातिको चोलो खुकुलो भएपछि,
बाँधिएका तुनाहरु फुकालिएको देखेपछि,
सेतो पछ्यौरीमा कोही अर्कैले टालटुल गरेको देखेपछि,
झोक चलेको हो दर्जीदाइलाइ आफैमाथि,
विश्वास उठेको हो आफ्नै अस्त्रबाट।
‘सब्जी ले हो’ भन्दै आज ठेलादाई दुई किलोमिटर यतैबाट फर्किएका छन,
काफलको रुख चढ्नुअघि उजेली भाउजुले दुइपटक सोचिन,
अपहरित हुनबाट बच्न कोइलीले मौनब्रत सुरु गरेका छन,
बिदाइमा बेचिएकि चेली भएका छन गुराँसहरु,
बन्दकी भएको छ हिउँको शिखर,
यो सब देख्न नसकेर ‘बा’ खुब रोएका हुन।
आरनदाइले हतौडा बिस्तारै हिर्काएका हुन,
सङ्कुचित भएदेखि उनका पाखुरा,
सिमाना खोज्दैछन आगोका झिल्काहरुले,
फलाम थोरैमात्र पिट्न आदेश जाँदैछ उनलाई,
आगोले कसैको सिमाना नमान्ने,
अन्याय हुँदा पहिला आगो सल्किने डरले बा आज रोएका हुन।
बुद्धको भुमिबाट बुद्धकै मुर्ति चोरिदा,
बेलाबखत बुद्धको नागरिकता बदलिँदा,
माथिल्लो आदेश होला भनि चुपचाप बसेका ‘बा’ आज बुद्ध जन्माउने आमा नै चोरिएपछि,
लाचार अखवार देखेर बा रोएका हुन।
डाक्टर काकाको छोरीले ‘बा’ कोरोनाले सिमाक्षेत्रमा किन यति हानी र्पुयाउदै छ ? “प्रश्नले मौन बनाइदिएको छ उनको मेडिकल आवाज,
बिरे हवल्दारका छोराले “ बा,
ड्युटीमै पुलिस कुटिँदा कसलाई खवर गर्नुपर्छ ? सोध्दा हेरेका हुन खल्तिभित्रको परिचयपत्र,
यि प्रश्न सुनेर छाति पिटिपिटि हाँसिरहेकी आमा देख्दा,
‘बा’ रोएका हुन आज।
हिजोसम्म एउटा क्षेत्रफल कण्ठ गरेको लाले,
आज बिहानै बिदेशी मास्टरले सिकाएको नयाँ नक्सा र क्षेत्रफलको बिचमा खोज्दैछ आफूलाइ,
‘बा’ देश कसले चुरोटजस्तै तानिरहेको छ ? प्रत्येक दिन किन छोटिदै गएकाछन हाम्रा सिमाना ? आमा बहुलाएर हाँस्न थालेदेखि,
यी प्रश्न सबै ‘बा’ लाई आउन थालेका हुन,
यहीँ देख्न र सुन्न नसकेर आज,
‘बा’ आफै रोएका हुन।
आरनदाइले ‘जेरो पिलर’ बनाउने भनेपछि,
दर्जीदाइले आमालाइ छोप्न मिल्ने झण्डा बनाइसकेको जानकारी दिएपछि,
हवलदारसापले राइफल भिरेको देखेपछि,
डाक्टर काकाले बिस्तारवाद बिरुद्धको ‘स्यानिटाइजर’ बोकेको देखेपछि,
ठेलादाइको ठेलाभरी बलिया इट्टाहरु देखेपछि,
सिमानातिर झण्डा गाड्न हिनेका बा,
एकछिन माटोको टीका चुमेर खुब रोएका हुन।