सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला र बझाङमा यार्सा संकलन सुरु भएन, अर्को वर्ष उत्पादन बढ्ने

२०७७ वैशाख ३१, ११:५४ रोशन भट्ट

धनगढी :सुदूरपश्चिमका दुई हिमाली जिल्ला दार्चुला र बझाङमा कोरोनाको जोखिमका कारण यार्सा गुम्बा संकलन सुरु भएको छैन्। कोरोना भाईरसको जोखिमलाई नियन्त्रण गर्न देशमा जारी लकडाउनका कारण दार्चुला र बझाङमा समेत यार्सागुम्बा संकलन गर्न सुरु नभएको हो। दार्चुलाको व्यास र अपी हिमाल गाउँपालिका यार्सा बढी उत्पादन हुने क्षेत्रको रुपमा चिनिन्छन्।

उक्त क्षेत्रमा प्रत्यक वर्ष ६ देखि ७ क्वीन्टलको हाराहारीमा यार्सा उत्पादन हुने गरेको छ। जसबाट सरकारले मात्रै प्रत्येक वर्ष दुई करोड भन्दा बढी राजश्व संकलन गर्दै आएको छ भने उक्त क्षेत्रका संकलनकर्ताहरुले पनि लाखौं आम्दानी गर्दै आएका छन्।

गत वर्ष मात्रै प्रतीकिलो १७ लाखमा विक्रि भएको अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख किशोरकुमार मेहताले बताए। ‘तर यस वर्ष यार्सा संकलन सुरु भएको छैन्’, उनले भने ‘देश पुरै लकडाउनमा छ संकलनकर्तालाई अनुमती दिनपछि हजारौंको संख्यामा जान्छन कोरोनाको जोखिम हुन्छ।’

उता बझाङमा समेत अहिलेलाई यार्सा संकलन गर्न नपाईने भएको छ। कोरोनाको जोखिम बढ्ने भन्दै अर्को सूचना जारी नहुँदा सम्म संकलन गर्न नपाईने बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेयले बताए। ‘सम्बन्धीत स्थानीय तहले पनि अनुमती दिने गरेको पाईएको छ’ उनले भने, ‘वन कार्यालयसंगै स्थानीय तहहरुलाई पनि अनुमती नदिन निर्देशन नै भएको छ।’ तर यस वर्ष अहिले सम्म हिमपात भईरहेका कारण यार्सा संकलन गर्न सहज नभएको उनले बताए।

जिल्लाका तीन स्थानीय तह सुर्मा, साईपाल र वुङ्गलमा यार्सा उत्पादन हुने गरेको छ। जसमा प्रत्येक वर्ष साढे तीन क्वीन्टलको हाराहारीमा यार्सा उत्पादन हुने गरेको छ। जसबाट एक करोड भन्दा बढी राजश्व संकलन हुदै आएको छ। एक वर्ष यार्सा संकलन नभए अर्को वर्ष बढी उत्पादन हुने दावी गरिएको छ।

अहिले अधिकासं संकलनकर्ताले राम्रोसँग तयार नभएको यार्सा पनि टिप्ने गरेका कारण विउ पनि नफैलिने र उत्पादन पनि कम हुने गरेको छ। तर एक वर्ष संकलन रोकिएपछि विउ फैलिन पाउने भएका कारण अर्को वर्ष बढी उत्पादन हुने दावी गरिएको हो। अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख मेहताले भने, ‘विउ उम्रन नपाउँदै टिप्ने गरेका छन्, एक वर्ष संकलन नभए अर्को वर्ष उत्पादन बढी हुन्छ’ उनले दिनेश खबरसंग भने, ‘एक वर्ष संकलन नभए विउ फैलिनुका साथै पुरानो विरुवा पनि हुर्किन पाउछ।’

चिकित्सा प्रणालीमा यार्सागुम्बालाई शरीरको प्राण सञ्चालन गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, शक्ति बढाउने, शरीरका विभिन्न अङ्गहरू जस्तै मुटु, कलेजो, मृर्गौला, रक्त प्रणाली, श्वास प्रणालीको कार्य क्षमता बढाउने र यौन क्षमता बढाउने सर्बगुण सम्पन्न जडिवुटी रूपमा लिइन्छ।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस