सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाकै मिलोमतोमा कुहिएको चामल खरिद

२०७७ वैशाख ३०, ०७:०४

नवराज पनेरु/कमल सावद धनगढी : धनगढी उप–महानगरपालिकाकै मिलोमतोमा कुहिएको चामल खरिद गरेको आरोप लागेको छ। कुहिएको चामल बाडेर जनस्वास्थ्यमाथि खेलवाड गर्न उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि मिलोमतो रहेको आरोप लागेको हो। 

ठेक्का आह्वानदेखि सामाग्री आपूर्ति र वितरण सम्म भएका दर्जनौ त्रुटीमा उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी प्रत्येक्ष संग्लन छन्। दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, तीन सय ९९ सय क्वीन्टल दाल, दुई सय नौँ क्वीन्टल नुन, २२ हजार पाँच सय लिटर तेल, दुई सय ६५ क्वीन्टल चिनी र ५१ हजार नौँ सय वटा सावुन खरिदका लागि धनगढी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकसंग ठेक्का सम्झौता गरेको थियो। 

बैशाख ११ गते टेण्डरको सूचना प्रकाशन भएकोमा १४ गते टेण्डर खोलिएको थियो। धनगढीस्थित ठाकुर ट्रेड लिंकले मात्रै टेण्डर हालेपछि सोही फर्मसंग उप–महानगरपालिकाले १५ गते सम्झौता गरेको थियो। ११ गते आह्वान गरिएको बोलपत्रमा राखिएको शर्त नम्वर ८ मा सप्लायर्सले सम्झौता गरेको २४ घण्टाभित्र दुई करोड बराबरको खाद्य सामाग्री उपलव्ध गराउनुपर्ने छ र नभए सम्झौता अन्त्य गरी धरौटी समेत जफत गरिने उल्लेख छ। 

१५ गते सम्झौता भएकोमा सो शर्त अनुसार १६ गतेभित्र सप्लायर्सले दुई करोडको खाद्य सामाग्री उप–महानगरपालिकालाई उपलव्ध गराउनपर्ने थियो। तर त्यसको तीन दिन सम्म पनि सप्लायर्सले ५५ लाखको मात्रै खाद्यान्न उपलव्ध गराएपनि उप–महानगरपालिकाले सप्लायर्सलाई सचेत समेत गराएको छैन्। यस्ले उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलोमतोको आशंकालाई थप बलियो बनाएको छ। 

सप्लायर्सले पाँच पटकमा सम्झौता मूल्यको सामाग्री उप–महानगरपालिकालाई उपलब्ध गराएको छ। सप्लायर्सले उपलव्ध गराएको सामान सम्झौता अनुसार छ वा छैन भनेर उप–महानगरपालिकाले एक पटक समेत जाँच गरेको छैन्। सिधै नगरवासीलाई बाडिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले खाद्य सामाग्रीको गुणस्तर मापनका लागि सप्लायर्सले नै नमूना पठाएको बताए।

‘सप्लयार्सले चामलको गुणस्तर मापनका लागि आफै आधा किलो चामल दिएको थियो। सो चामल नै वडामा आपूर्ति भएको हो वा होईन भन्ने विषयमा हामीलाई जानकारी छैन्। सप्लायर्सले दिएको चामलको नमूना भने नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै थियो।’ कुँवरले दिनेश खवरलाई भने। 

टेण्डर आह्वान गर्दा नै उप–महानगरपालिकाले राहतको सामाग्री खरिदमा लाखौँ अनियमिता गर्न खोजेको आशंका पनि बढेको छ। टेण्डरमा मध्य मसिनो चामल खरिद गर्नुपर्ने भनिएको छ तर त्यस्को गुणस्तर उल्लेख गरिएको छैन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिल श्रेष्ठले चामल खरिद गर्दा उप–महानगरपालिकले कुनै समन्वय नगरेको बताए। ‘मध्य मसिनो चामल भनेर मात्रै हुँदैन्। हामीले चामलमा कनिका बढिमा २५ प्रतिशत, बाह्य पदार्थ शून्य प्रतिशत ५ प्रतिशत, बिग्रेको दाना २ प्रतिशत, रातो र चक्की दाना बढिमा ६ प्रतिशत, तथा रंग उडेको दाना बढिमा दुई प्रतिशत राख्ने गरेका छौ। त्यो कुरा स्पष्ट खुलाउनपर्छ। हामीले सोही अनुसार टेण्डर गर्ने गरेका छौँ।’ श्रेष्ठले दिनेश खवरलाई भने।

टेण्डरमा कुन गुणस्तरको चामल खरिद गर्ने हो भन्ने विषय नै उल्लेख नभएपछि आपूर्तिकर्ताले पनि बदमासी गर्ने मौका पाएको धेरैको तर्क छ। चामल प्रति किलो ४४, दाल प्रति किलो एक सय २५, नुन प्रति किलो २०, चिनी प्रति किलो ७६, तेल एक सय ६५ प्रति लिटर, सावुन चार पिसको एक सय १४ स्वीकृत दररेट छ।

कुहिएको र किरा परेको चामल वितरण भएपछि स्थानीयले उप–महानगरपालिकालाई नै फिर्ता गरिदिएका छन्। त्यसपछि सयुक्त जिल्ला अनुगमन समितिले उप–महानगरपालिकाको गोदाम र सप्लायर्सको गोदाममा पनि अनुमगन गरेको छ। सप्लयार्स कम्पनी ठाकुर ट्रेडलाई दुई लाख जरिवाना समेत गरिएको छ।

तर कुहिएको चामल बाडेर नगरवासीको जनस्वास्थ्यमाथि खेलवाड गर्ने उप–महानगरपालिकासंगै जिल्लास्थित अन्य अनुगमन कार्यालय पनि सम्पूर्ण दोष सप्लायर्सको भएको भन्दै उम्किने प्रयासमा जुटेका छन्। टेण्डर आह्वान, खरिद र वितरणमा उप–महानगरपालिकाबाट भएका दर्जनौ त्रुटी लुकाउने प्रयास गरिएको छ। उप–महानगरपालिकाका मेयर नृप वडले भने सबैलाई छानविनको दायरामा ल्याउने बता‘चार, पाँच सयमा दुई चार बोरामा समस्या देखिनु सामान्य हो। तर धेरैमा त्यस्तो समस्या देखिएको छ। छानविन समिति गठन गरिसकेका छौँ। उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि मिलोमतो देखिए कारवाही हुन्छ।’ मेयर वडले दिनेश खवरलाई भने। 

सप्लायर्सले मात्रै बदमासी गर्न नसक्ने भएकाले कुहिएको र किरा परेको चामल  खरिदमा उप–महानगरपालिकाको समेत मिलोमतो रहेको भन्दै त्यसतर्फ पनि छानविन हुनपर्ने माग नगरवासीले राखेका छन्।

कमेन्ट लोड गर्नुस