सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बझाङमा ओपीडी सेवा पुनः सुचारु

२०७७ वैशाख २९, ०७:५२ खबर संवाददाता

प्रताप ओली, बझाङ : कोरोना भाइरसबाट संक्रमित बिरामीहरु देखिन थालेपछि बहिरंग सेवा (ओपीडी) बन्द गरेको जिल्ला अस्पताल बझाङले सोमबारदेखि पुनः सेवा सुचारु गरेको छ। सुदूरपश्चिमका सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि अस्पतालले सेवा पुनः सञ्चालन गरेको हो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि जिल्ला अस्पताल बझाङले पनि आजदेखि सबै सेवा सुचारु गरेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए। 

उनका अनुसार ओपिडी मात्रै नभएर अस्पतालबाट प्रदान हुने नियमित सेवा आजदेखि सावधानी पु¥याएर सञ्चालन गरिने भएको छ। ओपीडी सेवा बन्द गरेपछि यस अवधिमा अस्पतालले आकस्मिक उपचार गर्नुपर्ने र सुत्केरी सेवा लिन आउनेहरुबाहेकका बिरामीहरु अस्पताल आउन छाडेका थिए।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, प्रदेश सरकार मातहत सञ्चालित, स्थानीय तह अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई आइतबार ओपीडी सेवा सञ्चालन गर्न लिखित निर्देशन गरेको हो। 

दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सञ्चालन हुँदै
जेठ एक गतेदेखि बझाङका ६ स्थानीय तहमा दोस्रो चरणको दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ। बझाङका खप्तड छान्ना, दुर्गाथली, सुर्मा, छबिसपाथिभेरा, तल्कोट र साइपाल गाउँपालिकामा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको हो। 

कोराना महामारीका कारण लकडाउन हुँदा रोकिएको खोप अभियान जेठ १ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय बझाङले जनाएको छ। स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गरी भौतिक दुरी कायम राखेर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई ६ वटै स्थानीय तहका विभिन्न खोप केन्द्रमा लगि खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।  

कमेन्ट लोड गर्नुस