सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको स्वास्थ्य चौकीमा खानेपानीको समस्या, कपडा धुन खोला जान्छन सुत्केरी

२०७७ वैशाख २८, ०५:५९ खबर संवाददाता

रिदम सिंह, बझाङ : कार्यालय समयको १ घण्टा खोलाबाट बाल्टिनमा पानी बोकेर जम्मा गर्ने कार्यालय सहयोगी रामप्रशाद जोशीको दैनिकी बनेको छ। बझाङको जयपृथ्वी नगरपालिका –७ स्थित सुबेडा स्वास्थ्य चौकी कार्यरत उनी पानी बोक्दाबोक्दा हैरान बनेका छन्। खानेपानीको धारा नभएपछि उक्त स्वास्थ्य चौकीमा पिउने र सरसफाई गर्ने पानीको समस्या बढदै गएको छ।

दश वर्षअघि खानेपानीको धारा निर्माण त भएको थियो, तर पाईप जमिनभित्र नगाडिएकाले करिब छ सय मिटर पाईप चोरी भएको थियो। त्यो पानीको मुहानपनि सुकेर गएपछि अहिले धाराको मुर्तिमात्र बाँकी रहेको स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट विनोद खड्काले बताए।

वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द जोशीले चाँसो नदिँदा अहिलेसम्म पानीको समस्या समाधान नभएको स्वास्थ्यकर्मी राधा रानाले बताइन। बर्थिङ सेन्टरमा सुत्केरीका लुगाकपडा र अन्य सामग्री सरसफाई गर्न नजिकै रहेको चौपाख्या खोलामा जानुपर्ने बाध्यता रहेको बर्थिङ सेन्टरकी अनमी ममता खत्रीले बताइन। त्यसैमा वर्षायामका बेला खोला धमिलो हुने भएकाले त्यो समयमा शुद्ध पिउने पानी र सफाई गर्न  समस्या हुने गरेको अर्की अनमी दुर्गा बम्म जोशीले बताइन।

स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसेका बेला पानीको समस्या बारे सबैले चिन्तामात्र व्यक्त गर्ने गरेको तर पानी ल्याउन कसैले पहल नगरेको स्वास्थ्यकर्मीले दुखेसो गरे। ‘वडाअध्यक्ष जोशी योजना हालेर पानी ल्याउने भन्न लागेको पनि ३ वर्ष बित्न लागेको छ तर अहिलेसम्म वडा कार्यालय र स्वास्थ्य चौकीमा खानेपानी पुग्न सकेको छैन’ एक स्थानयले भने।  

जयपृथ्वी नगरपालिकामा सबैभन्दा बढी सुबेडा स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गर्दछन्। तर त्यहाँ पानीको समस्या भएपछि खोलाबाट २० लिटर पानी बोकेर बाल्टिनमा भर्ने गरिन्छ। कोरोना भाइरसको संक्रमण कम गर्न आजभोली हातधुने काम बढी भइरहेकाले बिहान पानी जम्मा गरेर फिल्टर गर्ने गरेको कार्यालय प्रमुख खडकाले बताए। उता समस्याबारे आफुलाई थाहा भएको र पानीको मुहान खोजेर छिटै पानीको सुविधा दिने जयपृथ्वी नगरपालिकाका नगरप्रमुख विरेन्द्र खडकाले बताए। 

स्वास्थ्य चौकीबाट खोला करिब दुई सय मिटर टाढा रहेको छ। खोलाबाट पानी ल्याउनुपर्ने बाध्यताबारे सरोकारवाला जानकार भएपनि निर्माण कार्यले भने गती लिएको देखिदैन। 
 

कमेन्ट लोड गर्नुस