उखानमा बखान: ओलीको राष्ट्रवाद, हात्तीको देखाउने दाँत !
विष्णु प्रसाद जोशी
ओली कार्यकालको चर्चा उखान टुक्कामै गर्न खोज्नु इन्द्रको अगाडी स्वर्गको बयान गर्नु जस्तै हो! तर जोगीलाई हुक्का बोल्नेलाई टुक्काको कमी हुँदैन त्यसैले मनको भारी बिसाउने जमर्को गर्दै छु। काण्डै-काण्डमाझ खेर गएका दुई वर्ष र यो कोरोनाको महामारी रोक्न सरकार बाट चालिएका कदमहरूलाई सङ्क्षेपमा भन्दा ओलीको सरकार बाँदरको पुच्छर लौरो न हतियार र दुई तिहाइ बहुमत हात्ती आयो हात्ती आयो फुस्सा भयो! अहिले कोरोनाको महाव्याधिको मौका छोपी भारतले लिपुलेक–कालापानी हुँदै चीन जोड्ने सडक बनाइ धमिलो पानीमा माछा मार्ने प्रयास गरी रहँदा ओली सरकार यो महाव्याधिको आगोमा पनि आफ्नै स्वार्थी सत्ताको रोटी सेकी रहेको छ! आज काम कुरो एकातिर छोडी कुम्लो बोकी ठिमी तिर गई रहेको यो सरकारको उखान-टुक्कामा समीक्षाका साथै केही सुझाव दिन मन छ। रोटी चिल्ला मीठा, कुरा खस्रा मीठा तर कानमा तेल हाली नबस्नु…
एक वर्ष अघि सामाजिक सुरक्षा कोस घोषणा भयो तर आम जनतालाई ल्हासामा सुन छ (तेत्तिस किलो) कान मेरो बुच्चै भनेझैँ भयो! प्रधानमन्त्री स्व-रोजगार योजना हात्तीको मुखमा जिरा भयो। घाँस उखालेरै सिद्धियो। ठुला-ठुला राष्ट्रिय गौरवका योजना पनि कछुवाकै गतिमा हिँडी रहे। विकासका बजेट आषाढको महिनामा आएर जब पर्यो राती तब बुढी ताती भनेझैँ भँगेरालाई कनिका छरेझैँ कार्यकर्तालाई बाँढियो। जति काला उत्ति मेरै बाउका साला। गोरु बेचेको सम्म साइनो लगाएर तपाईँका आसेपासे सञ्चार, पर्यटन देखि स्वास्थ्य सामग्री खरिदमा समेत राज्य दोहन गरे !
काम गर्ने कालु मकै खाने भालु !
सङ्गैका साथी सिंहदरबार माथि! सबै भ्रष्टाचार को स्पष्टीकरण दिँदै प्रधानमन्त्रीले खाएको विष पो लाग्छ, नखाएको विष लाग्दैन भने पनि जनताले पत्याएका छैनन्। स्याल कराउने र कुखुरा हराउने सँगै पर्यो! अख्तियार र पुलिसका केही काम धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्ता छन्। तीन तहका सरकारको करको मार परेका जनतालाई त काम गर्ने कालु मकै खाने भालु नै भयो !
यो कुरा सोह्रै आना साँचो हो दुई वर्ष सत्ता तपाईँहरू लाई बाँदरको हातमा नरिवल नै भयो तर पनि रात रहे अग्राख पलाउँछ भनेर कुर्दा कुर्दै जनताको धैर्यताको बाँध टुट्नै लागेको छ। कम से कम अब कोरोनाको महामारी र त्यसले ल्याएको आर्थिक मन्दीले घैँटोमा घाम लागोस्।
जो होचो उसकै मुखमा घोचो !
आज दैनिक मजदुरलाई यो विपद् जो होचो उसकै मुखमा घोचो भएको छ। व्यापार, व्यवसाय ठप्प हुँदा गुणस्तरीय जीवन त के हात मुख जोड्न पनि गाह्रो छ। घर-घर पुग्छु भन्ने सिंहदरबार आज आकाशको फल आँखा तरी मर भएको छ। ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भनेझैँ वैदेशिक रोजगारदाताले पनि कामदारलाई घर पठाउँदै छन्। अरूको लाख आमाको काख भनी धेरै दाजुभाइ महाकाली पौडेर देश फर्किने प्रयास गरे। आफन्तहरूले सहरमा छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडीको अनुभूति गराउँदै गर्दा १,२ हप्ता पैदल हिँडेर आफ्नो गाउँ-घर जाँदै गरेका जनता आफूलाई धोबीको कुकुर घरको न घाटको महसुस गर्दै छन्।
अचानोको चोट खुकुरीले जान्दैन !
दुई दशक पछि बनेका स्थानीय सरकारको चाला पनि देखियो । बच्चा आए गुलेली खेलाएर मट्याङ्ग्राको सत्यानाश । जति जोगी आए कानै चिरिएका। यो स्थायी सरकार पनि देखियो। जनताको समस्या आज सरकारले देखेको छैन।अचानोको चोट खुकुरीले जान्दैन। हो अहिले सम्मको राहत कार्य नेता र दलाल कमिसन खोरलाई जसले मह काढ्छ उसैले हात चाट्छ भएको छ भने जनतालाई नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार। हुन त निर्जीव भाइरसको मरणको पाठ नसिके पनि गीताले भनेको आस गर्नु भर नपर्नु जनतालाई ज्ञात छ। जे भए पनि नहुनु भन्दा कानो मामा निको भनेझैँ आए आँप गए झटारो भनेर राहत माग्ने जनतामा झिनो आस सरकारकै छ अझै। जबसम्म श्वास तबसम्म आस !
हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु !
अहिले एकातिर विश्व बजार आर्थिक मन्दी तर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरू सत्तासीन रहेका छन्। अर्कोतिर कोरोना जस्तो महा-व्याधिको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ। हामी जस्तो पराश्रित र युवाको श्रम बेची चलेको देशका लागी यो खतराको घण्टी हो। यो विपद्मा अरूलाई दोष लगाउनु भन्दा पनि आफ्नो गाँठो बलियो बनाउने बेला हो। भोलि दुख पाइस् मङ्गले आफ्नै ढङ्गले भन्ने अवस्था नआओस्।
अल्पकालीन रूपमा हामीलाई चाहिने आपत्कालीन स्वास्थ्य उपचार उपकरण, औषधि, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको समेत कमी पर्न सक्छ र मध्य र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किए पछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउन सक्छ जसको व्यवस्थापन गर्न हामी सँग न कुनै तयारी छ, न योजना नै।
गधा धोएर गाई हुँदैन !
अड्को पड्को तेलको धूप जस्ता योजनाले यो महामारी र त्यसले निम्त्याउने भौतिक र आर्थिक क्षतिबाट बच्न सकिन्न। जान्नु न सान्नु थुतुनो मात्रै तान्नु भनेजस्तो पानीको बाफ लिने, भाइरस निर्जीव हो इत्यादि भन्नु कच्चा वैद्यको मात्रा यम पुरीको यात्रा निम्त्याउनु हो । बाह्र वर्षमा पोइ घर आयो म राँडीलाई ज्वरो आयो भनेझैँ यो महा व्याधिको कालका दिन अब आफ्नै कुर्सीका किला ठोक्दै दिन नबितुन्। गुट-उपगुट बचाई कयौँ अदक्ष खोज्नु भन्दा केही दक्ष खोजौँ। गधा धोएर गाई हुँदैन ओलीका पुस्ताका सबै नेता असफल भई सकेका हुन्।
काटेको घाउमा नुन चुक हाल्न छोडौँ !
अब चुनाव हरेकालाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरी गाई मारी गधा पोस्ने काम नगरौँ! अति गर्नु अत्याचार नगर्नु। फेरी चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी होला भोलि! हुन त जो प्रधानमन्त्री भए पनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो। अब सबै जनताले बुझिसके बालुवा निचरेर तेल आउँदैन र गधा धोएर गाई बन्दैन ! स्यालले खन्ने भए बगर बाँझा रहन्न थिए । दुई तिहाइको दम्भ लिएर झिँगाको सरापले डिंगो मर्दैन भनी जनताको आक्रोश नदेखेझैँ गर्नाले सरकारको आयु छोट्ट्याउन सक्छ। हल्लिएको दाँत एक दिन फुक्लन्छ! नपत्याउने खोलाले बगाउँछ। त्यसैले अब जनताको काटेको घाउमा नुन चुक हाल्न छोडौँ। फेरी कहिले सासूको पालो, कहिले बुहारीको पालो। तीन वर्ष पछि भोट माग्न फेरी जनताको घर-दैलोमा जाँदा के अनुहार देखाउने ?
ताक परे तिवारी नत्र गोतामे भनेझैँ परराष्ट्र नीति !
अहिले लिपुलेक भएर मानसरोवर जाने सडक भन्दै छिमेकीले पशुपतिको जात्रा सिद्राको व्यापार गरी रहँदा आज देशमा एक ताका भारतीय विस्तारवाद विरुद्ध लड्छु भन्ने योद्धा सत्ताधारी पार्टीका अध्यक्ष, कालापानी नै पुगेर विरोध गरेझैँ गर्ने पर्यटन मन्त्री र नाकाबन्दीमा राष्ट्रवादी अडानको भरमा बहुमत पाउने प्रधानमन्त्री छन् ! के यिनको त्यो राष्ट्रवाद हात्तीको देखाउने दाँत मात्रै थियो? के त्यो राष्ट्रवाद आज नक्कली गहनाको जलप झैँ खुइलिएको हो ? यता, चिनी नागरिकहरूले हाम्रो देशको प्रधानमन्त्री कार्यालय अगाडि हाम्रै प्रहरीलाई लाई पिटेको घटना बाहिरिँदै गर्दा सरकार यी छिमेकी देशका राजदूतको इसारा पर्खेर बसे झैँ देखिन्छ ! ताक परे (उत्तरी) तिवारी नत्र (दक्षिणी) गोतामे भनेझैँ परराष्ट्र नीति अनि मगन्ते प्रवृत्ति भएका नेता र कर्मचारीले छोरा-भतिजालाई छात्रवृत्ति, सरकार ढलाउन ५० करोड माग्ने जस्ता कार्यले गर्दा आज औँलो दिँदा डँडाल्नु नै निल्लिने सङ्कट आएको छ ! सुगौली सन्धिले तोकेको नक्सा र सूर्यनाथ उपाध्याय अध्ययन समितिको प्रतिवेदन लाई अब बेहुलीलाई घुम्टोमा लुकाए झैँ गर्ने बेला छैन !
भाइ फुटे गँवार लुटे !
आफ्नो सत्ता टिकाई रहन या व्यक्तिगत स्वार्थ साध्न विदेशी प्रभुको इसारामामा जता जता बाहुन बाजे त्यतै-त्यतै स्वाहा गर्दै आएका मगन्तेहरूलाई महाकाली सन्धि देखि कालापानी काण्ड सम्म राष्ट्रघाती सन्धिहरूले आफुँ बगाउने काली सबैलाई लैजाली होला भन्ने आभास भएको देखिँदैन ! फेरी चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी होला भोलि!
एकातिर कोरोनाको महाव्याधि र अर्को तिर राष्ट्रिय स्वाभिमानमा अतिक्रमणको सङ्कटमा नेपालीलाई एकतिर बाघ र अर्कोतिर भीर भएको छ! यस्तो विपद्मा सबै नेपाली औँलाहरू मिलेर मुठी नबने भाइ फुटे गँवार लुटे हुने अवस्था निम्तिने छ!
एकले थुकी सुकी सयले थुकी नदी !
विपद्मा सत्ताको लागि नेताको आपसी मतभेदमा जनताको साँढेको जुधाइ बाच्छाको मिचाइ न होस्। दुई तिहाइको घमन्डमा अच्छुँयुँ खाएँ, बच्छुँयु खाएँ, झुसे बारुलो भन्दै अरूलाई टुटाउन भन्दा पनि सबैलाई जुटाउनमा ध्यान जाओस्। हो एक हातले ताली बज्दैन। यस्तो विपद्मा साझा सहमतिमा प्रबुद्ध नागरिक र विज्ञहरूको टोली बनाऊँ। देश र जनतालाई यो भोक माथि भुईँचालोजस्तो सङ्कटबाट बचाउन सबै देशभक्त नेपाली बिच सहकार्य गरी अघि बढौँ। एकले थुकी सुकी सयले थुकी नदी!
नेपालको जय होस्!
witter: @BishnuJoshi999
(लेखक जीव–रसायन शास्त्रका शोधकर्ता र नेपालको सम–सामयिक राजनीतिका विश्लेषक हुन। रसायन शास्त्रमा विद्यावारिधि गर्दैगरेका उनको घर बझाङको खप्तडछान्ना–५ पिठेतोला हो। हाल उनी युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिकामा अध्ययनरत छन्।)