यात्रा संस्मरण : सुदूरका सुन्दर ठाउँ घुम्दाको मज्जा
प्रयास भण्डारी
सुन्दर सुदूरपश्चिमका बारेमा विभिन्न बेला मौकामा धेरै कुरा सुन्ने, पढ्ने र हेर्ने गरेको थिए। त्यसै हुनाले होला मानसपटलमा सुदूरपश्चिमलाई लिएर दुई खाले धारणाको छाप थियो, पहिलो प्राकृतिक जटाले सुसोभित क्षेत्र, दोस्रो राज्यको मुल प्रवाहबाट बन्चित क्षेत्र। यद्यपी कती बन्चित र कती सुशोभित भन्ने प्रश्नको उत्तर यस पटक आँफैले देखेर पत्ता लगाउने अवसर प्राप्त गर्दै थिए। अहिले म कार्यरत संस्थाको सुदूरपश्चिम प्रादेशिक कार्यालयबाट जागिर प्रारम्भ गर्नुअघि र त्यस यताका यात्रा, यात्रा सस्मरणको डायरीमा रुचीपूर्ण ढंगले अटाउने कुरामा म निश्चिन्त थिए। छिमेकी मुलुक भारतको उत्तराखण्ड प्रदेशसँग सीमा जोडिएको कञ्चनपुर जिल्लाका प्रमुख व्यापारिक केन्द्र महेन्द्रनगर बजार।
महेन्द्रनगर आसपासमकै छोटो दुरीमा रहेको दक्षिण एसियाकै दोस्रो लामो दोधाराचाँदनी झोलुङ्गे पुल, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, मझगाउँ विमानस्थल, झिलमिला ताल, वेदकोट ताल, रानी ताल, प्यारा ताल, शोभा ताल लगायतका दर्जनौँ आकर्षक पर्यटकीय स्थल छन्। छिमेकी जिल्ला कैलालीमा सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र धनगढी। जिल्लामा टीकापुर पार्क, गोदावरी , कर्णाली पुल ,घोडाघोडी ताल, जाखोर ताल, थारु होम स्टे लगायतका सांस्कृति पहिचान झल्कीने अनेकौँ पर्यटकीय स्थल छन्। शिशिर ऋतुको अन्त्य र बसन्त ऋतुको आगमन हुँदै गर्दाको त्यो समयमा यी पर्यटकीय स्थलमा रमाउन पाउँदाको आनन्द शब्दमा जती वर्णन गरेपनि अपुरो नै हुन्छ।
फागुनले विदाईका हात हल्लाउँदै गरेको त्यो समय धनगढी लगभग गर्मिसकेको थियो। आफू गर्मी हुने ठाउँमा नबसेकोले होला, धनगढीले हम्मे हम्मे बनाई सकेको थियो। यो समय उच्च पहाडी भेग तथा हिमाली क्षेत्र घुम्ने उपयुक्त अवसर बन्यो। करिब तीन महिनाको धनगढी बसाईमा तराईका दुई जिल्ला कैलाली र कंचनपुरका धेरै ठाउँ घुमी सकेपछी आकस्मिक रुपमा सुदूर पहाडका सात जिल्ला भ्रमण गर्ने योजना बन्यो। सोही योजना अनुसार सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको अत्तरियादेखि झण्डै एक सय ८४ किलोमिटरको दुरीमा रहेको दीपायलको यात्रा तय भयो।
मोटरसाइकलको यात्रा त्यती सहज भने थिएन। सुदूरपश्चिमको भुगोल, त्यही सुन्दर भुगोल भित्रको संस्कृती, भाषा, मौलिक संस्कार, ग्रामीण जीवन शैली, विकास र सभ्यतासँग सुक्ष्म रुपमा साक्षत्कार हुन पाउने हुटहुटी भएकाले यात्राका क्रममा आउने स–साना अप्ठ्यारा सहजै चिर्न सक्ने आत्मविश्वास भने कायमै थियो। अत्तरिया बजार कटेपछि गोदावरी नदी आईपुग्छ। गेदावरी पुल तरेपछि जङ्गल सुरु हुन्छ। वन क्षेत्रसँगैको उकालो र घुम्ती काट्न मोटरसाईकलका पाङ्ग्रा व्यवस्त हुन थालिसकेका थिए। मलाई भने गोदावरीका ती घुम्तीले स्याङ्जाको स्मृति दिलाई रहेको थियो।
सुदूरपश्चिमेली भाषासँग अभ्यस्त हुँदै गएकोले होला सुदूर पहाडका जिल्लाबाट आउने लामो दुरीका सवारी साधन पनि सुदूरेली लबजमै हर्न बजाइ रहेको अनुभुती हुन्थ्यो। गोदावरी उकालोको घुम्तीमा तराईको दृष्य नियाल्न एकाएक मोटरटसाईकलका पाङ्ग्राहरु रोकिन पुगेको पत्तै भएन। स्प्राइटको चुस्की लिदै माथिल्लो घुम्तीबाट फर्केर हेर्दा ऊ पर सम्म देखिने तराईको भु–भागलाई दृश्य नियाल्दा आनन्द लाग्यो। महाकाली राजमार्गमा रहेर पुर्व पश्चिम राजमार्गको पश्चिमी बिन्दु मजैले देखिन्थ्यो। फेरी यात्रालाई निरन्तरता दिदै गए। जब तराईबाट तातिएर आएको हावाको सट्टा चिसो सिरेठो महसुस भयो त्यसपछी थाहा भयो की डाडो तराई तर्फको पाखो समाप्त भएछ।
यात्रालाई संगितमय रसको स्वादमा ढाल्न स्पिकरमा गीत बज्न थाल्छ डेजी बाराऐली को ू ‘भैंसी लड्यो है माया भिरबाट हेर..’ मौसममा केही बदली आउने संकेत देखिदै थियो। हावाको चिसो सिरेठोले हानी रहेको थियो। हल्का फुल्का पानीका थोपाहरुले स्पर्श गरेको जस्तो महसुस हुन्थ्यो। कुहिरोले दिन पूर्ण रुपमा ओझेली सकेको थियो। डोटीको बुडर कटेर गैरा नपुग्दै बर्षात सुरु भयो। केही बेरपछी संयोगले एउटा घर भित्र ओत्तिन पाइयो। रुजेर पनि होला,पहिलो पटक यती धेरै चिसो महसुस भयो। आगोको तापबाट निस्कनै नसकिने, मुटु काप्ने चिसो।
त्यो अधिक बर्षा र हिउँ पर्ने क्षेत्र रहेछ। करिब दुई घण्टा पछी मौसममा केही सुधारको संकेत आयो। घुम्तीमा पहाडी जिल्लाबाट काठमाडौं, महेन्द्रनगर, अत्तरिया तथा धनगढीका लागि छुटेका बस, मालबाहक ट्रक र माइक्रोहरु भेटिन्थे। घुम्ती ,साघुरो र निर्माणाधिन सडक खण्डहरुमा विशेष सावधनी अपनाउदै यात्रा अघी बढ्यो। कुहिरोले दिन पूर्ण रुपमा ओझेली सकेको थियो। डडेल्धुरा, डोटी फेरी डडेल्धुरा फेरी डोटी हुँदै अन्तः दीपायल आई पुगियो। दीपायल अँधेरी सकेको थियो। अर्को दिन लोकसेवा आयोगको परिक्षा केन्द्र रहेछ दीपायल र सिलगढी। बिभिन्न जिल्लाबाट आएका विद्यार्थीले भरिभराउ थिए होटलहरु।
दोस्रो दिन बिहानैबाट दीपायल घुमघाम सुरु भयो। बाईसे–चौबिसे राज्यकालमा बाइसे राज्य भन्दा परको विशाल तथा शक्तिशाली मानिएको रैका राज्य वा डोटी राज्य पूर्वमा कर्णाली नदी पश्चिममा रामगंगा (कुमाउँ) उत्तरमा ठाकुरजीदेखि दक्षिणमा तराईसम्म फैलिएको थियो। डोटीमा दुई राजवंशको राज्य स्थापित थियो। डोटी खोलाको नामबाट रहन गएको डोटी जिल्लामा डोटेली राजाहरुको कहावात यत्रतत्र सुन्न पाईदो रहेछ। साविकको क्षेत्रिय सदरमुकाम केन्द्र दीपायल र सिलगढीलाई जोडेर दीपायल सिलगढी नगरपालिका बनेको रहेछ अहिले। सेतीको मन्द सुस्केरा, नदी छेउमै बहने हावाको सिरेठो र दीपायल –सिलगढी जोड्ने सेती पुलमा लिएका तस्बिरहरुले सुदूरपश्चिको यात्रालाई अबिस्मरणीय बनाउने पक्का थियो।
केही बेर पुलमै रहेर सेती नदी झै सुसेल्न मन लाग्यो। पुलबाट दीपायलको छेवैमा अग्लो डाँडामा रहेको डोटेली राजाको दरबार देखिन्छ। बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको ‘कोट’को सम्बद्र्धन कार्य भईरहेको रहेछ। झण्डै १५ औं शताब्दीतिर निर्माण भएको दरबार क्षेत्रको जमीन भित्रभित्रैबाट सेती नदीमा नुहाउन जाने गुफा समेत रहेछ। दीपायल पछी सिलगढी पुगियो। सिलगढीमा शैलेश्वरी देबीको दर्शन गरिसके पछी धार्मिक यात्राको पहिलो शृङ्खला थपियो। शैलेश्वरी माताको दर्शनले मनोकांक्षा पुरा हुने विश्वास मात्र जागेन, शैलेश्वरीको उचाईबाट पर पर सम्म देखिने प्रकृतिको अनुपम रचनाले मन्त्रमुग्ध र लालाहित बनाइ रह्यो।
देवीको नित्य पुजा सिलगाउँ निवासी भट्ट ब्राह्मण द्वारा गरिदो रहेछ। ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको कहावत स्थानिय पूजारी बाट सुन्न पाइयो। एक पटक यहाँ आएर यो प्रकृतिको सृजनामा हराउने जो कोहिले पनि साचिक्कै सुदूरपश्चिमलाई पहाडकी रानी को उपमा दिन कन्जुस्याइ नगर्ला। सिलगडीमा बिहानको खाना खाइसकेपछी। नयाँ डेस्टिनेसन तय भयो – अछाम। कम्तिमा उज्यालोमै साँफे हुँदै सदरमुकाम मङगलसेन पुगेमा अर्को दिन भर मंगलसेन बजार र वरिपरी घुम्ने योजना सफल बन्थ्यो। पहाडी जिल्लाका सडक खण्डमा त्यस्तो तात्विक अन्तर लागेन।
सबै बाटोमा जिर्णद्धार र बिस्तारकै समस्या। जिल्ला सदरमुकाम जोड्ने यस्ता सडक खण्डहरु कोशेढुङा त हुन नै अझ समय अनुकुल स्तरीय भएमा राज्यको मुल प्रबाहबाट यी जिल्लाहरु थप नजिकिन सक्थे कि। बाटोमा झ्वाट्ट देखिने सामाजिक जनजीवनले चिमोटी रहन्थ्यो। अझै युद्धस्तरमा वास्तविक आम सामाजिक जीवन सैली कस्तो होला ? व्याख्या गरी रहनु नपर्ला। बाटोमा स्कुले केटाकेटीहरु खेलिरहेका देखिन्थे। कोही स्कुल ड्रेसमै पशु चौपाया चराइ रहेका। उनीहरुले बोल्ने भाषाले खुबै आकर्षित गथ्र्यो । पहाडमै जन्मे हुर्केको, लेक बेसी पाख पखेरो, वन जंगल अर्थात शुद्ध ग्रामीण बालापन बिताएकोले होला।
ती अनुहारका अभिलाषाहरु मज्जैले बुझिन्थ्यो नबुझिने त केबल भाषा मात्र। ति दृष्यले स्मृतिका चाङ्हरुमा खुकोलोपना आयो । एक पल्ट फेरी बालापनमा फर्किन मन लाग्यो । उनी हरु मध्य कोही एक जनामा आफुलाई समाहित गरेर त्यही परिवेशमा घुलिन मन लाग्यो । त्यस बेलाका मनोवृत्ति र अनुभुती हरुमा सजिलै फर्किए। एक टक सँग टोलाई रहे। चाहे पहाड चाहे हिमाल चाहे तराइ समबर्गिय बालापनको त्यो निर्दोष समय र अपेक्षा हरुमा धेरै कुरा मिल्ने भेटे। भिन्न वर्गिय बालापनमा फरक हुने भनेको सम्पन्नता र त्यसले जन्माउने संस्कृति नै त होला।
केही समय अगाडि हेरेको, यस्तै कथा बस्तु समेटिएको हिन्दी चलचित्र लायनमा प्रमुख पात्र सरुको जिबन्त अभिनय सम्झे। अभिनय र भोगाइ बिल्कुल अलग बिषय भए पनि केही चलचित्रका पात्र भने जिबन्त हुने। शायद त्यस्तै पात्र यही भिडमा हराइ रहेको पो छ कि ? गहिराइबाट सतहमा आउन केही समय लाग्यो। साफे कटेर ओरालो सकिसकेपछी मंगलसेन चढ्ने उकालोमा फेरी वर्षाको संकेत देखियो। तर यसपटक भाग्यले साथ दियो पानी नपर्दै पुगियो अछाम सदरमुकाम मंगलसेन। अर्को दिन बिहानै पर्यटकिय तथा ऐतिहासिक धरोहर बोकेको मंगलसेन दरबार पुगियो ।
सशस्त्र द्धन्द्धको बेला २०५८ फाल्गुन ताका मानबिय क्षती सहित यो दरबार बिद्रोही पक्षबाट ध्वस्त भएको थियो। तत्कालिन अछामी राजा दल बहादुर शाहको पालामा १९३५ मा निर्माण गरिएको यस दरबारको पुरानै कलाकृती र स्वरूपमा पुनर्निर्माण हुने भनिए पनि पुनर्निर्माण कार्यले अझै पूर्णता पाएको रैनछ। यो दरबार अछामी राजाको सन्तानबाट रु ९० हजारमा सरकारले किनेको रहेछ। दबारबाट टाढा सम्म देखिने पहाडको श्रीङखलाले मंगलसेनको सौन्दर्यता बढाइरहेको थियो। सामुद्रिक सतहबाट करिब २५०० कि मि उचाइमा रहेको १२ बण्ड १८ खन्डको नामबाट चिनिने रामारोसन ताल अछामको प्रमुख पर्यटकिय आकर्सण रहेछ।
बिनायक, कमलबजार, मंगलसेन र साफे ब्यापारिक हिसाबले बढी चहलपहल हुने ठाउँहरु रहेछन। अबको डेस्टिनेसन बन्यो बाजुराको सदरमुकाम मार्तडी। फर्केर साफे आइपुगिया । अर्को दिन बिहानै नजिकै पर्ने बैद्यनाथ धाम को दर्शन तथा पूजा आजा गर्न पुगियो । बेद बिद्याश्रमका विद्यार्थी र गुरु हरुको स्तुती वाचनले मन प्रफुलित र उद्देलित बनायो। धाम नजिकै बाट बग्ने बुढीगंगा नदिले बैद्यनाथ क्षेत्रको कटान गरिरहेको रहेछ। नजिकै को छिपेखोला र समथर बैद्यनाथ क्षेत्रको अवलोकन पछी मार्त्डिको तर्फ ६७ किलोमिटरको यात्रा तय भयो।
बुढीगंगाको तिरै तिर, साघुरो बाटो ,स–साना बजार, बुढीगंगाको कटान, ठुला ठुला पहिरो, उच्च पहाडी चट्टाने मार्ग र बुढीगंगाको भेलले बिस्तार गरेका क्षेत्र हेर्दा हेर्दै दिउँसोको १२ बजेतिर मार्तडी आइ पुगियो। झट्ट हेर्दा झुपडिहरुको बस्ती जस्तो देखिने मार्तडी बजारमा सानै भए पनि मनिसहरुको बाक्लै चहलपहल देखिन्थ्यो। साबिकको सेती अञ्चलमा पर्ने हिमाली जिल्ला बाजुरा हो। तत्कालिन सिङ्जादरबारका राजाको पालामा भाले बाज शाही बाज र पोथी बाज र्झुरा बाजबाट अपभ्रम्स भई बाजुरा नाम रहन गएको कहावात रहेछ। खप्तड, बढीमालिका, नाटेश्वेरी, छेडे दह, बुढीनन्द देवी लगायतका पर्यटकिय स्थल तथा कोल्टी, शेरा बजार, डाब बजार, कुल्देबमाण्डा बजार लगायतका ब्यापारिक केन्द्र हरु मध्ये सबै घुम्ने अवसर भने प्राप्त भएन। फर्केर साझा दीपायल आइपुगियो। दीपायलबाट सडकमार्ग हुँदै अछाम र बाजुरा मात्र जान सकिन्छ।
बाँकी जिल्लाहरु बैतडी, बझाङ र दार्चुला जान डडेलधुरा हुँदै जानु पर्छ। अर्को दिन दिपायलबाट डडेलधुरा तर्फ फर्कियौ। स्याउलेबाट डडेलधुरा बजार पुगियो। डडेलधुरा पुगेपछी घटाल बाबाको दर्शन गर्ने योजना बनी सक्यो। बजारबाट केही तल करिब १० किलोमिटरको दुरीमा रहेको पर्ने घटाल बाबाको मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ। घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुने र २ गते मेला लाग्दो रहेछ। किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइदो रहेछ।
सोही दिन बडाकाजिको को किल्ला भ्रमण गर्ने अबसर मिल्यो। अमरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ। काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरणअन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए । डडेलधुराको सदरमुकामको सिरानमा अवस्थित अमरगढी किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। उक्त किल्लाकै नामबाट अमरगढी नगरपालिकाको नामकरण गरिएको रहेछ । उक्त किल्ला ऐतिहासिक दृष्टिकोणले मात्र नभै राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक एवं पुरातात्त्विक दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
किल्लाभित्र राखिएका सबै पुराना हातहतियारहरु सबै गाएब भएर केही मात्र देख्न पाइदो रहेछ। अमर सिंह थापाद्वारा निर्माण गरियको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारै तिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएको रहेछ। शत्रुलाई छल्ने र अनेक युद्ध सफलताको लागि मार्गहरुको निर्माण गरिएको रहेछ।आज भोलि किल्लामाथि ठुलाठुला वृक्षहरुको उत्पतिले किल्लाको ऐतिहासिक गौरब अझै झल्किन्छ भने किल्लाको विच भागमा उग्र भैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व झल्किएको देखिन्छ।
अर्को दिन बिहानै उग्रतारा देबिको दर्शन गर्न पुगियो । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर(उग्रतारा मन्दिर बागबजारबाट करिब ५ कि.मि. टाढा डडेलधुरा, बैतडीराजमार्गको पश्चिमपट्टीको अग्लो विशाल तथा रमणिय फाटमा रहेको छ । उग्रतारा भागवतिको दर्शन गरिसके पछी सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू मध्ये बडिमालिका, बरदादेबी, त्रिपुरा–सुन्दरी, निगालासैनी ,सुरमा र गोदावरी भगवती को दर्शन बाँकी रह्यो। राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचारबाट बेखबर रहन सकिएन । सरकारको भ्रमण वर्ष २०२० स्थगित भयो। कोरोना महामारी दिन प्रतिदिन बढ्दो दरमा फैलेरहेको थियो । त्रास र भय बढीरहेको थियो। यसै बिचमा सुन्दर सुदूुरपश्चिमको यात्राले पूर्ण बिराम लाग्ने निश्चित भयो। त्यस पछीको गन्तव्य बझाङ,बैतडी , दार्चुला नभएर धनगढी हुने निधो भयो ।
घुमिसकेका जिल्ला र घुम्न नपाएका जिल्लाहरुको याद उत्तिनै हुने भयो। सबै ठाउँ घुम्न नपाए पनि फर्कदा बिकट क्षेत्रको जीवन शैलीले मन अमिलो बनाइ रह्यो। स्वर्ग जस्तो प्राकृतिक जटाले शोभित यस क्षेत्रका आफ्नै समस्या , दुःख र रोदन पनि रहेछन। अछाम , बाजुरा , डोटी लगायतका यस क्षेत्रमा पूर्वाधार र उत्पादनमा राज्यले योजनाबद्ध ढंगले काम गरे यहाँको जीवन सैली फेरिन कतिनै समय लाग्दो हो र ? हिरा पाएर नै थाहा नपाएको यही होइन र ? फेरी फर्कने अभिलाषा राख्दै साना साना नानीहरुले दिएको लालिगुरास को फूल उपहार लिएर आइ पुगियो धनगढी ।
अहिले हामी इतिहासकै निकै डर लाग्दो संक्रमण , संकटकालीन र उच्च सर्तकताको क्षणबाट गुज्रिरहेका छौ। अस्तित्वको लडाइ र चुनौती सामनाको बाध्यकारी अवस्थामा छौँ। न आत्तिने न डराउने न भाग्ने तर होसियार रहने यो परिस्थितिको सामना गर्ने साहस सबैमा प्राप्त होस भन्ने शुभकामना व्यक्त गर्दछु। लक डाउनको यो अबधिमा यात्रा सस्मरण लेखिरहदा सुदूरपश्चिम र यसको सुन्दरता बारे शब्दमा अभिव्यक्त भए जस्तो पटक्कै लाग्दैन्। यती चाँही भन्न सक्छु नेपालको घुम्नै पर्ने डेस्टिनेसनहरुबाट सुदूरपश्चिमलाई किमार्थ हटाउन सकिदैन्।
प्रयास भण्डारी
गल्याङ ९ , स्याङ्जा