सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध दर्शन र यसका मान्यताहरु

२०७७ वैशाख २५, ०३:०५

समिर जोशी

शाक्य मुनि गौतम बुद्धलाई ‘भगवान’ भन्ने पनि छन, ‘महान् दार्शनिक’ मान्ने पनि छन्। बुद्धको सहस्राब्दीमा प्लेटो, अरिस्टोटल, महावीर जैन, लाउन्स आदि दार्शनिक र वैज्ञानिक जन्मिए तर उनको जस्तो ख्याति कमाउन सकेनन्। त्यसैले २ हजार ५ सय ६४ वर्षअघि लुम्बिनीमा जन्मेका यी महापुरुषलाई नेपालले राष्ट्रिय विभूतिको सम्मान दिएको छ।

नेपालमा जन्मिएका बुद्धका अनुयायी नेपालमा भन्दा अन्य देशमा बढी पाइन्छन्। बुद्धको सिद्धान्त, दर्शन र बिचार बास्तविक अर्थमा बुझ्ने जमास सानो छ। बुद्ध दर्शनलाई धर्मको रुपमा बुझ्ने र अर्थ लगाउनेको जमात नै ठूलो छ। बुद्धले जे नगर्नु भनेका थिए आज त्यहि भएको छ। मानिसलाई जे नगर्नु भन्यो त्यही गर्नु पर्ने। जे नमान्नु भन्यो त्यसैलाई मान्ने। गौतम बुद्धले मूर्ति पुजाको बिरोध गरे। संसारमा उनकै धेरै र ठूला मूर्ति पाइन्छन्। 

शास्त्राबाट होईन ज्ञान आफै भित्रबाट पाइन्छ भने तर आज सबै बौद्ध मार्गी उनका बिचारलाई सूत्रका रुपमा बुझ्दछन्। बुद्धले जीवन जिउने कला सिकाए तर मानिस त्यसलाई धर्मको रुपमा बुझ्दछ। बुद्ध दर्शन कुनै धर्म होईन तर पनि यसलाई धर्म बनाईयो। जब भारतमा बृद्द अनुयायी हरु बढ्न थाले हिन्दू धर्मा लम्बी र बौद्ध ध्मावलम्बीहरू बीच लामो समय साम्प्रदायिक द्वन्द्व भड्कियो र लामो समय सम्म चल्यो अंततः हिन्दू धर्मावलम्बीले बुद्धलाई विष्णु भगवान को नवौं अवतार घोषणा गरेको पाइन्छ किनकी पुराणहरुपछि लेखिएका हुन् बुद्ध जन्मिनुभन्दा अघि कुनै पनि ग्रन्थमा बौद्ध अवतारको बारेमा उल्लेख गरिएको पाइँदैन यो त केवल दुई सम्प्रदायबीच  धार्मिक सहिष्णुता कायम गर्नलाई निकालिएको जुक्ति मात्र हो। तर पनि यो जुक्तिले आज पनि धार्मिक सहिष्णुता कायम राख्न सफल भएको छ।

अन्तत बुद्धलाई  बुद्धले जीवनको सम्बन्धमा गरेको व्याख्या आजपनि त्यतिकै सान्दर्भिक छ। बुद्ध अघिका कपिल, कर्णाद्, चार्वाक, महावीरलाई पनि मानिसले धार्मिक गुरुको रुपमा बुझ्दै आएका छन्। चार्वाक, महावीर, बुद्ध, पतञ्जली लगायतका भारत वर्षमा जन्मिएका महापुरुष आज कुनै एक सम्प्रदायका मात्र बनेका छन्। त्यसमा पनि उनिहरुको भौतिकवादी दृष्टिकोणका आधारमा होईन धार्मिक पुरुषका रुपमा व्याख्या गरिएको छ। भारतमा हुर्किएका यि दार्श्निक दिष्टिकोण संसारमा पहिलो भौतिकवादी दृष्टिकोण भएपनि बुद्ध बाहेक अरुको प्रभाव कमजोर छ।

खासमा बुद्ध ध्यानशील तथा एकान्तप्रेमी दार्शनिक हुन्। उनको देशना आफ्ना अनुयायीलाई दिएको शिक्षामा आधारित छ। त्यही शिक्षा साढे दुई हजार वर्षमा भारतीय उपमहाद्वीप हुँदै मध्य, पूर्वी र दक्षिण–पूर्वी जम्बु महाद्वीपसम्म धर्मका रूपमा फैलियो र चौथो ठूलो धर्म रह्यो। बुद्ध दर्शनमा रहेका प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, पेसागत हकहित, समानता, समता र मानवीय मूल्य आधुनिक विश्वले स्वीकार गरेको छ।

बुद्ध दर्शनमा जातिवाद र कर्मकाण्डलाई कुनै स्थान छैन। उनको महान् सन्देश हो, आफ्नो उज्यालो आफैँ बन र आफैमा  मानवता खोज। शान्तिको खोजमा छटपटाइरहेको विश्वका निम्ति बुद्ध दर्शन शाश्वत र सार्वकालिक पनि छ। 
संयुक्त राष्ट्र संघले समेत बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ। यसलाई शान्ति, मैत्री र करुणाको सन्देश दिने सामाजिक र मौलिक दर्शनका रूपमा नेपालले ब्रान्डिङ गर्न सक्छ।

ब्रान्डिङको एउटा आधार हो, बौद्ध वाङ्मय अध्ययन केन्द्र। अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोपेली लेखक र अनुसन्धाता आएर यहाँका प्राचीन बौद्ध ग्रन्थहरूको अध्ययनरअवलोकन गरेका रहेछन्। “नालन्दा महाविहार, विक्रमशील महाविहारजस्तै लिच्छविकालीन र पूर्वमध्यकालीन नेपाली महाविहार बौद्ध अध्ययन केन्द्र थिए,” बुद्ध धर्मले नेपाललाई कला संस्कृतिमा सम्पन्न बनाइदिएको छ।

बुद्ध धर्मको अटुट परम्परा रहेको र बौद्ध ग्रन्थको भण्डारका रूपमा नेपाल विश्वमै परिचित छ। बौद्ध धर्म, दर्शन, साहित्य, कला, संस्कृति र इतिहासको अध्ययन, अध्यापन, अनुसन्धान र अभ्यासको व्यवस्था हुन सके अझै पनि नाम र दाम कमाउने अथाह सम्भावना छ। “नेपाल परम्परागत बौद्ध शिक्षा, बौद्ध कला, संस्कृति आदिमा विविधताका साथ धनी छ।”  त्यसैले  लुम्बिनी बौद्ध विश्वविद्यालयलाई  अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रका रूपमा विकासगर्न जरुरी छ।”
त्यसो हुनसके अमेरिकाको नारोपा विश्वविद्यालय, थाइल्यान्डको महामकुट बौद्ध विश्वविद्यालय, श्रीलंकाको बौद्ध तथा पाली विश्वविद्यालय, म्यान्मारको अन्तर्रा्ष्ट्रिय थेरवाद बुद्धिस्ट मिसिनरी विश्वविद्यालय, भारतको केन्द्रीय उच्च तिब्बती शिक्षा संस्थान आदिभन्दा पृथक विश्वविद्यालय बन्न सक्ने उनको ठम्याइ छ।

पर्यटन पनि ब्रान्डिङको आधार हो। “विश्वमा १ अर्ब ५० करोडभन्दा बढी बौद्धमार्गी छन्। तिनीहरूको एक प्रतिशत मात्र बुद्धको जन्मथलो आइपुगे पनि मुलुककै समृद्धिको ढोका खुल्ने स्थिति छ,” पर्यटन व्यवसायी सुरज शाक्य भन्छन्। फेरि यसै पनि बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत छ। तिनका लागि यसबाहेक सीतापाइलाको सेतो गुम्बा, बौद्धको सेचेन, फर्पिङको रालो रिम्पोचेलगायत उपत्यकाका डाँडापाखाका गुम्बा पनि सुन्दर गन्तव्य हुन सक्छन्।

उसो त केही वर्षअघि चिनियाँ गैरसरकारी संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन (एपेक) फाउन्डेसनले वार्षिक पाँच लाख बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भित्र्याउने महत्त्वाकांक्षी योजना नल्याएको होइन। नेपाल सरकारले पनि सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष को रुपमा पनि मनायो तर खासै प्रभावकारी बन्न सकेन। लुम्बिनी , बौद्ध र स्वयम्भू जस्ता विभिन्न बौद्ध गुम्बा र स्थुपा हरु लाई ब्रान्डिङ् गरेर  सन २०२० लाई नेपाल भ्रमण वर्ष को रुपमा मनाउने निर्णय पनि भयो तर विश्वभर फैलिएको  कोरोना भाइरस संक्रमण ले गर्दा स्थगित गनुपर्यो।

लुम्बिनीसहित भारतका कुशीनगर, बोधगया र वाराणसी (सारनाथ)लाई चारधाम मान्छन् बौद्धमार्गी। जापानले यसलाई जोड्ने बुद्ध करिडोर निर्माणको प्रस्ताव गरेको छ। म्यानमारमा सम्पन्न बिमिस्टेकको बैठकमा नेपालले  पनि बुद्ध सर्किटको प्रस्ताव गरेको तथ्य यहाँनेर स्मरणीय छ।

बुद्धसँग जोडिएको अर्को पाटो हो, ध्यान। बुद्ध आफैँले ४५ वर्षसम्म विपश्यना ध्यान गरी यसको शिक्षा दिएको मानिएको छ। धर्ममा आस्था हुने वा नहुने, जुनसुकै धर्म, वर्ण, भाषा र देशका मानिस विपश्यनाका लागि नेपाल आउँछन्। 
यदि  “लुम्बिनी, काठमाडौँ, पोखरालगायतका स्थानका ध्यान केन्द्रको राम्ररी प्रचारप्रसार गर्न सक्ने हो भने विश्वका ध्यानप्रेमी यहाँ ओइरिनेछन्।” यसरी बुद्ध दर्शन नेपाल र नेपालीको समृद्धिको कारक बन्न सक्नेछ।
बौद्ध दर्शन मुख्य रूपमा यी तीन सिद्धान्तमा आधारित रहेको मानिन्छः 

१. अनिश्वरवाद 
२. अनात्मवाद 
३. क्षणिकवाद 

१. अनिश्वरवाद
बुद्धका दर्शनको जुन रूप (अनित्य, अनात्म, प्रतित्य) समुत्पाद हामीले लेख्यौ, त्यसमा आत्माको जसरीनै ईश्वर वा ब्रह्मको को पनि ठाउँ छैन। बुद्धले अनात्मावादका विषयमा जति व्याख्या दिए, त्यति ईश्वरवादका विषयमा दिएका छैनन्।
बुद्धले ईश्वरको सत्तालाई मानेका थिएनन् किनभने दुनियाँ प्रतीत्यसमुत्पादको नियमबाट संचालित हुन्छ भन्ने उनको धारणा थियो। प्रतीत्यसमुत्पाद अर्थात कारण–कार्यको। यस श्रृंखलाका धेरै चक्र हुन्छन, जसलाई १२ भागमा बाँडिएको छ। त्यसैले यस ब्रह्माण्डलाई संचालन गर्ने कोही पनि छैन। न त कोही उत्पत्तिकर्ता छ, किनभने उत्पत्तिभन्दा अन्त्यको पनि भान हुन्छ। त्यसैले न कुनै सुरुवात छ न त अन्त्य नै।

 २. अनात्मवाद
बुद्ध आत्मवादका कडा विरोधी थिए तर अनात्मवादको अर्थ वास्तवमै ‘आत्मा छैन’ भन्ने लाग्दैन। जसलाई मान्छे आत्मा सम्झिन्छन, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो। यो प्रवाह कहिल्यै पनि छुट्टिएर जडसित बाँधिन सक्छ र कहिल्यै पनि अन्धकारमा लीन हुन सक्छ।
स्वयं हुनुको अर्थ जानेविना नै आत्मवान हुन सक्दैन। निर्वाणको अवस्थामा मात्रै स्वयंलाई जान्न सकिन्छ। मृत्युपछि आत्मा महा सुसुप्तिमा बिलाएर जान्छ। त्यो अनन्तकालसम्म अन्धकारमा रहिरहन सक्छ अथवा त्यसै बखत् नै अर्को जन्म लिएर सांसारिक चक्रमा फेरी सहभागी हुन सक्दछ । त्यसैले आत्मा तबसम्म आत्मा हुँदैन जबसम्म बुद्धत्व प्राप्त हुँदैन।

३. क्षणिकवाद
बुद्धको दर्शन एकदमै क्षणिकवादी छ। कुनै पनि वस्तुलाई उनी एक क्षणभन्दा बढ्ता रहने मान्दैनन् ,तर यस दृष्टिलाई उनले समाजको आर्थिक व्यवस्था चाहिँ लागू गर्न चाहेनन्। बुद्ध दर्शन का अनुसार यो ब्रह्माण्डमा सबै कुरा क्षणिक र नश्वर छ। स्थायी भन्ने कुनै कुरा पनि छैन। सबैथोक परिवर्तनशील छ। यो शरीर र ब्रह्माण्ड पनि त्यस्तै हुन्छ, जसरी घोडा, गद्दी र पाङ्ग्राको संयुक्त रूपलाई रथ भनिन्छ र यी ३ वटै कुरालाई अलग अलग गर्दा रथको अस्तित्व रहँदैन।
माथि प्रस्तुत गरिएका तिन सिद्धान्तमा आधारित भएर बौद्ध दर्शनको रचना भएको हो। यी तीन सिद्धान्तमा भन्दा अगाडि बढेर थेरवाद, वैभाषिक, सौत्रान्त्रिक, माध्यमिक (शून्यवाद), योगाचार (विज्ञानवाद) र स्वतंत्र योगाचारको दर्शन निर्माण भएको पाइन्छ। यसैगरी बौद्ध धर्मका दुई प्रमुख सम्प्रदायबाट छ उपसम्प्रदाय बनेका छन्। यी सबैको केद्रीय दर्शन प्रतीत्यसमुत्पाद नै रहेको छ।

निर्वाणलाई जीवनको चरम लक्ष मान्ने यो दर्शन चार आर्यसत्यमा केन्द्रित रहेको छ। भगवान् गौतम बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य यसप्रकार छन्
१. संसार दुखमय छ
२. दुखको कारण छ
३. दुखको नाश सम्भव छ
४. दुखानाशको उपाय छ 

आर्य अष्टांग मार्ग
बौद्ध धर्मका अनुसार दुःख निरोधको बाटो चौथो आर्य सत्यको आर्य अष्टांग मार्ग हो। गौतम बुद्ध भन्थे कि चार आर्यसत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नु पर्छ 

१. सम्यक दृष्टि : सबै बस्तुको वास्तविकता बुझ्नु
२. सम्यक संकल्प : नराम्रो काम नगर्नु र परोपकारको भावना जागृत राख्नु
३. सम्यक वाक : हानिकारक कुरा नगर्नु र झूट नबोल्नु
४. सम्यक कर्म : हिंसा, चोरीजस्ता नराम्रा कामहरू त्यागी राम्रा काम गर्नु
५. सम्यक जीविका : कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्नु
६. सम्यक व्यायाम : मनस्थितिलाई शुद्ध राख्नु
७. सम्यक स्मृति : म र मेरो भावनाबाट माथि उठ्नु
८. सम्यक समाधि : चार आर्यसत्यको मनन र आर्यसत्यमा श्रद्धा, आनन्द एवं शान्तिको चेतनाप्रति उदासीनता र शारीरिक एवं मानसिक सन्तुष्टिको अभावावस्ता आदि।

सन्दर्भ सामग्री :
-विकिपीडिया 
-जनक दर्शन: डा. स्वामी रामानन्द गिरी
-बौद्धादर्शन: नारायण प्रसाद रिजाल 
-दर्शनदिग्दर्शन : राहुल साङकृत्यायन 
-विभिन्न बुद्ध धर्ममा आधारित पुस्तकहरु बाट। 

कमेन्ट लोड गर्नुस