सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवा

२०७७ वैशाख २५, १२:१८

- बसन्ती सापकोटा 
आमाले जंगलबाट स्याउला (सोत्तर) को ठुलो भारी लिएर घर पुग्दै गर्दा घरको प्रवेशद्वारमा करिब बिहानको १० बजे जन्मिएकी थिए रे म। त्यो पल सबैजना दुःखी भएको आमाबुबाले अहिले पनि सुनाउनुहुन्छ। कारण थियो छोरी भएर जन्म लिनु। तर  मेरो बुवा भने खुसी नै हुनुभएको  थियो अरे। यो छोरी ठूली भएपछि छोराले भन्दा दुई गुणा बढी आँट र साहस बटुल्छ भन्दै खुसी हुनुभएका मेरो बुवा, हो आज तीनै बुवालाई सम्झिदै, मैले मेरो जिन्दगीको पहिलो पूर्ण लेख लेख्दैछु।

धेरै प्रयास गरे अरु शीर्षकमा पनि लेख्न, तर सबै लेख अधुरा र अपूर्ण भएको आभास भयो। ती लेखलाई पूर्ण बनाउन, तर अहँ सकिएन। खै किन हो आफैलाई थाहा छैन् भित्री मनले बारम्बार भनिरहेको थियो की बुवा शीर्षकबाट नै सुरु गरौं जिन्दगीको पहिलो लेख। हुन त  सबै छोरीका  लागि आफ्नो जिवनमा बुवाको धेरै महत्व हुन्छ, आमापछि आफूलाई हुर्काउने, बढाउने जिम्मा बुवाको नै हुन्छ। हो मलाई पनि मेरा लागि  बुवा  भगवान नै हुनुहुन्छ।

जसरी देशको मेरुदण्डको रूपमा युवा भनिन्छ नी, हो त्यसैगरी मेरो मेरुदण्ड हजुर नै हो बुवा ! मैले आजको दिनसम्म सबै भन्दा बढी माया बुवालाई नै गरेकी छु र मेरो अन्तिम सास रहुन्जेल सम्म पनि यस्तै माया गरिरहने छु हजुरलाई। बुवा सायद संसारकै  भाग्यमानी छोरी  म नै हुँ जस्तो लाग्छ। एउटा छोराले पाउने साथ, आँट, साहस अनि अथाह माया म छोरी भएर जन्मिदा पनि त्यो भन्दा कयौं गुणा बढी पाएकी छु, आजको दिनसम्म पनि।

बुवा हजुर एउटा यस्तो पात्र हो, जो कथाको अन्त्य हुने बेला सम्म आइपुग्दा पनि कहिल्यै पर्दा अगाडी देखिनु हुन्न, पर्दा पछाडीको पात्र हो बुवा हजुर, जसले त्यो कथालाई पूर्णता  दिनका लागि दिनरात नभनी खटिरहनु भएको छ। आफ्नो रगत पसिना बेचेर दुःख गरेर मलाई पढाउनु भयो।  मेरो  पेट भोकले कहिल्यै खाली हुन दिनुभएन।

आफूले झुम्रा च्यातिएका कपडाले बर्षौं गुर्जाने मेरा बुवाले मलाई कहिल्यै शरीर छोप्ने कपडाको कमी हुन दिनुभएन। मैले बाटो विराउँदा सही मार्गनिर्देश गरिदिने, मलाई साथीको अभाव हुँदा साथीको भूमिका निर्वाह गरिदिने, हरेक गल्तीलाई औँल्याउँदै हरेक पल माफ गरिदिने, म कहिलेकाँही रिसाएर  रुँदा पनि सम्झाई बुझाई गरेर आत्मविश्वास  बटुल्न सहयोग गरिदिने, आमा केही दिनका लागि काम विशेषले टाढा जाँदा आमाको मायाको कमी नै हुन नदिने, मेरो गन्तव्यका पाइला रोकिन खोज्दा शिरमा हात राखी आशीर्वाद दिँदै ‘पिर नगर छोरी अगाडी बढ तेरो बुवा छ , तलाई साथ दिनी भन्दै’ ढाडस दिने।

रोकिन खोजेका पाईलालाई निरन्तरता दिन सहयोग गरिदिने मेरा बुवा। बुवा हजुरले मेरा लागि सबथोक गर्नुभएको छ, थाहा छैन बुवा मैले तपाईंका लागि के कति गर्न सक्छु या सक्दिन ? तर, बुवा नआत्तीनु, कहिल्यै दुःखी नहुनु मेरो अन्तिम सास रहुन्जेल सम्म पनि तपाईंलाई सक्दो खुसी दिने प्रयासलाई  जारी राख्नेछु। बुवा मैले नी, आजको दिनसम्म पनि कहिल्यै सुनेकी छैन्, “तँलाई धेरै माया गर्छु छोरी“ भनेर भनेको।  

सायद, हजुरलाई  आभास भएको होला कि सबै कुरा मुखले भनिरहनु जरूरी हुदैन्। मेरो माया, स्नेह सबै कुरालाई छोरीले महसुस गरिरहेकी छे, भनेर नै होला है बुवा तपाईंले कहिल्यै नभन्नु भएको। बुवा आज मलाई भनिदिनुस न, आफ्नो शरिरको तौल भन्दा  दुई गुणा  बढी तौल भएका वस्तु बोकेर हिड्ने शक्ति कहाँबाट आउँछ, बुवा हजुरमा ? हजुरलाई दुःख पीडा पर्दा भित्री मन रुँदा पनि ति कोमल, अनि निश्चल आँखाबाट आँशुलाई कसरी रोख्नसक्नुहन्छ बुवा? त्यो आँशुलाई रोक्न सकिने शक्ति कहाँबाट आउँछ ?  मैले केही गाँस खाएर पनि नमेटिएको भोक, तपाईंले केही पनि नखाएर कसरी मेटिन्छ ?

बुवा, मलाई भनिदिनुहोस् न आज। समय समयमा केही गल्ती गर्दा रिसले कालोनिलो हुने त्यो अनुहारमा, मलाई देख्दा अचानक कसरी आउँछ उज्यालो चमक बुवा? मलाई प्रश्न गर्न मन लागेको छ आज हजुरलाई।  पीडा नै पीडाले थिचिएको त्यो कठोर  ढुङ्गा जस्तो मन, अचानक मलाई देख्दा कसरी कोमल भएर आउँछ त्यो मन आखिर कसरी बुवा ? भनिदिनुहोस् न आज। हजुर आमाले भन्नुभएको म त तपाईंको मुटुको टुक्रा हुँ अरे। होईन बुवा ? थाहा छैन् बुवा हजुरले आफ्नो मुटुको टुक्रा अरु कसैलाई सुम्पिदा तपाईं कसरी सम्लीनुहुन्छ होला।

घरमा बिहेको कुरा मात्रै आउँदा मेरो आँखा भन्दा पहिले  रसाउने मेरा बुवाका आँखा, झन  आफनै आँखा अगाडी मुटुको टुक्रा छुट्टिएर जाँदा तपाईंले कसरी ती बिझेका परेलीलाई ओभानो बनाउनुहुन्छ होला बुवा हजुर। बुवा मैले पटक्कै भुलेकी छैन् त्यो दिन, जुन दिन हजुरले आफ्ना आँखाका डिलले आसुहरुलाई थाम्दै संघर्षका पहाडतीर मलाई पनि डोर्याएर लैजानुभएको थियो।

प्राय सबै सन्तानले आफ्नो बुवाको आँखाबाट आशु खसेको देख्न पाउँदैनन्। हो म साँच्चिकै भाग्यमानी छोरी हुँ जसले आफ्ना बुवा भित्रै मन खोलेर रोएको देख्न पाएकी थिए। र त हजुरका दुःख पीडालाई नजिकबाट सहजै बुझ्न पाएकी छु नी बुवा हैन् र? बुवा हजुरले बारम्बार भनिरहने कुरा छ नी, छोरी परिवारका लागि कहिले बोझ हुँदिन!

कहिल्यै तनाव हुँदैन छोरीको बारेमा। दश छोरा बराबर एउटी छोरी हुन्छे, हो भन्नुहुन्थ्यो नी छोरी महान हुन्छिन्। हो त्यही कुरालाई छिट्टै प्रमाणित गर्ने मन छ बुवा। यहाँ छोरीलाई गर्भमै मार्नेलाई पनि आभास दिलाउनु छ की छोरीहरू कति धेरै महान हुन्छ्न् भनेर। बुवा कुनै दिन दुःखका कुराहरू सुनाउँदा भिजेका ति आँखाका परेलीलाई अझैं एकचोटी फेरी भिजाउन मन छ बुवा। तर यसपटक दुःखका कुरा होईन्, सुखका कुराहरूले, खुसीका आँशुहरुले ती परेली रुझेको हेर्न ठूलो रहर छ बुवा। 
उही तपाईंकी प्यारी छोरी बसु
लेखक– नेपाल युवा परिषद्  सुदुरपश्चिम प्रदेशकी संयोजक हुन्। 

कमेन्ट लोड गर्नुस