बझाङमा आरडीटी परीक्षण किट अभाव, क्वारेन्टाइनमा बसेका धमाधम घर जादै
बझाङ : बझाङमा कोरोना भाइरस परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ। भारत तथा अन्य जिल्लाबाट आएका ५ सय ९५ जना अझै पनि क्वारेन्टाइनमा बसेका छन्। तर उनीहरुको र्यापिड टेस्ट गर्नका लागि किटको अभाव भएको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दीप ओखेडाले बताए।
बझाङमा प्राप्त ११ सय र्यापिट टेस्ट किट मध्ये हाल ६० वटा मात्र मौज्दात रहेको स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले बताए। उनका अनुसार हालसम्म जिल्लामा ८ सय ६४ जनाको र्यापीट टेस्ट र ७१ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। जोशीले प्रयाप्त मात्रामा पीपीई, थर्मल गन तथा आरडीटी परीक्षण किटको अभावले परीक्षणमा समस्या भएको बताए।
गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६ सय १३ जनाको समेत स्वास्य परिक्षण गर्न बाँकी रहेको छ। हाल जिल्लाको बुंगल नगरपालिकाका १५ वटा क्वारेन्टाइनमा भारत तथा अन्य जिल्लाबाट आएका ३ सय ८६ जना छन्। यस्तै विथ्थडचिर गाउँपालिकामा ९९ जना, केदार स्युँ गाउँपालिकामा २६ जना, छविसपाथिभेरा गाउँपालिकमा ४६ जना, साईपाल गाउँपालिकामा ९ जना, मष्टा गाउँपालिकामा २३ जना र सुर्मा गाँउपालिकामा ७ जना गरेर ५ सय ९५ जना विभिन्न क्वारेन्टाइनहरुमा बसेका छन्। जिल्ला भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुले परीक्षण छिटो गरेर घर पठाउन माग गरेका छन्। नभए भागेर समेत घर जाने उनीहरुले बताएका छन्।
उता सुदूरपश्चिम प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा नै आरडीटी परीक्षण किट अभाव भएको बताएका छन्। विदेशबाट आरडीटी परीक्षण किट मगाउनुपर्ने भएका कारण बझाङमा मात्रै नभएर प्रदेशमा नै आरडीटी परीक्षण किट अभाव भएको उनले बताए।
क्वारेन्टाइनमा बसेका धमाधम घर जादै
जिल्लामा बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा नबसेरै धमाधम भागेर घर जानेका गरेका छन्। तल्कोट गाउँपालिकाका अधिकांस स्थानीय एक हप्तासम्म पनि क्वारेन्टाइनमा नबसेर घर भाग्ने गरेका हुन। गाउँपालिकामा ६७ जना क्वारेन्टाइनबाट भागेर घर गएको जिल्ला स्वास्थ्य कार्यलयको तथ्यांकमा उल्लेख छ।
उनीहरु क्वारेन्टाइन व्यवस्थित नभएको लगायतका विभिन्न आरोप लगाउँदै आ–आफ्नो घर गएको गाँउपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए। आफुहरुले क्वारेन्टाइनमा बस्न आग्रह गर्दागर्दै भागेर घर गएको बताउँदै गाउपालिकाका अध्यक्ष विष्टले उनीहरुको निगरानी गर्न सबै वडा अध्यक्षलाई आग्रह गरेका बताए। आरडीटी किट अभावका भएकाले समयमा परीक्षण गर्न नसकेका कारण पनि उनीहरुको भागेर घर गएको विष्टले बताए।