सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको अझै परीक्षण भएन

२०७७ वैशाख २४, ०५:२६ भुवन भट्ट

धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमण देखा परेका ३ स्थानीय तहमै परीक्षणमा सुस्तता देखिएको छ। कैलाली, कञ्चनपुरका पाँच जना कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको अहिलेसम्म परीक्षण भएको छैन। 

पाँच मध्ये चार जना कोरोनालाई जित्दै घर फर्किसकेका छन् तर अहिलेसम्म उनीहरुको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण भएको छैन। धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का दुई जनामा कोरोना पुष्टि भएको थियो। एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एकको उपचार भइरहेको छ। 

धनगढीमा लामो ट्राभल हिस्ट्री भएका संक्रमित भेटिएपनि अहिलेसम्म दुवै जनाको सम्पर्कमा आएका २१ जनाको कोरोना परीक्षण गरिएको कोभिड –१९ कैलालीका सम्पर्क व्यक्ति जय सिहं भण्डारीले बताए। सुरुमा परिवारका अन्य सदस्यको समेत कोराना परीक्षण गर्न अस्पतालले मानेको थिएन तर पछि परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको थियो।  

त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ र ९ मा गरी २ जनामा कोरोनाको संक्रमण पुष्टी भएको थियो। वडा नम्बर ९ प्रतापपुरका राज विक कोरोना जितेर घरफर्किसके तर उनीसँग सम्पर्कमा रहेका अन्यको भने अहिलेसम्म खोजी नै गरिएको छैन। यस सम्बन्धमा लम्कीचुहा नगरपालिकाका स्वास्थ्यशाखाकी कर्मचारी अस्मीता शाहीले भनिन्, ‘राज बिक घर पुगेपछि एकछाक खाना खाएर क्वारेन्टाइनमा बसेकाले अन्यको परीक्षण गर्नु उपयुक्त देखीएन।’ उनी धेरै समय घरमा नबसेकाले पनि अरुसँगको सम्पर्कमा नआएको देखिएपछि अन्य परीक्षण गर्नुपर्ने अवस्था नआएको उनले बताइन्। 

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर १ भुरुवाकी पाना बिकमा पनि संक्रमण पुष्टी भएको थियो। उनी अहिले कोरोना जितेर घरमा छिन्। तर उनीसँग बसेका ५३ जनाको भने र्‍यापिड टेष्ट मात्रै गरिएको नगरपालिकाकी स्वास्थ्य शाखाकी कर्मचारी शाहीले बताइन्। ‘५३ जनाकै र्‍यापिड टेष्ट गरीएको थियो’ उनले भनिन्, ‘नेगेटीभ देखाएपछि पीसीआर भने गरीएन।’ यद्यपी उनका केही आफ्न्तहरुको भने पीसीआर परीक्षण गर्दा नेगेटीभ देखाएको उनले बताइन्। लम्कीचुहा नगरपालिकामा अहिलेसम्म एक सय ३८ जनाको पीसीआर परीक्षण गरीएको छ। 

उता कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय ईन्द्र विकमा पनि कोरोनाको संक्रमण पुष्टी भएको थियो। भारतबाट नेपाल छिर्दा उनलाई लिन गएका प्रहरी, सशस्त्र प्रहरी लगायत ११ जनाको कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटीभ देखिएको थियो। तर त्यसपछि भने उक्त क्षेत्रका अन्यको परीक्षण हुन नसकेको कोभीड –१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए। 

अहिले बेतकोट नगरपालिकको क्वारेन्टाइनमा १३ जनालाई राखिएको छ। संक्रमित फेला परेको क्षेत्रमै कोरोना परीक्षण सुस्त भएपछि सुदूरपश्चिमका अन्य स्थानीय तहमा समेत शंकास्पदको कोरोना परीक्षण निकै कम भइरहेको छ। परीक्षण नभएपछि सुदूरपश्चिममा संक्रमणको यकिन अवस्था छुट्याउन समस्या भएको छ। जसका कारण कोरोनाको संक्रमण भित्रभित्रै सल्किरहेको हुनसक्ने आशंका गरिएको छ।

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस