डडेल्धुरामा गाउँपालिका अध्यक्षको निवासमा तोडफोड, तीन जना पक्राउ
धनगढी : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोड भएको छ। मंगलबार राती ८ बजे चार जनाको समुहले गन्यापधुरा गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन।
तोडफोडमा संलग्न तीजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ पर्नेमा चन्द्रे कार्की, डम्बर कार्की र टेक रावल रहेको उनले बताए।
उनीहरुको साथबाट दुई थान चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।