बझाङका किसानलाई गहुँबाली भित्राउन समस्या
बझाङ : केहि दिनयता मौसममा आएको खराबीका कारण बझाङका किसानहरुलाई गहुँबाली भित्राउन समस्या भएको छ। केहि सातादेखि लगातार पानी परिरहेकाले जिल्लाका अधिकांस कृषकहरुलाई पाकिसेको अन्नबाली भित्राउन समस्या भएको हो।
उब्जनीका हिसाबले राम्रो मानिने जिल्लाको जयपृथ्वी नगरपालिकाको देवल, भोपुर, रुइनाबगर, साइलाबगर, गोलाइ, पडेस, सुवेडा, खप्तड, थलारा, दुर्गाथली र केदास्यँु लगायतका स्थानमा खेतमा पाकेको गहुँ वर्षाका कारण बिग्रर्दै गएको छ।
एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफुहरुले पाकेको गहुँ काट्न नपाएको जयपृथ्वी नगरपालिका– ११ भोपुरका कृषक माहादेव जोशीले बताए। ‘कतिपय किसानले काटिसकेको गहुँपनि सुकाउन पाएका छैनन्।
उनीहरु जस्तै जिल्लाका सबै किसानहरुको समस्या उस्तै हाे, पाकेको गहुँ खेतमै कुहिएको छ’ उनले भने। अर्का जयपृथ्वी नगरपालीका– ३ का कृषक गजेन्द्र वलीले यसपाली गहुँ पसाउने समयमा लगातार वर्षा हुँदा गहुँबालीमा रोग देखिएकाले उब्जनी कम भएको बताए।
यसवर्ष मौसम बदलीका कारण अत्याधिक वर्षा भएकोे हँुदा गहुँमा पहेलो सिन्दुरे, ढुसी रोगले धेरै क्षति भएको जयपृथ्वी गाउँपालिका कृषि प्राविधिक मनराज जोशीले बताए। सिँचाइ हुने ठाउँमा आकासे पानी बढी परेकाले गहुँमा सिन्दुरे रोग देखापरेको कृषी ज्ञानकेन्द्र बझाङका प्रमुख दिलबहादुर सिंहले बताए। ‘तर पाखो खेतमा भने यो समस्या छैन’ उनले भने।
जिल्लामा १० हजार ९ सय हेक्टरमा गहुँ खेती गरिन्छ। ४ हजार हेक्टरमा सिँचाइ हुने भएतापनि अन्य ठाउँमा आकासे पानीको भरमा खेती हुने ज्ञान केन्द्रले जनाएको छ।