भारतीय क्वारेन्टाइनमा शिशु जन्माएकी सुदूरकी महिलालाई पीडामाथि झन् पीडा
बझाङ : नेपाल आउने क्रममा लकडाउनका कारण भारतकै क्वारेन्टाइनमा बसेकी एक महिलाले शिशुलाई जन्म दिएकी छन्। गत चैत्र १४ गते भारतबाट स्वदेश फर्किरहेकी बझाङको थलारा गाउँपालिकाकी हर्कला देवी दाहालले बच्चा जन्माएकी हुन्। उनले बैशाख १० गते भारतको रामपुर भन्ने ठाँउमा रहेको क्वारेन्टाइनमा बच्चा जन्माएको उनका श्रीमान जीवन दाहालले बताए।
‘बच्चा त जन्मियो तर खान र बस्नका लागि उचित व्यवस्थापन नभएका कारण अहिले आमा र बच्चाको अवस्था निकै कमजोर हँुदै जान थालेको छ’ उनले भने, ‘साझबिहान खान त दिइन्छ तर कहिलेकाँही बासी र सडेगलेको चिसो खान खानुपर्ने बाध्यता छ।’ जस्तोपायो त्यस्तो खानाका कारण बच्चा र आमा बिरामी परेको उनले सुनाए। अहिले आमा र बच्चालाई अलग्गै कोठामा राखिएको र त्यहाँ अन्यलाई प्रवेश गर्न निषेध गरिएको जीवन दाहालले बताए।
उनीसँगै आएका थलारा गाउँपालिकाका अन्य ९२ जनाको अवस्था पनि उस्तै छ। उक्त समुहमा बढीजसो महिला र बालबालिका रहेका छन्। ती सबैको अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको भरतबहादुर थापाले बताए। ‘न खानेपानीको व्यवस्था छ, न बस्नको राम्रो व्यवस्था नै छ, त्यसैमा झन ५ वर्षमुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला र वृद्धवृद्धाहरुलाई जोखीम बढ्दै गएको छ’ उनले भने। आफुहरुले बाध्यतावस बाथरुमको पानी पिइरहेको उनले सुनाए।
क्वारेन्टाइनको खानाका कारण बालबालिकाले दैनिजसो बान्ता गर्न थालेको उनीहरुको गुनासो छ। बिरामी भएर औषधि माग्दा ‘तपाईको सरकारले दिएको छ ? हाम्रो सरकारले तपाईहरुलाई खाना खुवाएको छ। यत्रो व्यावस्था गरेको छ भन्दै हेप्ने गरेको त्यहाँ रहेका नेपालीले दुखेसो गरे। प्रहरीले गाली, बेइज्जत तथा पिट्ने गरेको उनीहरु बताउँछन्। आफुहरुलाई त्यहाँको प्रहरीले लठ्ठी भाच्चिँदासम्म पिटेको उनीहरुले बताए।
आफुले जिताएका जनप्रतिनिधी, सांसद र पार्टीका कार्यकर्ताहरुलाई समेत त्यस बारेमा जानकारी गराउँदा ५ हजार मोबाइल रिजार्च सक्किएको तर उनीहरुले कुनै पहल नथालेको अम्मर थापाले गुनासो गरे।