निराशा भित्र लुकेका आशाहरु
- सुमन भट्ट पनेरु
कोरोनाले महामारीको रुप लिएको झन्डै छ महिना पुग्नै लाग्यो। ६ महिनाको अवधीमा यसले विश्वलाई ठुलो पाठ सिकाएको छ। कोरोना संक्रमणको स्थिती हेर्ने हो भने भयावह छ। ठुला वा भनौ विकसित राष्ट्रहरु अझ बढि चपेटमा परेका देखिन्छन, शक्ति सम्पन्न राष्ट्र अमेरिकालाई कोरोनाको चाप धान्न गाह्रो परेको अवस्था छ। रोगको धेरै चियोचर्चो भन्दा पनि अबको विश्व कस्तो होला ? हाम्रो जिम्मेवारी के कस्तो होला ? समयमै सोच्न जरुरी छ।
हाम्रो देशको कुरा गर्दा रोजगारीका लागि विदेशिकाहरुको ठुलो जमात छ। कुनै कम्पनीबाट रोजगारको अवसर आउदा फारम भर्न लाईन लाग्ने हजारौँ युवा, बिभिन्न देशका भाषा सिक्दै , फारम भर्दै र दुतावास चाहार्दै सुन्दर सपना बोकी विदेशिकाहरु अहिले विचल्लीमा छन् त कतिपय स्वदेश फर्किसकेका छन्।
अहिलेको विश्व हामीले कल्पना गरेको भन्दा फरक, महिना बढि भयो घर भित्र, व्यस्त हुने सडक, हवाइमार्ग सबै सुनसान छन्। कस्तो बिचित्र संसार भईदियो। कोरोना नियन्त्रणको विकल्प लकडाउन मात्र थियो। सहि तरिकाले पालन गर्न र गराउन सक्ने राष्ट्रहरुले केहि हद सम्म सफलता पाइरहेकै छन्। चिनले कोरोनालाई जितेकै हो भन्नुपर्छ, नयाँ रोग तर दक्ष भुमिका , क्षति भएता पनि जोगियो धेरै। नजिकका बिकाशोन्मुख देशहरु पनि यो रोग नियन्त्रणमा उदाहरणिय बने जस्तै भियतनाम, भुटान।
नेपाल पनि दैनिक जसो संक्रमितको संख्या बृद्धि हुदै गएपनि भयावह स्थिती सिर्जना भईसकेको छैन्। श्री पशुपति नाथको कृपा हो कि नेपालीहरुको इम्युनिटि पावर नै राम्रो हो। कि, ट्रेसिङ गर्न नसकिएको हो कि ? जे भएतापनि हालको अवस्था निरासजनक भने पक्कै होइन। एकातिर लकडाउन अर्को तिर रोजगार ठप्प, प्राय सबैजसो जस्तो कामकाज पनि ठप्प रहेको अवस्था। कोरोना भाईरसको संक्रमणले मर्ने भन्दा पनि भोकले पो मरिन्छ कि भन्ने डर बढि देखिएको छ। जहा २८ प्रतिशत जनता गरिबिको रेखामुनी छन।
संक्रमण बढ्दै गरेको छिमेकि राष्ट्र भारतलाई हेर्दा हाम्रो ठुक्क हुने अवस्था भने पक्कै पनि होइन। सरकारबाट यो रोगको रोकथामका लागि धेरै प्रयासहरु भएकै हुन जसकारण हामी आज सुरक्षित छौँ। रोग नयाँ थियो, गृहकार्यमा समय लाग्नु स्वाभाविक थियो। सीमानाका थप कडाई गर्नु आवश्यक छ। अहिले जो संक्रमित भेटिएका छन् उनीहरु भारत र तेस्रो मुलुकबाटै आएका बढि छन्। सीमामा सेनिटाइजिङ बुथ राख्ने निर्णय त भयो तर यो सम्भव कत्तिको छ ? मुख्य नाका भन्दा पनि सहायक नाकाहरु बढि सक्रिय भएको देखिन्छ। कि ति सबै नाकाहरुमा पनि सेनिटाइजेसनको व्यवस्था हुनुपर्यो अझ त्यो भन्दा राम्रो अत्यावश्यक बाहेक सबै मानव तथा सवारिसाधनको रोक लगाउनुपर्छ।
रेमिटान्स, पर्यटनले ठुलो भाग ओगटेको हाम्रो अर्थतन्त्र अब के को सहारा पर्ने ? हो यी सबै पक्ष केलाएर हेर्दा हामीले आफैबाट परिवर्तन ल्याउन जरुरी छ। आफ्नो व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ। देशको जुन कुनामा जे फल्छ त्यहि बढि उपभोग गर्ने, दालभात र गहुँ रोटि खानैपर्छ भन्ने छैन्। कतै फापर फल्छ त कतै कोदो, कतै मकै त कतै तरकारी बढि।
देशको परिस्थिति अनुसार आफ्नो उत्पादनमा बढि जोड दिने हो कि ? नत्र भोलीका दिन दिन भोकमरीको स्थिती नआउला भन्न सकिन्न। विदेशबाट फर्किएका लाखौ मानिसहरु, लकडाउन पछिको भविष्यको चिन्ताले कतै मानसिक तनावले छुट्टै समस्या पो निम्त्याउला कि भन्ने डर। समयैमा ध्यान दिन सके केहि रोजगारी सिर्जना गर्न सक्नुपर्छ, समयमै आफ्नो श्रोत साधनको पहिचान गर्नुपर्छ। वनजङ्गल जडिबुटीका धनी हामी र अझ जलश्रोतको दोस्रो धनि देश हाम्रो, असिमित सम्भावना बोकेको देश, समयमै गृहकार्य गर्न सके हामीले आफ्नो भविष्य सुरक्षित गर्न सक्छौ, समयमै गर्न सके देशले संकटको स्थिती व्यहोर्नुपर्ने छैन्।
अहिले सम्म युवा ओसारेर रेमिट्यान्स भित्र्याएको देशले निकट भविष्यमा त्यहि युवाहरुको उब्जाएका गुणस्तरिय उत्पादन निर्यात गर्ने माहोल बनोस। कोरोना आफैमा नयाँ रोग अझ भोलिपर्सि यस्ता रोगको उत्पत्ति नहोला भन्न पनि सकिन्न, प्रकृतीको प्रहार कहाँ कहिले हुन्छ भन्न सकिन्न त्यस कारण यस्ता क्षतिबाट जोगाउन सरकारले आवश्यक कदमहरु चाल्नुपर्छ।
स्थिती हेर्दा एउटा पूर्ण टीम बनाएर अगाडी बढ्न सकेको अवस्था छैन। भएका जनशक्तिको सहि सदुपयोग गरी विज्ञ टोली र हरेक टोलीमा डाक्टर नर्स ल्याबका जनशक्ति, फार्मासिष्ट, फिजियोथेरापिष्ट, जनस्वास्थ्य विज्ञ, डाटा सम्बन्धि विज्ञ र लोकल लिडर, समाजसेवी सबैको सहकार्यबाट नै नयाँ रणनीति ल्याउन सकिन्छ। त्यसकारण जतिसक्दो चाडो कार्यान्वयनमा जानुपर्छ।
हामीले सक्दो जति प्रयास रोकथामै गर्ने हो रोग कोरोना संक्रमण भयावह भईहालेमा हाम्रो क्षमताले नियन्त्रण गर्न नसकिने हुनसक्छ। र अर्को कुरा खोपका चार चरण पुरा गर्न अझ धेरै समय लाग्न सक्छ, सबै रोगको विकल्प खोप मात्र होइन, खानपान र व्यक्तिगत सरसफाईमा विशेष जोड दिने, लकडाउनको पालना गर्ने, अनावश्यक घरबाहिर ननिस्किने हो भने हामी लड्न सक्छौ, मात्र मनोबल उच्च राखौँ। अबको विश्व आफ्नै हातमा छ, समाज हाम्रो हातमा, यो निराशा भित्र लुकेको आसा खोज्नु छ।
लेखक धनगढीको नोभा हस्पिटलमा कार्यरत छन्।