सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मलाई केही भएकै छैन्, कोरोना रिपोर्ट पोजेटिभ कसरी आउँछ ?’

२०७७ वैशाख १९, ०९:०५ नवराज पनेरु

धनगढी : दुबईबाट फर्किएका परिवारकै एक जना सदस्यलाई कोरोना पुष्टि भएको नौँ दिन भईसकेको थियो। परिवारका अन्य सवै सदस्यको थ्रोट स्वाब संकलन गरेको तेस्रो दिन अस्पतालबाट फोन आयो र भनियो, ‘तपाईमा कोरोना देखिएको छ। हामी एम्बुलेन्स पठाउँदैछौ। तपाईले सेती प्रादेशिक अस्पतालमा आउनुपर्छ।’

चार दिन धनगढीको क्वारेन्टाईनमा बसेर हामी परिवारका सबै सदस्य घर फर्किसकेका थियौँ र घरमै एम्बुलेन्स आएपछि म अस्पताल आए। मलाई विश्वास नै लागेको थिएन आफुमा कोरोनाको संक्रमण होला भनेर। तर पनि डाक्टरले भनेपछि विश्वास गर्नै प¥यो र अस्पतालमा भर्ना भए।  

मलाई कोरोनाको पुष्टि २२ गते भएपनि चैत ११ गतेभित्र संक्रमण भएको हुनुपर्छ। किनभने चैत ११ गते दुबईबाट फर्किएका देवर सेती अस्पताल भर्ना भईसकेका थिए। देवरमा कोरोना पुष्टि १४ गते भएको थियो। ११ गते भित्र संक्रमण भएको हो भने मलाई संक्रमण भएको एक महिना नौँ दिन भईसकेको छ।

आज पनि छैठौँ पटक गरिएको नमूना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको खवर पाए। लगातार रिपोर्ट पोजेटिभ देखाईरहेको छ तर कोरोनाको लक्षण भने केही पनि छैन्। न ज्वरो आएको छ न त रुघाखोकी नै लागेको छ। मन मनै धेरै कुरा खेलिरहन्छन्।

कतिबेला सोच्छु, ‘मलाई त केही भएकै छैन्, कोरोना रिपोर्ट पोजेटिभ कसरी आईरहेको छ ? कतै परीक्षण गर्दा त्रुटी त भएको छैन्।’ फेरी सोच्छु एक पटक त त्रुटी भएको होला तर पटक–पटक कसरी त्रुटी सम्भव छ ? र आफ्नो भाग्यलाई नै दोष दिन्छु र सम्हालिन्छु। 

लम्कीकी ६५ बर्षको आमाले ११ दिनमा कोरोना जितेर घर फर्किनुभयो। मलाई अस्पताल भर्ना भएको पनि २८ दिन पुगिसकेको छ। ६५ बर्षको आमाको भन्दा म ३४ बर्षीय महिलाको रोग प्रतिरोधात्मक क्षमता कसरी कम होला भन्ने प्रश्न पनि मनमा उब्जिन्छ।

मलाइ पहिले ग्यास्टिक र एलर्जीको समस्या थियो। सोही कारणले मलाई कोरोनालाई जित्न बढि समय त लागेको होईन भन्ने पनि लागेको छ। अस्पतालका चिकित्सकहरुबाट राम्रै सल्लाह पाएकी छु। उहाँहरुले पनि स्वास्थ्यमा कुनै समस्या छैन तपाई छिट्टै घर फर्किनुहुन्छ भन्नुभएको छ।

मलाई पनि लाग्छ कोरोानालाई जित्दै म छिट्टै घर फर्किन्छु भनेर। २८ दिन अस्पताल बसेको हुँदा घर परिवारका सदस्यको याद आउन थालेको छ। घरमा चार बर्षके छोरा र ९ बर्षकी छोरी छ। उनीहरुको पनि माँया लाग्छ। तर बेला–बेला फोन गरिरहन्छु। फेरी फोन पनि कति गर्नु जस्तो लाग्छ। तर पनि फोन आएको समयमा भने आफुलाई सम्हाल्न सजिलो हुन्छ। 

अहिले सम्म नेताहरुमा मलाई धनगढी उप–महानगरपालिकाकी उप मेयर शुसिला मिश्र भट्ट ज्यूले फोन गर्नुभएको छ। नआत्तिनुहोला भन्नुभएको छ। यसरी कसैले सम्झाउँदा भने आफुमा मनोव बढ्छ। जे जस्तो भएपनि छिट्टै कोरोनालाई जितेर घर फर्किनेमा म विश्वस्त छु। 

(धनगढ २८ दिनदेखि सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित धनगढीकी ३४ बर्षीय महिलासंग गरिएको कुराकानीमा आधारित)
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस