लकडाउनपछि युवाहरुको भूमिका
दिनेश बोहरा
चिनबाट सुरु भएको कोभिड–१९ अर्थात कोरोना भाइरस विश्व भर फैलिएको छ। चिन, इटाली, अमेरिका लगायत शक्तिशाली देशलाई नै कमजोर पारेको कोरोना भाइरस नेपालमा ५७ जनामा पुष्टि भईसेको छ। प्रायः सबै जसो मुलुक “लकडाउन”को अवस्थामा छन्। नेपाल पनि २०७६ चैत ११ गते देखि पूर्ण रुपमा लकडाउन छ। पटकपटक गरि समयावधि थपिएको लकडाउन अहिले बैशाख २५ गते सम्मका लागि लम्ब्याईएको छ। लकडाउनका कारण नियमित रूपमा संचालन हुनु पर्ने शिक्षण संस्था, कलकारखाना, उद्योग, बित्तिय संस्था, कृषि लगायत सबै जसो क्षेत्रमा प्रत्यक्ष असर परेको छ। हामी लकडाउनमा छौ भन्नु हामी पूर्ण बिदामा छौ भन्ने नजिर स्थापित हुँदै गएको छ।
तर वास्तवमा हामी बिदा लिएर बसेको भने होईनौ। यो समय त संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरिएको हो। लकडाउन अवधिभर सामाजिक दुरी कायम गरि सम्भव भए सम्मका काम गर्नु आवश्यक भईसकेको छ। कोरोना भाइरसको प्रभावले पूरै नेपाल मात्र नभएर अहिले विश्वभरको जनजीव अस्तब्यस्त मात्र नभएर विश्वको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पारेको छ। लकडाउन खुलेपछिको अस्तव्यस्त अवस्थाबाटमाथि उक्लिन त्यति सहज भने छैन्। देशको आर्थिक सामाजिक, स्वास्थ्य, शिक्षा, पुर्वाधार बिकास लगायत थुप्रै क्षेत्रमा परेको गम्भीर असरका बिच पनि कोरोना कहरबाट सिर्जित लकडाउनले हामीलाई धेरै पाठ सिकाएको छ। कृषिमा रहेको परनिर्भरता तोड्न, उत्पादन, प्रविधि, क्षमता अभिवृद्धि, पर्यटन, सामाजिक रुपान्तरण लगायतका क्षेत्रमा युवाहरूका लागि अवसर र युवाहरुको भुमिका थप कसिलो बन्नु पर्ने छ।
उत्पादनमा युवा
नेपाल आफैंमा कृषि प्रधान मुलक भएपनि खाद्यान्न लगायत सबै जस्तो तरकारी, फलफूल अरु मुलकबाट आयात हुने गरेको छ। निश्चित भुगोल र क्षेत्रलाई आधार बनाई वैज्ञानिक तरिकाले उत्पादनमा लाग्नु अवको आवश्यकता भइसकेको छ। व्यवसायीक तरकारी खेती, माछापालन, फलफूल खेतीदेखि ठुला कृषि फार्ममा युवा व्यावसायी थपिनु पर्छ र सरकारले पनि यस सम्बन्धित उचित प्रेरणादायी भुमिका निर्वाह गर्नु आवश्यक छ। संगै सरकारले खेतीयोग्य जमिन बाझो राख्न नदिन मापदण्ड तोकी सबैलाई उत्पादनमा जोड गर्नु पर्छ। अबको समय कृषि क्रान्तिमा लाग्नु को विकल्प छैन, कृषि उत्पादन बाटै देश र यहाँका युवा आत्मनिर्भर हुने छन्। विभिन्न कालखण्डमा देशले नाकाबन्दी बेहोर्दै गर्दा हामी कति परनिर्भर छौ प्रस्ट भइसकेको छ। कृषि क्रान्ति बाटै देशमा आमूल परिवर्तन ल्याउन सकिनेछ। साथै कृषिमा परनिर्भर हुनपर्ने बाध्यता र बेरोजगारीको समस्या सुधार हुँदै जाने छ। उत्पादन संगै बजार व्यवस्थापनमा उत्तिकै ध्यान जान जरुरी हुन्छ। उत्पादनमूलक काम र बजार व्यवस्थापनमा युवाहरु थप परिचालन हुन आवश्यक छ।
युवाहरुमा तालिम र क्षमता बृद्धि
सरकारले विभिन्न निकाय मार्फत तालिमको व्यवस्था गरेको भएपनि त्यो सबैको पहुँचमा पुग्न सकेको छैन्। तसर्थ सरकारले चलाइरहेका कार्यक्रमलाई स्थानीय सरकारसंगको सहकार्यमा थप व्यवस्थित र प्रभावकारी बनाई बेरोजगार रहेका युवाहरु लक्षित गरि निर्माण, मर्मत, कृषि, लगायत विभिन्न सीपमूलक कार्यहरुको लागि तालिमहरु देशका हरेक क्षेत्र, नगर, गाउँमा व्यापक रुपमा सुरु गरिनु पर्छ। र अहिले कुनै न कुनै क्षेत्रमा लगानी लगाएर व्यावसायिक रुपमा काम गरिरहेका युवाहरूमा क्षमता अभिवृद्धि गर्नु पर्छ। जस्ले गर्दा उत्पादन लगायत अरु क्षेत्रमा कार्यक्रम थप प्रभावकारी हुने छ।
पर्यटनमा युवा
पर्यटन क्षेत्र देश कै अर्थतन्त्रको एक मेरुदण्ड हो। तर कोरोना भाइरसका कारणले पर्यटन क्षेत्र अझ बढि प्रभावित भएको छ। पर्यटन व्यवसाय आफैंमा आकर्षक आम्दानी र लाखौंको रोजगारी जोडिएको क्षेत्र भए पनि अहिले पुर्ण रुपमा ठप्प रहेको छ। लकडाउनपछिको स्थितिमा सुधार गर्ने पर्यटन क्षेत्रको महत्त्वपूर्ण भुमिका रहन्छ। युवाहरु मार्फत देशभित्र ओझेलमा परेका विभिन्न प्राकृतिक सौन्दर्यका नयाँ ठाउहरु, ट्रेकिङ रुटहरु, झरना, तालहरुको पहिचान गरि थप प्रचारप्रसार गरिनु पर्छ। साथै भौतिक संरचना निर्माणमा जोड दिनु अपरिहार्य रहन्छ। जब गाउँमा रहेका पर्यटकीय क्षेत्रको विकास हुन्छ तब ग्रामीण क्षेत्रमा पनि आर्थिक गतिविधिमा वृद्धि हुने छ। जस बाट युवाहरुको लागि रोजगारीको अवसर प्राप्त हुने छ।
भ्रष्टाचार विरुद्ध युवा
लकडाउनकै समयमा पनि विभिन्न योजनाहरुमा भ्रष्टाचार भएको भनी विभिन्न संचार माध्यमा खबरहरु आइरहेका छन। कोरोना कहर एक तिर छ भने नेपाली राजनीति अर्को तर्फ मोडिदै गएको छ। देशमा संघीयता कार्यान्वयन भईरहेको छ तर पनि बर्षौदेखि राज्यमा सुशासन कायम हुन नसक्दा भ्रष्टाचार तथा नितिगत भ्रष्टाचार व्याप्त भइरहेको छ। देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि युवा जागरुक बन्नुपर्ने छ। युवा संगै सम्बन्धि निकायको जवाफदेहिता, पारदर्शिता, कानूनको शासन, उत्तरदायीपन आदिका माध्यमबाट भ्रष्टाचारन्यूनीकरण गर्न लाग्नु पर्ने छ। जनमानसमा भ्रष्टाचार विरुद्धको सचेतना अभिवृद्धि गर्न युवाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने छ।
प्रविधिमा युवा
नेपाल मा विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग पुर्णरुपमा भइसकेको भने छैन। लकडाउनकै समयमा पनि धेरै प्रविधिको बिकास संगै केही प्रयोग भइरहेका छन्। जस्मा वैज्ञानिक महावीर पुनको आविस्कार केन्द्रले युवासंगको सहकार्यमा गरेका महत्त्वपूर्ण कामहरुले थप चर्चा बटुलेको छ। अबको समय उद्दम गर्ने जो कोही व्यावसायीले प्रविधिको प्रयोगबाट थप व्यावसायिक दायरा बढाउन सकिने छ। अनलाइन सेवा, होमडेलिभरी एप लगायत विभिन्न क्षेत्रमा प्रविधिको प्रयोग गरि आत्मनिर्भर बन्न सकिने छ। जस्मा अहिलेका प्रविधिक ज्ञान भएका यवाहरुको विशेष योगदान रहनेछ।
श्रमको सम्मान
नेपालमा अझै पनि श्रमको उचित सम्मान हुने वातावरण बनीसकेको छैन। पुरातन सोच बाट ग्रसित हाम्रो समाजमा श्रम गर्ने कामदारहरु प्रतिको व्यवहार निकै खराब हुने गरेको छ। जब सम्म काम र कामदारलाई उचित सम्मान गर्न सक्दैनौं तब सम्म खुलेर काम गर्ने वातावरण बन्दैन्। तसर्थ युवा बाट नै यस्ता सामाजिक कुप्रर्था बिरुद्धको जागरण अभियान सुरु गर्नु पर्छ। जसबाट जुनसुकै तहका कामदार पनि खुसि खुसि काम गर्न सकुन।
कोरोना कहरसंगै नेपालका धेरै पाटो छर्लङगै भएका छन। संगै बन्दाबबन्दीपछिको अवस्था बाट माथि उठ्न नयाँ अवसरहरु पनि देखा परका छन्। शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा सरकारले नै लगानी गरि बिकास गरे मात्रै आम जनताको पहुँचमा पुग्ने स्पष्ट भएको छ। कोरोना बाट प्रभावित भएको अर्थतन्त्रमा सुधार संगै नयाँ रोजगारीका अवसरहरु सिर्जना गर्नमा सरकार, निजि क्षेत्र, समुदाय र हामी युवा सबैले सहकार्य गरि व्यापक रुपमा युवा परिचालन गरि कोरोना कहरबाट भएको समग्र असर बाटमाथि उठ्न कुनै ठूलो योजना अगाडि नसारेसम्म हामीले अहिलेको स्थितिबाट देशको अर्थतन्त्रलाई माथि उकास्न हम्मेहम्मे पर्नेछ।
अहिलेसम्ममा धेरै युवाले रोजगारी पनि गुमाई सकेका छन। लकडाउन खुल्दा सम्म बेरोजगारी हुनेको संख्या उकालो लाग्ने छ। यदि समयमै प्रभावकारी कार्यक्रम ल्याउन सकेमा यस परिस्थितिलाई सहज बनाउन सकिने छ। त्यसका लागि युवा परिचालन नै विशेष हतियार नै हुने छ। त्यसैले लकडाउनपछिको अवस्था सहज बनाउन युवाहरुको भुमिका महत्त्वपूर्ण रहने छ। सरकारले पनि युवा लक्षित कार्यक्रमको अवधारणा अनुसार विभिन्न क्षेत्र संग सहकार्य गरि आवश्यक कार्यक्रमका प्याकेजहरुको व्यवस्था गर्नु जरुरी छ।
(लेखक दारी ग्याङ धनगढीका संयोजक हुन।)