बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टीे
बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड(१९ को संक्रमण भएको पुष्टि भएको छ। यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ।
बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो। बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ सय ९४ जना डिस्चार्ज भएका छन् । बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ।
कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या एक हजार दुई सय ४६ छ। तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन। धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन्।
तर, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन्। बहराइनको सरकारले बिरामीको बारेमा खुलेर जानकारी दिने गरेका कारण पनि संख्या धेरै देखिएको उनी बताउँछन्। दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ।
एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छनन्। त्यसैकारण त्यहाँको सरकारलाई बस्ने स्थानमा कामदारहरूबीच दुरी कायम हुनेगरी व्यवस्थापन गर्न दूतावासले आग्रह गरेको छ। आग्रहअनुसार बहराइन सरकारले पनि व्यवस्थापन गर्न थालेको उनले बताए।
अहिले बहराइनमा सेमिलकडाउन छ। कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ। बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ। दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ। मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन्।
उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन्। बरहाइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२०सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ। बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ।