संगीतले व्यायामलाई अझ प्रभावकारी बनाउँछ ?
नयाँ वर्ष सुरु भएसँगै तौल घटाउनु र धेरै भन्दा धेरै एक्सरसाइज गर्ने लगायतका आत्मसंकल्प अर्थात ‘रिजोलुसन’ चर्चामा आएका छन्। शारीरिक अभ्यास कुनै पनि रुपमा हाम्रा लागि फाइदाकारक भएपनि ‘ब्रिस्क’ एक्सरसाइज विशेष रुपमा मुटु र मस्तिष्कका लागि अति लाभदायक रहेको बताइएको छ। ब्रिस्क एक्सरसाइज भन्नाले तिव्र वा द्रुत गतिको हिँडाइ भन्ने बुझिन्छ।
यस्तोमा सक्रिय रुपमा ब्रिस्क एक्सरसाइजको फाइदा उठाउन संगीतले धेरै मद्दत पुर्याउन सक्ने बताइएको छ। ब्रिस्क एक्सरसाइज अन्र्तगत मान्छे बिस्तारै दौडनु वा हिँड्नु नभएर गति बढाउनु हो जसले हाम्रो मस्तिष्कमा रतगको बहाव बढाइदिन्छ र बीडीएनएफ नामक हर्मोन पनि सक्रिय गराउँछ। बीडीएनएफले नयाँ ब्रेन सेल उत्पादन गर्न सक्छ जसले विशेषगरी बूढेसकालमा मद्दत पुर्याउँछ।
यसैगरी बिस्तारै हिँड्नेको तुलनामा गति बढाएर हिँड्नेहरु लामो जीवन बाँच्ने गरेको विभिन्न अनुसन्धानले पनि देखाएका छन्। ५० हजार मानिसमा ििगरएको एक ठूलो स्तरको अनुसन्धानमा छिटो हिँड्नेहरु अन्यको तुलनामा औसतमा २४ प्रतिशत लामो जीवन बाँच्ने गरेको पत्ता लागेको हो। यसै वर्ष मात्र वैज्ञानिकहरुले मान्छेको हिँडाइ र संगीतबीचको सम्बन्ध परीक्षण गरेका हुन्।
यसका लागि एक समुहका सहभागीलाई एक दिनमा १० हजार कदमसम्म हिँड्ने लक्ष्य लिन भनिएको हो भने अर्को समुहलाई चाहिँ दिनमा तीस मिनेट गति बढाएर हिँड्न भनिएको थियो जसमा उनीहरुका लागि संगीत पनि छनोट गरेर दिइएको थियो। यसपछि सबैको रक्तचाप, कोलेस्ट्रोल र शरीरको बोसो परीक्षण गरिएको हो र सबैलाई पाँच हप्तापछि आउन लगाइएको हो।
यसमा छिटो हिँड्नेहरुले संगीत सुन्नु राम्रो अनुभव भएको बताए। यसले ल्याएको भिन्नताबारे प्रोफेसर मुर्फी भन्छन्, “दुवै समुहमा सकारात्मक परिवर्तन देखा पर्यो जुन खुसीको खबर हो तर संगीत सुन्दै गति बढाएर हिँड्नेहरुमा, १० हजार पाइला बिस्तारै हिँड्ने समुहको तुलनामा बढी सुधार देखा परेको छ।” उनका अनुसार १० हजार पाइला हिँड्नेहरुको शारीरिक फ्याट १.८ प्रतिशतले घटेको थियो जबकी छिटो हिँड्नेहरुको चाहिँ २.४ प्रतिशतले कम भएको बताइएको छ।
त्यसैगरी उनीहरुको रक्तचापमा पनि ठूलो गिरावट देखा परेको थियो। यस्तोमा चिकित्सकहरुले स्वस्थ र फिट रहन रमाइलो गीत सुनेर हिँड्दा र दौडदा गति बढाउन सुझाव दिएका छन्।–बीबीसी