कोरोना निको भएकालाई फेरि सङ्क्रमण हुँदैन भन्ने कुनै ’ग्यारेण्टी’ छैन : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) कोरोना भाइरसको सङ्क्रमणबाट निको भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुनबाट बचाउने एन्टीबडीज हुन्छ भन्ने कुराको कुनै प्रमाण नभएको बताएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोग प्रतिरोधात्मक शक्ति हासिल गर्न बहु चरण प्रक्रिया पार गर्नुपर्ने र यसका लागि एकदेखि दुई हप्ताको समय लाग्छ। यो प्रक्रियामा रगतमा रहेको एन्टिबडीजलाई मापन गरिन्छ।
साथै विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बिरामीमा एन्टिबडीजको अवस्थाको अध्ययन भइरहेको बताएको छ। धेरैजसो अध्ययनमा कोभिड १९ बाट निको भएका व्यक्तिमा यो भाइरसको एन्टिबडीज उत्पन्न भएको पाइएको छ।
तर यो एन्टिबडीजको मात्रा रगतमा निकै कम पाइएको छ। यही कारण विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट निको भएका व्यक्ति फेरि सङ्क्रमण हुनबाट बच्ने प्रमाण नभेटिएको बताएको हो। डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्नेमा जोड दिएको छ।