सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री राईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ वैशाख १३, ०९:१७

हतुवागढी गाउँपालिकामा कोभिड–१९ का बिरामी फेला परेपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य सामग्रीसहित गृह जिल्ला आउनुभएको छ।

मुख्यमन्त्री राई कोरोना रोकथाम र उपचारमा प्रयोग हुने सामग्री लिएर अन्य दुई मन्त्रीसहित गाउँपालिका केन्द्र घोडेटार आउनुभएको हो।  मुख्यमन्त्री राईले थर्मलगन चार थान, स्वाब सङ्कलनका लागि प्रयोग हुने भिपीएम १०० थान, पिपिई सेट १० थान, एन–९५ मास्क ५० थान, आरडिटी किट १०० थान र पञ्जा एक हजार थानलगायतका सामान गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलाई हस्तान्तरण गरे।

मुख्यमन्त्रीको साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि सहभागि थिए। ३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै घर फर्किएका हतुवागढी गाउँपालिका–६ होम्ताङ्गका २६ वर्षीय युवामा दुई दिनअघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। उनलाई आज बिहान एम्बुलेन्सबाट उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ।

साथै उनको नजिकको सङ्गतमा रहेका अन्य १४ जनाको पनि स्वाब सङ्कलन गरेर पिसिआरका लागि धरान पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस