स्वास्थ्य जाँच गरेर सामाजिक सुरक्षा भत्ता वितरण
दार्चुला: दुहुँ गाउँपालिका–३ ले सामाजिक सुरक्षाभत्ता वितरण गर्दा स्वास्थ्य जाँचसमेत गर्न थालेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले सामाजिक सुरक्षाभत्ता वितरण गर्दा स्वास्थ्य जाँच गर्न थालिएको हो।
“सामाजिक सुरक्षाभत्ता पाउने सबै व्यक्तिको स्वास्थ्य जाँच गरी औषधिसमेत दिइएको छ”, वडाध्यक्ष लालबहादुर बमले भने, “वडा कार्यालयमा बोलाएर सामाजिक सुरक्षाभत्ता पाउने लक्षित वर्गको स्वास्थ्य जाँच गरिएको हो।” गाउँपालिकाले नेपाल इन्भेष्टमेन्ट बैंक र वडा कार्यालयले कोराना भाइरसको महामारीका कारण सामाजिक सुरक्षाभत्ता वडा कार्यालयमै आएर वितरण गरिएको वडाध्यक्ष बमले बताए। अहिलेको अवस्थामा बैंकमा पठाउन समस्या हुने भएपछि गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमको समेत उपस्थितिमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो।
वडा नम्बर ३ मा ज्येष्ठ नागरिक ८०, ज्येष्ठ दलित २७, पूर्ण अपाङ्गता चार, आंशिक अपाङ्गता चार, बिधवा महिला ६२ र दलित बालबालिका २४ गरी कूल २ सय १ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । सामाजिक सुरक्षाभत्ता वितरण गर्दा सामाजिक दूरी कायम गरिएको थियो । दुई दिन लगाएर स्वास्थ्य जाँच र भत्ता वितरण गरिएको हो। दोस्रो चौमासिकको सामाजिक भत्ता अहिले वडा नम्बर ३ बाट सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले बताए।
यस्तै दुहुँ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा उनीहरुको स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरिएको छ। स्वास्थ्य संयोजक दिनेशकुमार सिंह, ब्रह्मदेव स्वास्थ्यचौकी अहेव भीम शाहले सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको स्वास्थ्य जाँच गरेका हुन् । दुहुँभरिका सबै वडामा स्वास्थ्य जाँच गरी सामाजिक सुरक्षाभत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
विगतमा सामाजिक सुरक्षाभत्ता लिन विगतमा बैंकसम्म पुग्नुपर्ने बाध्यता हटेपछि वृद्धवृद्धा पनि खुशी छन्। ८४ वर्षीया नन्दा कुँवरले भने, “वडामै रुपैयाँ पाउँदा निकै खुशी छौँ। औषधि पनि यही पाइयो । यति भए त सजिलो भइहाल्यो । उनीजस्तै सयौं ज्येष्ठ नागरिकले वडामै पुगेर सरकारी सामाजिक सुरक्षाभत्ता र स्वास्थ्य जाँच भएकामा खुशी व्यक्त गरेका थिए।