सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जोरायलमा घर-घरमै सामाजिक सुरक्षाभत्ता

२०७७ वैशाख १२, १२:५४

जोरायल गाउँपालिकाका जनप्रतिनिधिले घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेका छन्। गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित र बालपोषण भत्ता घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण ज्येष्ठ नागरिकलाई समस्या भएको भन्ने खबर आएपछि गाउँपालिकाले घरैमा गएर सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरेको हो।

वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने, “हामीले भत्तासहित अन्य सामग्री वितरण गर्दै आएका छौँ, जसले गर्दा सबै नागरिकलाई सहज भएको छ।”

जोरायल गाउँपालिकामा एक हजारभन्दा बढी नागरिकलाई घरमै पुगेर भत्ता वितरण गर्ने योजनाअनुसार उक्त अभियान शुरु भएको हो। ज्येष्ठ नागरिकलाई भत्तासँगै सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायतका सामग्री वितरण गरिन थालिएको जोरायल गाउँपालिका–५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए। 

जनप्रतिनिधि तथा कर्मचारी आएर घरमै भत्ता दिँदा आफूहरुलाई निकै राहत मिलेको घरैमा ज्येष्ठ नागरिक भत्ता पाएकी जोरायल गाउँपालिका–५ की ६७ वर्षीया सञ्जा रावलले बताए। उनले भने, “बन्दले भत्ता लिन जान नसक्दा समस्या भएको थियो, गाउँपालिकाले घरैमा पैसा दिएपछि निकै राहत मिलेको छ।” 

उक्त गाउँपालिकाले गाउँमा रहेका दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरैमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउन थालेको उपाध्यक्ष जमुना बोहोराले बताए। मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिन थालिएको छ।

गाउँपालिकाको निर्देशनमा वडाभरिमा रहेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा खटाएर गाउँपालिकाले ज्येष्ठ नागरिक र गर्भवती महिलाको अवस्था, बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गतिलगायत अन्य स्वास्थ्यको अवस्था, शरीरको अवस्थालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन गाउँपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेसिनसहित अन्य उपकरण र औषधिको व्यवस्था गरेको छ स्वास्थ्यकर्मीको टोलीले अहिले गाउँगाउँमा गएर स्वास्थ्य जाँच गर्न थालेको जोरायल गाउँपालिकास्थित सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका अनमी तुलसीकुमारी बोहराले बताए। रासस
 

कमेन्ट लोड गर्नुस