सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थ्रोट स्वाब राख्ने भिटिएम नहुँदा कोरोना परीक्षण सुस्त

२०७७ वैशाख ११, १२:०५ नवराज पनेरु

धनगढी : धनगढीमै दुई वटा प्रयोगशाला स्थापना भएपनि थ्रोट स्वाब राख्ने भाँडो अर्थात भिटिएम नहुँदा कोरोना परीक्षणमा समस्या भएको छ। थ्रोट स्वाब राख्ने भाईरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि पर्याप्त व्यक्तिको स्वाब नै संकलन हुन नसकेपछि परीक्षणलाई तिव्रता दिन समस्या भएको हो।

धनगढीको पशु अन्वेषण प्रयोगशाला र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएकोमा अहिले पर्याप्त स्वाब नभएकै कारण सेती अस्पतालको प्रयोगशाला बन्द भईसकेको छ भने पशु अन्वेषण प्रयोगशालामा समेत क्षमता अनुसार परीक्षण हुन सकेको छैन्।

प्रयोशालाका ईन्चार्ज रमेश शाहीले एकै पटक धेरैको परीक्षण गर्ने क्षमता भएपनि स्याम्पल नहुँदा समस्या भएको बताए। ‘ल्याब स्थापना भएकै दिनदेखि हामी कहाँ पर्याप्त स्याम्पल आएको छैन्,’ उनले भने, ‘एकै पटक ९० बढि स्वाब परीक्षणका लागि हाल्न मिल्ने भएपनि स्वाब नै नभएपछि न्यून सङख्यामा परीक्षण भईरहेको छ। एक पटक सुर्खेतबाट स्वाब ल्याउँदा भने हामीले क्षमता अनुसार परीक्षण गरेका थियौँ।’ उनले प्रयोशाला धेरै समय सञ्चालनका लागि दक्ष जनशक्तिको समेत अभाव रहेको बताए। 

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले पनि अहिले थ्रोट स्वाब राख्ने भिटिएमको अभाव रहेको स्वीकार गरिन्। ‘भिटिएमको सुदूरपश्चिममा मात्रै होईन अहिले देशभरी नै अभाव छ,’ सापकोटाले भनिन्, ‘आज साँझ सम्म ८ सय वटा भिटिएम धनगढी पुग्ने कुरा छ। अभाव हुन नदिनका लागि प्रदेश र संघीय सरकारलाई पनि आग्रह गरेका छौ।’

पशु अन्वेषण प्रयोगशालामा अहिले क्षमता अनुसार परीक्षण हुन नसकेको बताउँदै उनले भनिन्, ‘भिटिएम अभावले नमूना नै पर्याप्त संकलन गर्न नसक्दा समस्या भएको हो। उक्त समस्या समाधान गर्न हामी लागिपरेका छौ।’

प्रयोगशाला बढि भन्दा बढि समय सञ्चालन गराउनका लागि जनशक्तिको समेत अभाव रहेको बताउँदै उनले जनशक्ति व्यवस्थापन पनि भईरहेको बताईन्। अहिले सुदूरपश्चिम प्रदेशमा ¥यापिड टेस्टमा भने तिव्रता दिईएको छ। तर ¥यापिड टेस्टको विश्वसनियतामाथि भने पटक–पटक प्रश्न उब्जिएको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस