सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट २३ टन औषधि सहयोग

२०७७ वैशाख १०, ०७:४८

नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन्। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज ती औषधि हस्तान्तरण गरेका हुन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोभिड–१९ विरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीबाट नेपाली जनता र सरकारको प्रयासमा ऐक्यबद्धता जनाउन प्रदत्त सहयोगप्रति आभार व्यक्त गरे।

उनले भने, “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ। आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु।” चीनबाट शुरु भएको कोभिड १९ को प्रकोप फैलँदै भारत आइपुगेपछि नेपाल पनि उच्च जोखिममा छ भनेर गरिएको तयारी र सावधानीलाई नेपाल सरकारले एक स्तरमाथि पु¥याएको मन्त्री ढकालले जानकारी दिए।

उनले भने, “नेपालको हकमा औषधिजन्य सामग्रीमा प्रतिबन्ध नलाग्ने भन्ने भारतीय सरकारको निर्णयले दुई देशबीचको सम्बन्ध अरु बलियो तुल्याएको छ।” सो अवसरमा राजदूत क्वात्राले भारतीय सरकारका तर्फबाट उपलब्ध गराइएका औषधि सहयोगको एक उदाहरण भएको बताए।

कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइँमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए। –रासस
 

कमेन्ट लोड गर्नुस