सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बुवाको मृत्यु, घर आउन नपाएपछि तीन भाई भारतकै क्वारेन्टाईनमा बसे किरिया

२०७७ वैशाख १०, ०४:४२ खबर संवाददाता

विनोदसिंह विष्ट

बैतडी: बुवा बितेको ४ दिनसम्म पनि बैतडीका ३ मजदुरले नेपाल प्रवेश गर्न पाएका छैनन्। भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदुरका बुवा बितेका हुन्।  जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको ४ दिन भएपनि नेपाल प्रवेश गर्न नपाएका हुन्। 

गत वैशाख ७ गते उनका बुवा उजलेले प्राणत्याग गरेपछि उनका ५ छोरा मध्ये तीन छोरा अहिले भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसिरहेका छन्। आफुहरुको घर आएर क्रिया बस्ने धोको रहेको भन्दै अमरसिंह धामी भन्छन, ‘बिसुका लागि घर फर्किन भनेर आएका हौं। तर बुवासँग भेट हुन पाएन। सात गते बुवाले संसार छोड्नु भएछ। बुवालाई दागबत्ती दिन नपाउँदा साह्रै खल्लो लागेको छ।’ ‘हामीलाई घर फर्किन देऊ, बुढेसकालका बुवा बिरामी छन् भनेर धेरै पटक भन्यौं। हाम्रो आवाज कसले सुन्थ्यो र?’ उनले प्रश्न गरे। 

भारतीय क्वारेन्टाइनमा किरिया गर्दा समस्या भएको धामीले बताए। बुवाको बितेको चार दिन भइसक्दासमेत स्वदेश फर्कन नपाउँदा सारै खल्लो लागेको अर्का छोरा प्रेमसिहं धामीले बताए। ‘भारतको क्वारेन्टाइनमै किरिया बस्नुपरेको छ। यस्तो अवस्थामा समेत आफ्नो देश फर्किन पाइएको छैन। बिरामी बुवालाई भेट्न त पाएनौ कमसेकम नेपाल आएर क्रिया त बस्न देऊ’ उनले भने। 

यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय  क्वारेन्टाइमा बसेका ती मजदुरलाई नेपाल ल्याउन पहल भएको जनाएको छ। आइतवार बुवाको मृत्यु  भएपछि उनीहरुलाई बुधवार आज नेपाल भित्राइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। घरमा बुवा बितेपछि उनीहरुलाई नेपाल भित्राउन भारतीय प्रशासनसंग समन्वय गरिसकिएको उनले बताए।

 नेपाल भित्रिदा स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रक्रिया पुर्याइने जनाइएको छ।  उनीहरु तीनै जना पिथौरागढको गभमेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा  किरियामा बसिरहेका छन्।

 ५ वटा भाइहरुमध्ये ३ भाई भारतमा मजदुरी गरि फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए। यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वाशुदेव भट्टका आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्राइएको थियो।

कमेन्ट लोड गर्नुस