सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको आकस्मिक रक्तदान कार्यक्रम जारी

२०७७ वैशाख ९, ०१:४८ खबर संवाददाता

धनगढी : सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले लकडाउनको समयमा पनि आकस्मिक रक्तदान कार्यक्रम जारी राखेको छ। ह्याप्पीनेसले धनगढीका विभिन्न अस्पतालमा उपचारका लागि पुग्ने गम्भीर प्रकृतिका विरामीलाई आवश्यक पर्ने रगतको व्यवस्थापनका लागि सहजीकरण र समन्वयकारी भूमिका खेलिरहेको हो।

हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले लकडाउन जारी भएदेखि अहिले सम्म आकस्मिक रक्तदान कार्यक्रम मार्फत पाँच जनालाई रगत दिईएको जानकारी दिए। लकडाउनपछि ह्याप्पीनेसको समन्वयमा मस्तिष्क सम्बन्धी समस्या भएका धनगढीका ८ महिने बालक खेमराज अधिकारी दुई पटक र सिकलसेल एनिमिया भएकी कैलालीको कैलारी गाउँपालिकी ८८ वर्षीया बृद्धासुधरी चौधरीलाई दुई पटक रक्तादान गरिएको भण्डारीले बताए।

यस्तै गम्भीर विरामी धनगढीकै ३० वर्षीया पार्वती मडै, करिना चौधरी र गंगा रानालाई समेत लकडाउनका बेला रक्तसञ्चार केन्द्रमै पुगेर फ्रेस ब्लड दान गरिएको संयोजक भण्डारीले बताए। भण्डारीका अनुसार संस्थाको आपतकालीन असहाय कोषका संयोजक केशव पौडेल सहितका सदस्य तथा अन्य व्यक्तिले समेत आकस्मिक रक्तदान कार्यक्रम सहभागिता जनाएका छन्।

असहाय कोषका संयोजक पौडेल सहित कोषकी सदस्य आरती साउद, संस्थाका सदस्य समेत रहेका धनगढी डाईग्नोसिसका प्रबन्धक निर्देशक महेन्द्र साउद, संस्थाकै समन्वयमा कैलालीकै मानबहादुर ऐर, कृष्णबहादुर घर्तीमगर र निशान भण्डारीले रक्तदान गरेका हुन्। हेल्प फर ह्याप्पीनेसले समस्यामा परेकाहरुलाई लक्षित गर्दै सक्दो सहयोग गरेर मानविय धर्म निर्वाह गर्दै आएको छ। 

 

 

 

कमेन्ट लोड गर्नुस