सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउनमा डडेल्धुराका किसानको काइदा, तरकारी उब्जाएर फाइदैफाइदा

२०७७ वैशाख ७, ०४:३५ खबर संवाददाता

टेकराज अवस्थी, डडेल्धुरा: कोरोना भाइरसको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनबाट डडेल्धुराका किसानहरुले भरपुर फाइदा उठाएका छन्। जिल्लाको अमरगढी नगरपालिका –ं८ बकण्डेका किसानहरु लकडाउनको फाइदा उठाउँदै आफ्नो बारीमा विभिन्न किसिमका तरकारी उब्जाएर मनग्गे आम्दानी गरिरहेका हुन। 

गाउँमा रहेका १५ परिवार अहिले फूलकाउली, बन्दाकाउली, भेडेखुर्सानी, टमाटर, लसुनप्याज, मूलागाँजर र हरियो तरकारी तथा मसलाजन्य बाली लगाउनमा व्यस्त छन्। तरकारी खेतिमा बढी समय दिएकाले यसवर्ष एक सय क्विन्टल बन्दागोभी उत्पादन हुने कृषक तथा समाजसेवी हरीप्रसाद भट्टले बताए।

‘म अधिकांश समय बारीमा गएर तरकारी गोडमेल गर्छु र सिंञ्चित गर्छु’ उनले भने ‘गाउँभरिका मान्छे एकै ठाउँमा, एकैसाथ सामूहिक रुपमा कामगर्दा आनन्द आएको छ, रमाईलो पनि भएको छ।’ यतिबेला अनुभवहरु समेत आदानप्रदान भइहेकाले संक्रमणको खतरालाई सबैले दृष्टिगत गरेको उनले बताए। 

एक दशकदेखि नै तरकारी उत्पादनमा अग्रणी रहेको बकण्डेका महिलाहरुपनि ताजा तरकारीमा उत्पादनमा सक्रिय रहेको र लकडाउनको पूर्णपालना गरिरहेको कृषक हिरादेवी भट्टले बताइन। ‘यसवर्ष परिश्रम बढेकाले अरु वर्षभन्दा बढी प्रतिफल आउँछ जस्तो छ’ उनले भनीन। 

बकण्डे गाउँलाई अमरगढी नगरपालिका अन्तरगतको नमूना कृषि गाउँको रुपमा स्थापित गर्ने प्रयास गरिरहेको अर्का युवा कृषक तेजराज भट्टले बताए। उनी भन्छन, ‘अहिले सबै युवा दाजुभाईहरु कृषिकर्ममा क्रियाशिल छन्। हामी सोचेको भन्दा बढी लाभ लिन अघि बढिरहेका छौं।’  

विश्वभर कोरोना फैलिएका कारण देशमा लकडाउन भएपछि फूर्सदिला कृषकहरु आफ्नो बारीबगैंचामा पर्याप्त समय दिन पाउँदा हर्षित भएका छन्। अनुदानस्वरुप चार थान पोलीहाउस मात्रै पाएका बकण्डेवासीले आफ्नै लगानीमा ५० रोपनी जग्गामा तरकारीखेती गरिरहेका छन्। 

त्यहाँबाट उब्जनी भएको तरकारी सदरमुकामको बागबजारस्थित संकलन केन्द्रमा बिक्री गरिरहेका किसानहरु अहिले लकडाउनका बेला तरकारी नहुँनेलाई निःशुल्क सहयोग समेत गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस