सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला पुगेपछि वासुदेवले भने– मजदुरी गर्न फेरी भारत जान नपरोस

२०७७ वैशाख ७, ०४:१६ नवराज पनेरु

धनगढी : फागुनमा भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुलामा काम खोज्दै जाँदा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्वर १ का स्थानीय वासुदेव भट्टको मन धेरै कुरा खेलिरहेका थिए। हुन त त्यसअघि पनि धेरै पटक भारत आउजाउ गरी राख्ने उनी केही महिना काम गरेर घर खर्च चलाउँदै आएका थिए।

फागुनमा फेरी घर परिवार पाल्ने जिम्मेवारी बोक्दै परदेश हिडेका उनले धारचुला पुगेपछि निर्माणाधिन सडकमा काम पाए। काम सुरु मात्रै के गरेका थिए विश्वका धेरै देशमा कोरोना भाईरसको त्रास फैलिन सुन्न पाए। उनी कार्यरत रहेको देश भारत र जन्मभूमी नेपालमा पनि सतर्कता अपनाउन थालियो। 

‘काम सुरु गरेको डेढ महिना मात्रै भएको थियो ठेकेदारले काम बन्द हुने खवर गरेपछि उनी घर आउने योजना बुन्न थाले। दार्चुला सदरमुकामको ठिक पारि धारचुला पुगेपछि मात्रै थाह पाए मेरा लागि जन्मभूमीको ढोका बन्द भईसकेको रहेछन्।’ दार्चुला पुगिसकेपछि उनले भने। 

‘सधै आउजाउ गरिराख्ने पूलमा पनि ताल्चा लागिसकेको रहेछ। त्यसपछि हामीलाई भारतकै क्वारेन्टाईनमा राखियो,’ उनले दिनेश खवरसंग कुरा गर्दै भने, ‘क्वारेन्टाईनमा मसंगै झण्डै चार सय नेपाली पनि थिए। किनारमा पुगेर पनि घर भित्र पस्न नपाउँदाको पीडामै क्वारेन्टाईनमा बसिरहेका थियौँ। त्योबीचमा घरमा फोन भईरहन्थ्यो।’

घरबाट सधै जस्तै मंगलवार साँझ पनि फोन आयो तर त्यो दिनको खवर भने सधै जस्तो थिएन्। वासुदेवले भने, ‘जन्मदिने आमा अस्ताएको खवर सुनाईयो। सुरुमा त विश्वास नै लागेन्। तर मैले विश्वास गर्नै पर्ने खवर थियो। त्यसपछिका ६ दिन भने मेरा लागि लागि कहिल्यै बिर्सिन नसक्ने गरी चोट दिएर वितेका छन्।’ घरमा आमाको मृत्यु भईसक्दा समेत आफ्नै जन्मभूमी बिरानो बन्छ होला भन्ने उनले सोचेका पनि थिएनन्। तर उनका लागि जन्मभूमी बिरनो नै बन्यो। 

‘६ दिन सम्म घर पुग्नका लागि धेरै हारगुहार गरे। संगै रहेका साथीहरुले धेरै नेताहरुलाई फोन गरे। तर पनि जन्मभूमी छिर्ने अनुमती मिलेन्। दार्चुला प्रशासनले प्रवेश अनुमतीका लागि पहल गरिरहेको खवर आउथ्यो। भारतीय पक्षले पनि पहल भईरहेको खवर गर्दै आएको थियो। तर पनि प्रवेश अनुमती पाएन्।’

उनका अनुसार कहिले देहरादुन त कहिले दिल्लीको आदेशको पर्खाइ भईरहेको खवर आउथ्यो। आमाको मृत्यु भएको ६ दिनपछि आज भने जन्मभूमीको ढोका खुलेपछि वासुदेव खुसी छन्। ‘दत्तु पूल हुँदै दार्चुला प्रवेश गरेको बताउँदै दार्चुला पुगेपछि दिनेश खवरसंग कुराकानी गर्दै वासुदेवले भने, ‘आफ्नै जन्मभूमी आउनका लागि पनि यति समस्या होला भन्ने सोचेको पनि थिएन्। ढिलै भएपनि घर फर्किन पाउँदैछु सबैलाई धन्यवाद।’

उनले अगाडि थपे, ‘भारत गएर मजदुरी गर्ने रहर त कसैको पनि हुँदैन्। तर छाक टार्न पनि समस्या भएपछि के गर्नु ? आफ्नै ठाउँमा काम पाए त हुने थियो नभए फेरी मजदुरीका लागि भारत जानपर्ने त होला ? तर आशा छ भारत जान पर्ने बाध्यता नआओस।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस