बझाङमा असिनापानीले भित्राउन लागेको अन्नबाली नष्ट
बझाङ: बझाङमा असिनापानीले भित्राउनै लागकोे अन्नबाली नष्ट पारिदिएको छ। बुधबार बेलुकीे हावाहुरीसँगै परेको असिनापानीले जिल्लाका विभिनन क्षेत्रका अन्नबालीमा क्षति पुर्याएको हो। जिल्लाको छविसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र खप्तडछान्ना गाउँपालिकामा पाकेको अन्नबाली असिनापानीले नष्ट पारेको कृषकले बताएका छन्।
पाकेर भित्राउने क्रममा रहेको मुख्यबाली गहुँ, जौ लगायत फलफुल तथा तरकारी नष्ट पारेका भन्दै कृषक चिन्तित बनेका छन्। छविसपाथिभेरा गाउँपालीकाको बगडगाउँ, भन्डारीगाउँ, जिवली , झुतेडा, ब्याँसी, भाँडे, बुढखोरी थलारा, लेकगाँउ, मालुमेला, खानी, सिरेटा लगायतका दर्जनभन्दा बढी ठाउँका कृषकले लगाएको सबै बाली असिनाले नष्ट पारेको कृषहरुले गुनासो गरेका छन्। सबै बाली नष्ट भएपछि यहाँका कृषहरु भोकमरी हुने भन्दै चिन्तामा परेका छन्।
दुई दिनपछि गहुँ काट्ने भन्दै ठिक्क तयारीमा अवस्थामा रहेका थलारा गाउँपालिका कृषक दिपक चलाउनेले लगाएको अन्नबाली सबै असिनाले नष्ट पारिदिएपछि उनी निकै चिन्तामा छन्। उनको गाउँका केही महिला दिदिबहीनीहरु सँग ४ गते सहयोग मागेर गहुँ काट्ने योजना थियो। अब गहुँ, जौ लगाएको खेतबारीमा पशुचौपाया छोड्नुको विकल्प नरहेको उनले बताए।
उनी जस्तै रमिला सुनारको परिवारको हालत पनि उस्तै छ। उनको सानो जमिन छ, जहाँ लगाएको अन्नले छोरा छोरी र आफुहरुको पेट पाल्ने काम हुन्छ। तर यसवर्ष भने खेतमा लगाएको अन्नबाली भित्राउन नपाउँदै असिनाले नष्ट पारिदिएपछि भोकमरी हुने पक्का भएको उनी बताउँछिन्। अन्य समय भारतमा रोजगारी गरेर जिविका चलाउँदै आएको उनको परिवार अहिले भारत जान नपाएपछि भोकभोकै बस्नुपर्ने भन्दै चिन्तामा छ।
यस्तै जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर एकमा समेत असिनापानीले ठूलो क्षति पुर्याएको छ। गुरेल्थुम, जीवली लगायतका ठाँउमा लगाएको सबै बाली नष्ट पारिदिएको वडा नम्बर एक कृषक सुरेश धामीले बताए। ‘असिना पानीले रुखमा बोक्रा समेत राखेको छैन, पाकेको गहुँबाली त रहने कुरै भएन’ उनले भने।
यस्तै अर्जुन थापाले यहाँका अधिकांस स्थानीय भारतमा रोजगारी गरेर जिविका चलाउने भएकाकारण यस वर्ष परेको असिनापानीले किसानलाई थप पिडा दिएको बताए। उनले भने, ‘कोरोनाको संक्रमणका कारण कसैले काम गरेर खाने वातावरण छैन। दुईतिन महिनासम्म खानपुग्ने अन्नबाली समेत सबै असिनाले नष्ट पारेपछि भोकमरी हुने अवस्था छ।
छविसपाथिभेरा गाउँपालिकाका कृषि शाखा संयोजक दिपक सुनारले छविसपाथिभेरा गाउँपालिकाभरी करिब १५ रोपनीमा लगाएको सबै अन्नबाली नष्ट गरेको बताए। यकिन क्षतिबारे तथ्यांक लिइरहेको उनले बताए।
यस्तै छविस पाथिभेरा गाउँपालीकाका– १ का अध्यक्ष नैन बोहराले वडा कार्यालयले क्षतिको विवरण संङ्कलन गरिरहेको र केहि दिनमा राहत वितरण गर्ने बताए।