सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रसुती सेवा नपाउँदा समस्यामा गर्भवती, नवजीवन अस्पतालले मनपरी शूल्क लिएको गुनासो

२०७७ वैशाख ५, १२:२६ कमल सावद

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका प्रेम मिजारकी श्रीमती दिपालाई बुधबार सुत्केरी बेथा लाग्यो। प्रसुती सेवाका लागि सुरुमा मसुरिया स्वास्थ्य चौकीसम्म लगियो। उनलाई धनगढी लैजान स्वास्थ्यकर्मीले सुझाव दिए। चौमाला प्राथामिक स्वास्थ्य चौकीको एम्बुलेन्स मार्फत उनलाई धनगढी ल्याइयो। आमा सुरक्षा कार्यक्रम मार्फत प्रसुती सेवा प्रदान गर्दै आएको सेती प्रादेशिक अस्पताललाई कोरोना विषेश अस्पताल बनाइएको प्रेमलाई जानकारी थियो।

मसुरियाबाट नै धनगढीको नवजीवन अस्पतालमा प्रसुती सेवाका लागि लैजान प्रेमलाई आग्रह गरिएको थियो। दिपालाई नवजीवन अस्पताल ल्याइयो। दिपाका श्रीमानले भने, ‘अस्पतालले भर्नाको मात्रै चार सय रुपैँया लियो। बेडचार्ज पनि तीन हजार ५ सय भनेको छ। भिडियो एक्सरे र रगत जाँच पनि थप शुल्क लिईएको छ।’ शिशु जन्मिएपछि कपडाका लागि फेरि आठ सय दिएको प्रेमले बताए। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरियाका अम्बिका चौधरीलाई बिहिबार बिहान १० बजे नवजिवन अस्पताल ल्याइयो।

प्रसुती सेवाका लागि आएकी उनलाई नवजिवनले सेती प्रादेशिक अस्पताल पठायो। सेतीबाट फेरी उनलाई नवजिवन पठाईयो। अस्पताल धाउँदा धाउदै साँझको ४ बजिसकेको थियो। नवजीवनले सुरुमा उनको भिडियो एक्सरे गरेको थियो। उनका ससुरा दशरथ चौधरीका अनुसार भिडियो एक्सरेका लागि आठ सय खर्च भयो। ‘नवजीवनले भर्नाका लागि पाँच सय लिएको छ। बेडचार्जको १८ सय लिएको छ।’ उनले दिनेश खवरलाई भने। नवजीवन अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन छ।

आमा सुरक्षा कार्यक्रम लागु भएका अस्पतालहरुले प्रसुती सेवा प्रदान गरे वापत सरकारबाट रकम पाउँछन्। उनीहरुले एक जना सुत्केरीको एक हजार ५ सय रुपैया सरकारबाट पाउँछन्। तर धनगढीको नवजीवन अस्पतालले दोहोरो रकम लिएको पाइएको हो। सुत्केरीका लागि शैयाको खर्च पनि अस्पतालले लिन पाइदैन्। २८ दिन सम्म शिशुलाई एनआइसीयू सेवा पनि निःशुल्क प्रदान गर्नुपर्ने हुन्छ। उनीहरुले प्रति सुतकेरी एक हजार यातायात खर्च पनि दिनुपर्ने हुन्छ। भने नियमित गर्भ चेकजाँच गरेका सुत्केरीलाई आठ सय थप दिनु पर्नेहुन्छ।

नवजीवन अस्पतालका सञ्चालक योगेन्द्र ओझाले पनि सो सेवा प्रदान गर्दै आएको दावी गरे। उनले अतिरिक्त शुल्क नलिएको दावी गरेका छन्। ‘प्रति सुत्केरी १५ सय नेपाल सरकारले हामीलाई दिन्छ। त्यो रकमबाट नै डाक्टरको पारिश्रमीक, बेड शुल्क, औषधी र कर्मचारीको शुल्क दिने हो। क्यावीनमा बसेका छन् भने शुल्क लिईएको होला।’ उनले दिनेश खवरलाई भने। सेती प्रादेशिक अस्पताललाई सरकारले कोरोना विशेष अस्पताल बनाएपछि त्यहाँ सञ्चालन गरिएको प्रसुती सेवा बन्द गरिएको थियो।

उक्त सेवा नवजीवनबाट प्रदान गरिने भनिएको थियो भने सेतीका स्वास्थ्यकर्मीलाई नवजीवजमा पठाउने भनिएको थियो। तर अहिले सम्म नवजीवनमा सेतीबाट कसैलाई पनि पठाईएको छैन्। सेती अस्पतालले प्रसुती सेवामा आकस्मिक सेवा सञ्चालन गरेको दावी गरेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस