बाजुरामा नगरपालिकाको एम्बुलेन्स यात्रु ओसार्दै
बाजुरा: बाजुराको बडिमालिका नगरपालिकाको एम्बुलेन्सले लकडाउनका समयमा यात्रु ओसार्दै गरेको पाइएको छ। धनगढीबाट बाजुराका लागि आएको से१झ २५९ नम्बरको एम्बुलेन्समा ४ जना यात्रु रहेकोे अछामको चौखुट्टे प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मदनसिंह धामीले बताए।
धनगढीबाट आएको एम्बुलेन्समा २ जना हुम्लाका र २ जना बडिमालिका नगरपालिकाका यात्रु रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्समा बिरामी भने कोही नरहेको प्रहरी सहायक निरिक्षक धामीले बताए।
यता बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले भने त्यसबारे आफुलाई जानकारी नभएको तर धनगढीबाट एक जना प्रहरी हवल्दारले २ जनालाई एम्बुलेन्समा पठाएको सुनिन आएको बताएका छन्।
त्यस्तै प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले त्यसबारे बुझिरहेको बताएका छन्। यदि यात्रु बोकेको प्रमाणीत भए कारबाही गर्ने उनले बताए।
यअघि बुधवार मात्रै स्वामिकार्तिक गाउँपालिकाको एम्बुलेन्सले पनि यात्रु ओसार्दै गरेको पाइएको थियो। त्यस्तै केहिदिन पहिले जिल्लाको बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्सले पनि लकडाउनमा यात्रु ओसार्दै गरेको पाइएको थियो।