Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

सुनसान छन् सुदूरका धार्मिक र पर्यटकीय स्थल

२०७७ वैशाख ४, ०१:५६
अ+

विनोदसिंह विष्ट/शेरबहादुर सिंह: विष्टवसन्त ऋतुको आगमनसँगै मुलुककै ठूलो घाँसे मैदानमा विश्वका दुर्लभ मानिने बाह्रसिंगेको झुण्ड हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो। तर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज यतिबेला सुनसान छ। न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो छ र नत मानिसको भिडभाड देखेर बाह्रसिंगे चम्किँदै उफ्रिन पाएका छन।

“यो पालुवा फेरिने समय भएकोले यतिखेर पूरै घाँसे मैदान र वरपरको फाँट हरियाली छ। यो फाँटमा बाह्रसिंगेको झुण्ड चरनका लागि बाहिर निस्किन्छन, जुन यहाँको सबैभन्दा मनमोहक दृश्य हो। “यहाँको घाँसे मैदानको फाँटको हरियाली र बाह्रसिंगेको चरन हेर्ने यो नै उपयुक्त समय हो” निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले भने। उनी भन्छन् “यहाँ धेरै पर्यटक आउने मौसम चैत वैशाख र जेठ हो। भिडभाड हुने यो ‘सिजन’ महामारीको त्रासले बित्यो,। चैत र वैशाख त यसै जाने भयो अब जेठ के हुन्छ भन्न सकिन्न।”

कञ्चनपुर जिल्लामा तीन सय पाँच वर्ग्किलोमिटरमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र नेपालकै सबैभन्दा ठूलो ५५ वर्गकिलोमिटरको घाँसे मैदान छ। यहाँ आउने पर्यटकको प्रमुख आकर्षण यही घाँसे मैदान र त्यहाँ खेल्ने बाह्रसिंगेको बथान हो। तर कोरोना सङ्क्रमणको त्रासले देशभर जारी बन्दाबन्दीका कारण यतिखेर भने शुक्लाफाँटा निकुञ्ज पनि सुनसान रहेको प्रमुख संरक्षण अधिकृत पौड्यालले जानकारी दिए।  

उनीले हाल २५ औँ वन्यजन्तु सप्ताह कार्यक्रम सञ्चालन भइरहेको  र यसअन्तर्गत विविध कार्यक्रम गर्दै आएको जानकारी दिए। अरु वाह्य कार्यक्रम गर्न नपाएकोले अहिले आन्तरिक रुपमा सरसफाइदेखि पोखरी मर्मत, मचान निर्माणका कामहरु भइरहेको उनी बताउँछन। गतवर्ष ६ हजारको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए। तीमध्ये सबै यही समयमा आएका हुन्। “घुम्ने मौसममा असहज परिस्थितिका कारण पर्यटकहरु घट्ने देखिन्छ” पौड्यालले भने, कोरोनाका कारण आन्तरिक विकास निर्माणको काम पनि प्रभावित भयो ” 

सोह्र वटा पाटे बाघ, १७ वटा गैँडा, ३० को हाराहारीमा चितुवा र विभिन्न प्रजातिका मृगको बथानका साथै ४ सय भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको शुक्लाफाँटा जैविक विविधताले पनि भरिपूर्ण निकुञ्जका रुपमा लिइन्छ।

शुक्लाफाँटा घुम्न फागुनको अन्तमबाट शुरु भएर चैत, वैशाख र जेठ उपयुक्त समय हो। त्यसैगरी कैलालीको घोडाघोडी तालदेखि यहाँका छरिएर रहेका घरबास (होमस्टे) हरुसम्म बन्दाबन्दीका कारण सुनसान छन्। पर्यटकलाई आकर्षित गर्ने खप्तड, बडीमालिका, अपि र सैपाल हिमालदेखि यहाँका धार्मिक पर्यटकीय स्थलहरु समेत सुनसान रहेका छन्। न यहाँका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भक्तजनहरु छन् र नत पर्यटकीय स्थलमा स्वदेशी र विदेशी पर्यटक देखिन्छन्। सुदूरपश्चिमका सात पहाडी जिल्लामा सुप्रसिद्ध धार्मिक शक्तिपीठ छन्।

बैतडीको त्रिपुरा सुन्दरी, निंग्लाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, पतालभुवनेश्वर धाम तथा गुफा, दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाम, डडेल्धुराको उग्रतारा, परशुराम धाम, डोटीको शैलेश्वरी, अछामको बैजनाथ, बाजुराको बढीमालिका, बझाङ्गको सुर्मादेवी, धर्तीको स्वर्ग मानिने खप्तड क्षेत्र सुदूरपश्चिमका सुपरिचित धार्मिक तथा पर्यटकीय स्थल हुन्।

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा हरेक पर्व र तिथिमा आ–आफ्नै परम्परागत प्रचलन अनुसार लामो समयदेखि भक्तजनहरुले पुजा तथा आरधना गरी मनोकांक्षा पुरा हुने विश्वास गर्दछन्। सुदूरपश्चिमको धार्मिक पर्यटन छिमेकी मुलुक भारतका धार्मिक आस्था राख्ने तीर्थयात्री पर्यटकहरुको पनि महत्वपूर्ण क्षेत्र हो। 

सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल बैतडीको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र हाल लकडाउनले सुनसान छ। आस्थाको धरोहरका रुपमा परिचित त्रिपुरामा दैनिक हजारौँ दर्शनार्थी एवं पर्यटक आउने गरेको भएपनि हाल लकडाउनले सुनसान भएको स्थानीय गणेश थापाको भनाई छ।  

भारतको सीमा नजिकै भएकोले यहाँ भारतीय पर्यटक बढी आउने गरेका थिए उनले भने “दैनिकजसो पर्यटक आउने गर्दथे लकडाउनले  गर्दा सुनसान छ।” त्रिपुरामा असार शुक्लअष्टमी र नवमी, गौराष्टमी, असोजको नवरात्र, कात्तिक शुक्लअष्टमी र नवमीका साथै चैत्र नवरात्रमा पूजाआजा हुने गरेको छ। 

पूजाआजासहित लाग्ने ठूलो जात्रामा भारतको उत्तराखण्डका साथै बरेलीबाट पनि दर्शनार्थी आउने गरेको थापाको भनाई छउनले बताए। त्रिपुरासुन्दरी मन्दिरलाई दशरथचन्द नगरपालिकाले पनि धार्मिक पर्यटन भित्र्याउने गन्तव्यका रुपमा प्राथमिकतामा राखेको जनाएको छ।

 बैतडीकै प्रसिद्ध निंग्लाशैनी भगवती मन्दिर पनि धार्मिक आस्थाको धरोहर हो। यहाँ वर्षमा ४ पटक ठूलो जात्रा लाग्ने गर्दछ। पूजाआजासहित लाग्ने मेलामा पशुुबलि दिइने प्रचलन पनि छ। निंग्लाशैनी मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी बलि हुने गर्दछ । भाद्र महिनामा अनन्त चतुर्दशीमा ४ दिन सम्म मेला लाग्दछ। असोजमा घटस्थापनादेखि दशैंसम्म पूजाआजा हुन्छ भने अष्टमीमा बलि दिइन्छ। 

यस्तै मङ्सिरको शुक्लपूर्णिमामा जमानी जात हुने गर्दछ भने चैत महिनाको नवरात्रमा घटस्थापना देखि दशैंसम्म पूजाआजा हुन्छ र अष्टमीमा बलि दिइन्छ। दशरथचन्द राजमार्ग्स्थित देहिमाडौंबजार नजिक रहेको यो मन्दिर पर्यटकका लागि आकर्षक गन्तव्य हो। यहाँ पनि दैनिक पर्यटक आउने गरेका छन्। हाल भने लकडाउनले गर्दा सुनसान रहेको निंग्लाशैनी धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए। चैतमा हुने बलिसहितको पुजा समेत यो वर्ष नभएको उनले बताए।

“यो वर्ष बलिबिनाको पुुजाआजा गरेका छौँ, कोरोनाको सङ्क्रमण नफैलियोस भनेर प्रार्थना पनि गरेका छौँ।” उनले भने “भित्री पुजा मात्रै गरेका हौँ, निंग्लाशैनी मन्दिरमा यसरी बलि नभएको पहिलोपटक हो।” यहाँ जात्रा लाग्दा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतको पिथौरागढ, धार्चुला, देहरादुनबाट समेत दर्शनार्थी आउने गर्दछन्। 

यस्तै आदिशक्तिका रुपमा रहेको मेलौली भगवती मन्दिरमा पनि यसपाली लकडाउनले गर्दा जात्रा हुन पाएन। असोज र चैतमा जात्रा हुने गरेको भएपनि यसपटक भने नभएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए। मेलौली भगवतीले अन्याय, अत्याचार र कोही व्यक्तिमाथि दमन हुन नदिने विश्वास रहेको उनले बताए।  नगरको प्रमुख धार्मिकस्थल भएकोले बजेट छुट्याएर भएपनि संरक्षण र प्रचारप्रसार गरिरहेको नगरप्रमुख नायकको भनाई छ।

एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा अटाएको राष्ट्रको साताै धामका रुपमा परिचित दार्चुलाको शैल्यशिखर धाम पनि अहिले सुनसान बनेको छ। उक्त मन्दिरमा वर्षमा २ पटक भव्य जात्रा लाग्ने मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले जानकारी दिए। हाल लकडाउनले गर्दा आन्तरिक तथा वाह्य पर्यटक नआउँदा सुनसान बन्न पुगेको उनको भनाई छ। मालिकार्जुन गाउँपालिकाले पनि मालिकार्जुन धामको संरक्षण र प्रचारप्रसारका लागि बजेटको व्यवस्था गरेको छ।

 त्यसैगरी पर्यटकीय गन्तव्यका रुपमा परिचित डडेल्धुराको उग्रतारा मन्दिर पनि कोरोनाको त्रासले लकडाउन गरिएकाले यतिखेर सुनसान छ। उक्त जात्रामा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतका विभिन्न शहरवाट पनि दर्शनार्थी आउने गरेका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेज साँकीले बताए। यस्तै बझाङ्गको सुर्माभवानी, धर्तीको स्वर्ग खप्तड, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिका, अछामको बैजनाथलगायतका धार्मिक पर्यटकीय क्षेत्रहरु पनि अहिले सुनसान छन्। 

भारतको उत्तराखण्डस्थित पुर्णा्गिरी माताको दर्शनपछि कञ्चनपुरको भूमी देवताका रुपमा परिचित सिद्धबाबा मन्दिरको दर्शन नगरे मनोकांक्षा पूरा नहुने धार्मिक विश्वासकै कारण हरेक वर्ष लाखौँ भारतीय श्रद्धाल यहाँ आउने गरेको भएपनि यसवर्ष उक्त मेला समेत बन्द हुन पुगेको छ। दुई महिनासम्म सञ्चालन हुने उक्त धार्मिक मेला भारतीय पक्षबाटै केही समयअघि स्थगन गरिएको थियो।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले लकडाउनका कारण यहाँको पर्यटन क्षेत्र अस्तव्यस्त बनेको बतए। उनले अन्य क्षेत्रजस्तै पर्यटकीय क्षेत्रमा पनि लकडाउनको प्रभाव रहेको बताए। प्रवक्ता श्रेष्ठले यस वर्ष सुदूरपश्चिमको पर्यटकीय क्षेत्रका लागि संघीय र प्रदेश सरकारले गरेर रु ६० करोड बजेट विनियोजन गरेको बताए।

“पर्यटन क्षेत्रको विकास, विस्तार र निर्माण, पुनर्निर्माणका लागि सम्झौता गर्ने बेला लकडाउन हुनपुगेकोले यस वर्षका धेरै कामहरु प्रभावित हुने उनले बताए। यो मौसममा सुदूरपश्चिमका यति प्रसिद्ध क्षेत्रहरु सुनसान हुँदा यहाँका होटल र पर्यटकीय केन्द्र वरपर बनेका घरबास आदि पनि बन्द भएका छन्। यसले गर्दा यस क्षेत्रका पर्यटन व्यवसायीहरु ठूलो मर्कामा परेका छन्। –रासस 
 

Skip Ad