सुदूर नेपाललाई विश्वसँग जोड्दै

कहाँ छन् भारतबाट फर्किएका सुदूरपश्चिमका डेढ लाख ?

२०७६ चैत्र २२, ०४:४१ जनक विष्ट

धनगढी: सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मी, नागरिक अगुवा लगायतले छिमेकी मुलुक भारतमा कोरोना भाईरसको प्रभाव देखिएकै बेला देखि बारम्बार सर्तकता अपनाउन आग्रह  गरिरहेकै थिए। सेती प्रादेशिक अस्पतालका चिकित्सकले स्थानीय सञ्चार माध्यम मार्फत पटक–पटक सम्बन्धीत निकायलाई आग्रह गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमण थप फैलिन नदिन आशिंक रुपमै भएपनि सीमानाकाको आवागमन रोकौँ, भारतबाट फर्किने व्यक्तिलाई अनिवार्य क्वारेन्टाईनमा राखौँ।’

तर ती चिकित्सकहरुको आग्रह न धनगढीमै रहेको प्रदेश सरकारका मुख्यमन्त्रीले सुने, न मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, न त प्रमुख जिल्ला अधिकारीहरुले नै। सीमा नाका र विमानस्थलमा तापक्रम मापन गर्न हेल्थ डेस्क स्थापना गरेपछि पनि  चिकित्सकहरुले पटक पटक भनेका छन्, ‘तापक्रम मापन गरेर मात्र कोरोनाको संक्रमण भएको छ छैन् भन्ने कुरा आशंका गर्न सकिदैन्, यसको किटार्णु शरिरमा प्रवेश गर्ने बितिकै नभई १४ दिन सम्म जुनसुकै बेला पनि संक्रमण देखिन सक्छ।’ तर त्यो आग्रहलाई पनि स्थानीय तह, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयहरुले नसुनेझै गरे।

बरु त्यही बिचमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउने भन्दै तीन वटै तहका सरकारका प्रतिनिधिहरुले पटक पटक अनुगमन निरिक्षण गरे। त्यती बेला सम्म सुदूरपश्चिमका सीमानाका भएर हजारौँ मानिस भारतबाट फर्किसकेका थिए। भारतमा कोरोना भाईरसको संक्रमण फैलिएकाले जोगिन नेपाल फर्किनु परेको उनीहरु प्रतिक्रिया दिन्थे।  

माघ १६ मा भारतमा कोरोनाको संक्रमण देखिएयता सीमा नाका भएर के कति भित्रिए ? भन्ने तथ्याङ्क सरकारसँग छैन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सबैलाई क्वारेन्टाईनमा राख्न सम्भव नभएको प्रतिक्रिया दिदै आएको थियो। मन्त्रालयको कथन थियो, ‘भारतबाट आउने हजारौँलाई क्वारेन्टाईनमा व्यवस्थापन गर्न, खाना खुवाउन सम्भव छैन्।’ 

सरकारी असावधानीका कारण फागुन २३ गते यता सुदूरपश्चिमका सीमानाका भएर भारतबाट भण्डै डेढ लाख नेपाल भित्रिए। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैत १० गतेसम्म एक लाख ४३ हजार भित्रिएका छन्। यसरी भित्रिनेमा अधिकांश सुदूरपश्चिमकै रहेको अनुमान गरिएको छ। तर ती मध्ये कसैलाई पनि अनिवार्य क्वारेन्टाईनमा राखिएन।

दिनेश खबरलाई प्राप्त तथ्याङ्क अनुसार प्रदेशका नौँ वटै जिल्लामा १७ सय ७ जनालाई मात्र अनिवार्य क्वारेन्टाईनमा राखिएको छ। प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी तीन हजार नौँ सय ७३ शैया बराबरका क्वारेन्टाईन स्थापना गरिएको छ। तर भारतबाट फर्किएका तर क्वारेन्टाईन नबसेका डेढ लाखको अवस्था बारे सबै सम्बद्ध निकाय बेखबर छन्।

कैलालीका नागरिक अगुवा प्रमोद पाठकले भारत सहित तेस्रो मुलुकबाट हजारौँको संख्यामा फर्किएकाहरुको पहिचान गरी परिक्षणमा जोड दिनुपर्ने बताउँछन्। उनले परिक्षण बढाउन सकेमा मात्र कोरोनाको संक्रमण पुष्टि हुने र थप संक्रमण फैलिन सक्ने भएकाले सरकार गम्भीर बन्नुपर्ने बेला आएको सुझाए। 

अर्कोतर्फ भारतबाट फर्किएका कञ्चनपुर र कैलालीका दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा सबैभन्दा बढि जोखिममा रहेकाले परिक्षणमा जोड दिन आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा यसलाई खतराको घण्टीका रुपमा लिएर सरकारले गम्भीर बन्नुपर्ने मतहरु व्यक्त भईरहेका छन्। अब स्थानीय तह र प्रदेश सरकार तथा संघिय सरकार मातहतका निकायले  कोरोनाको थप जोखिम नियन्त्रणका लागि कसरी काम गर्छन् त्यो भने हेर्न बाँकी छ। 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस