सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहराइनमा एकैपटक ९ जना नेपालीमा कोरोना संक्रमण

२०७६ चैत्र २२, ११:२४ खबर संवाददाता

बहराइनमा एकैपटक ९ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन्। यसअघि बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो। बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए। 

उनले भने, ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो। त्यो क्याम्पमा नेपाली सहित ४ सय जना बस्दथे। सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको हो’, ‘स्वास्थ्य परीक्षणको क्रममा ९ जना नेपालीलाई पोजिटिभ देखिएको हो।’

उनीहरुको अवस्था स्थिर छ। त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन। बहराइनको स्वास्थ्य मन्त्रालय अनुसार शुक्रबारसम्म १२ नेपाली सहित २ सय ८६ जनाको उपचार भइरहेको छ। ३ सय ८२ जना भने निको भएर अस्पतालबाट घर वा क्याम्प फर्किसकेका छन्। ४ जनाको मृत्यु भएको छ। हालसम्म ३७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ।

राजदूत सुन्दासले बहराइनमा उपचार भएर घर फर्किनेको संख्या खाडीमा सबैभन्दा बढी रहेको बताए। उनले बहराइनले संक्रमण नियन्त्रणलाई उल्लंघन गर्नेलाई तीन महिना जेल र एकदेखि १० हजार दिनार जरिवाना तोकिएको भन्दै सचेत रहन नेपाली समुदायलाई आग्रह गरेका छन्। ज्वरो आउने, खोकी लाग्ने र श्वास फेर्न र्गाहो भएमा तुरुन्त ४४४ मा फोन गर्नको लागि अनुरोध गरिएको छ।
 

कमेन्ट लोड गर्नुस