सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बादी समुदायमा भोकमरी

२०७६ चैत्र २१, ०३:०५ डीवि विष्ट

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा रहेको बादी समुदायमा भोकमरी भएको छ। मागेर जीविका चलाउँदै आएका बादी समुदायमा सरकारले लकडाउन गरेसँगै भोक भोकै बस्नु पर्ने अवस्था आएको छ। 

केही दिन अघिसम्म गाँउ घरबाट मागेर जम्मा गरेको खाद्यान्न सकिएपछि आफूहरु भोक भोकै बस्नु परेको सदरमुकाम चैनपुरकी हरिना बादीले बताए। दुई छोराछोरीकी आमा हरिनाले दुई दिनदेखि केही पनि नखाएको तर छोरा छोरीलाई भने पल्लो घरबाट मागेर एक छाक खान दिएको बताए। 

‘बजारमा सबै पसलहरु बन्द छन, गाँउ घरमा जान पाइँदैन। बिहीबार लुकेर एउटा गाउँमा गए पनि गाँउलेहरुले अन्न दिन नमानेपछि रित्तो हात फर्किए’ हरिना बादीले भनीन। 

‘आफूभन्दा पनि ससना छोरा–छोरीको माया लागेर आउँछ’, उनले भने, ‘छोरा–छोरी भोक लाग्यो भन्दै कराएको करायै छन्। यहाँको पालिकाले पनि हेरेकोे छैन। सबैले काम गरेर खाउ भन्छन्। यस्तो समयमा काम पनि कस्ले दिन्छ ?’
हरिनाजस्तै यहाँका १४ परिवार बादी समुदायको अवस्था उस्तै रहेको स्थानीय राधा बादीको भनाइ छ। 

१४ परिवारकै उब्जनी गर्ने जग्गा जमिन समेत नरहेको र बर्षौदेखि मागेरै गुजारा चलाउँदै आएकोमा अहिले माग्न जाने समेत ठाँउ नभएका कारण आफूहरु समस्यामा परेको उनले बताए। अहिलेसम्म आफुहरुको अवस्था बुझ्न उद्योग वाणिज्य संघ बझाङको टोली मात्रै पुगेको र टोलीले चामल दिने भनेर गएका अर्की स्थानीय जानु बादीको भनाइ छ।

यता जयपृथ्वी नगरपलिकाका उपप्रमुख जुना जाग्रीले भने नगरपालिकाले राहतका विषयमा केही निर्णय र त्यसका लागि सबै वडाबाट  तथ्यांक संकलन गर्ने काम भैरहेको बताए। जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दल बहादुर विष्टले भने अहिलेसम्म राहत दिने कार्य नभएको र शनिबारसम्म व्यक्तिगत रुपमा भए पनि राहत उपलब्ध गराउने जानकारी दिए। 

यस विषयमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने बादी समुदायका लागि मात्रै नभएर जिल्लाभन्दा बाहिरबाट मजदुरी गर्न आएकालाई समेत नगरपालिकाले राहत दिने तरीकाले काम गर्न आफूहरुले नगरपालिकालाई अनुरोध गरेको बताए।

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस