विपन्नका परिवारका लागि धनगढीका युवाहरुले स्थापना गरे फुड बैंक
धनगढी : धनगढीका युवाहरुले फुड बैंक स्थापना गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ गुरुद्वारा टोलका स्थानीय युवाहरुले टोलवासीसङ्ग खाद्यान्न सामाग्री संकलन गर्दै फुड बैंकको स्थापना गरेका हुन्।
कोरोनाको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनलका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुरका लागि फुड बैंक स्थापना गरिएको सामाजिक कार्यमा संक्रिय धनगढीका युवा मदन भट्टले बताए।
बैंकमा खाद्यान्न संकलन गर्दै विपन्न परिवारलाई वितरण गरिने उनले बताए। आज पनि बैंकबाट केही विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ ले पनि विपन्न परिवालाई राहत वितरणका लागि तथ्याङक संकलन गर्दै आएको वडा अध्यक्ष वलवहादुर ऐरले बताए। फुड बैंक पनि वडा कार्यालयकै समन्वयमा स्थापना गरिएको हो।