सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्द छ देश, भ्रष्टाचार खुल्ला

२०७६ चैत्र १९, ०६:४५

बिष्णु जोशी

बन्द छ देश, भ्रष्टाचार चाहिँ खुल्ला
नीति विधाता नेता कानुन भन्दा ठुला
हाम नफाल लाहुरे महाकालीमा
घाँटी नसुकाऔँ नारा र गालीमा !
जागौँ नेपाली ! मनमा अब प्रण लिऔँ
यस्तालाई भोट हालिन्न आउँदो पालीमा !

एक महिना जनताको घर-दैलो चुनावमा
जितेपछि पाँच वर्ष आफ्नै हिसाबमा !!
किन जानु झोले भई कसैको र्‍यालीमा ?
ठेउला उठ्ने गरी नपिटौँ हात तालिमा
जागौँ नेपाली ! मनमा अब प्रण लिऔँ
यस्तालाई भोट हालिन्न आउँदो पालीमा !

तिम्रा ती हिजोका खोक्रा दल र वादका नाराले
के दियो देशलाई , के पाए सर्वहाराले ?
बुढो रुखका हरिया पात छैनन् डालीमा
प्रचण्ड सूर्य पोल्ने भयो हरायो सुन्दर लालीमा
जागौँ नेपाली ! मनमा अब प्रण लिऔँ
यस्तालाई भोट हालिन्न आउँदो पालीमा !

बिष्णु जोशी खप्तडछान्ना ५ , पिठेतोला
हाल : युनिभर्सिटी अफ म्यासाचुसेट्स , अमेरिका

कमेन्ट लोड गर्नुस