सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका मनकारी केरा व्यापारी

२०७६ चैत्र १९, ०८:५३

कैलाली : टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन्। चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरे।

उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र  क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ। चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। ‘‘यस्तो विपत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ।’’ चौधरीले भने, ‘‘दिनभरि कार्यक्षेत्रमा खटेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु।’’

नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३  नेपाली  छन्। नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिए। ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थाले। क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छाैँ।’’

रेन्टाइमा बस्ने नागरिकको नगरपालिकाले दैनिक दुई पटक स्वास्थ्य परीक्षण गर्ने गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले बताए। ‘‘कहिलेकाहीँ विशेषज्ञ चिकित्सकको सेवासमेत दिने गरेका छौँ तर अहिलेसम्म कोही नागरिकमा कोभिड–१९ को संक्रमणका कुनै लक्षण देखिएका छैनन्।’’ रासस
 

कमेन्ट लोड गर्नुस