सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुनियाँको यस्तो शहर, जहाँका मानिस एकाएक पत्थर बने

। फोटो स्रोत ।
२०७६ चैत्र १९, ०६:२३ खबर संवाददाता

कुनै मान्छे तथा रुखलाई कसैले छुनेबित्तिकै ढुंगा बन्ने गरेका कहानीहरु कतिपय लोककथामा सुनिएको थियो। तर यो दुनियामा यस्तो शहर छ, जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीवजन्तु तथा बोटविरुवाहरु एकाएक सर्वनाश भएर अन्ततः पत्थर बनेका थिए।

मान्छे तथा सबै जीवजन्तु र वनस्पती ढुंगा बनेको शहर इटालीमा छ। उक्त शहरमा अहिले पनि पत्थर बनेका ती मानिस तथा जीवजन्तुका आकृति देखिन्छन्। झ्वाट्ट हेर्दा ती कुनै मूर्तिजस्ता लाग्दछन्। तर ती मूर्ति नभै साँच्चिकै पत्थर मानव हुन्। जसको पछाडि निकै भयानक इतिहास लुकेको छ।

उक्त शहरको नाम पोम्पई हो। जहाँ आजभन्दा झण्डै साढे १९ सय वर्षअघि १५ हजार मानिसको बसोबास थियो। सन् ७९ मा त्यहाँ एउटा भयानक घटना भयो। एकै झट्कामा पूरा शहर ध्वस्त भयो। वैज्ञानिकहरुले उक्त शहरको भग्नावशेषबाट यस्ता तथ्यहरु उत्खनन गरेका छन्, जसका कारण उक्त प्रलयबाट शहरमा त्यसबेला कोही पनि जिउँदो रहन नपाएको अनुमान गर्न सकिन्छ।

पोम्पई करिब १७० एक्कड क्षेत्रफलमा फैलिएको छ। त्यहाँ रहेका खण्डहरुहरुका आधारमा त्यस समय उक्त शहरमा ११ हजारदेखि १५ हजार मानिसको बसोबास भएको अनुमान गरिएको छ। केही वर्षअघि उत्खननका क्रममा पुरातत्वविदहरुले त्यहाँ एउटा घोडाको शरीर तथा त्यसको कवच फेला पारे, जुन पत्थर बनिसकेको थियो। साथै मान्छेको खप्पर पनि फेला पर्यो, जुन सिसा बनिसकेको थियो।

वास्तवमा पोम्पइको नजिकै पर्ने नेपल्सको खाडीस्थित माउन्ट वेसुवियसमा सन् ७९ मा भयानक ज्वालामुखी विस्फोट भयो। उक्त ज्वालामुखी विस्फोटबाट ठूलो मात्रामा लाभा, खरानी तथा ग्यास निस्किएर शहरलाई छोप्यो। शहरका कुनै पनि मानिस भाग्न सकेनन्। शहरका मानिस, जीवजन्तु तथा रुखविरुवा समेत ज्वालामुखीको लाभाले पुरिए। जब लाभा सेलाउन थाल्यो तब ठोस अवस्थाको लाभामा लपेटिएर मान्छे र जनावरका लासहरु चट्टान जस्तै भए।

पोम्पइजस्तै उक्त ज्वालामुखीले अर्को सानो शहरलाई पनि विध्वंस गरेको थियो। त्यसको नाम हर्कुलेनियम हो। सो सहरका सबै मानिस ज्वालामुखीमा परेर मरेका थिए। सो सहरको भग्नावशेषबाट पनि पुरातत्वविदहरुले चट्टानी मानव शरीरहरु फेला पारेका छन्। इटालीका यी दुवै शहरहरु युनेस्कोको विश्व सम्पदा सूचिमा रहेका छन्।
 एजेन्सी 

 

कमेन्ट लोड गर्नुस