सुदूर नेपाललाई विश्वसँग जोड्दै

अलपत्र नेपाली भन्छन्ः ‘रोगले हैन, भोकले मरिने भयो’

२०७६ चैत्र १७, ०८:२१ खबर संवाददाता

दार्चुलाः विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका सयौं नेपाली सीमा क्षेत्र धारचुलामा अलपत्र परेका छन्।

आफूहरूलाई स्वदेश फर्किने वातावरण बनाइदिन उनीहरूले नेपाल सरकारसँग आग्रह गरीरहेका छन्। नेपाल–भारत दुवैतर्फ लकडाउन गरिएको अवस्थामा नेपाली मजदुरहरु पैदल हिडेर पिथौरागढमा तिन दिन लगाएर धारचुला पुगेका थिए। भारतका होटलहरुमा समेत बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले जनाएका छन्।

मार्मा गाउँपालिका ५ का दिलेन्द्र महताले चार दिनदेखि खानेकुरा पाउन नसकेको बताए। चाउँचाउँ विस्कुट किन्न पनि पाइएको छैन, उनले भने। धारचुलामा अहिलेबढि मान्छे भएपछि सडक छेउ र महाकाली किनारमा आएर बस्नुपरेको छ। अपिहिमालका ५ का सुनिल धामी आफ्ना ठेकेदार र मेटले समयमै रकम नदिदा आउन ढिलाई भएको बताउँछन्।

‘काम गरेको रकम पनि आधा दिइएको छ, २ हजार रुपैयाँ दिएर पठाएको हो,’ उनले भने, ‘अहिले धारचुलाम के खाने भन्ने भइरहेको छ। भारतीय प्रहरीले सामाजिक दुरी बनाएर बस भन्छन, महाकाली बगर क्षेत्रमा महाकाली नदीको पानी खाएर बसेका छौ।’यतिका मान्छेहरु एउटै ठाउँमा बस्दा रोग हैन, भोक भोकै मरिने अवस्था आइसकेको उनको भनाई छ।

आफुहरु नेपाल आएर मापदण्डअनुसार क्वारेन्टाइनमा बस्न तयार छौ, तर हामीलाई यो महाकालीको बगरबाट आफ्नो देश फिर्ता लगिदेउ उनको भनाई छ। धारचुलामा रोकिएका अधिकांश बैतडीको पूच्र्यौडी, डिलाशैन, बझाङ, लगायतका ठाउँका छन्। भने दार्चुलाको अपिहिमाल, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीय रहेका छन्।

शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुलाएर धारचुलामा अलपत्र परेका दुई सय २५ जनाको उद्धार गरे पनि सोही रातिदेखि मानिसहरु थपिँदै आएका व्यक्ति अलपत्र छन्। सोमबारसम्म धारचुलामा दार्चुलाका ९४ जना, बैतडीका २ सय, बझाङका १५८ जना, कैलालीका ७७ जना, डडेल्धुराका २७ र डोटीका १ जना रहेका छन्।

भारतका विभिन्न ठाउमा मजदुरी गरेर फर्किएका उनीहरूले महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार बेलुकतिर सरकारविरुद्ध नाराबाजी गरेका थिए। भने सोमबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरी लक्षित गर्दै पारी धारचुलाबाट वारी दार्चुलामा ढुंगा प्रहार गरेका थिए। नेपाल–भारत जोड्ने पुलको गेट बन्द गरिएको हुँदा उनीहरू नेपाल प्रवेश गर्न पाएका छैनन्।

सबैलाई राख्न सदरमुकाममा क्वारेन्टाइन नभएको र माथिल्लो निकायबाट पूल खोल्न आदेश नआएसम्म खोल्न पनि नसकिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। यसअघि नेपाल लक डाउन भएपछि तीन पटक झोलुङगे पूल खुलाएर साढे तीन सय बढि नेपाली भित्रिएका थिए।

भारतमा मजदुरी गर्न गएका तिनीहरुलाई भारतीय पक्षले आफ्नो देश जान भनेपछि नेपाल फर्किन हिँडेका हुन्। यस्तै महाकाली नदीमा ट्युबमार्फत पनि सयौं व्यक्ति नेपाल प्रवेश गरिसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस