सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरेक मृत्युलाई कोरोनासँग नजोड्न आग्रह

। फोटो स्रोत ।
२०७६ चैत्र १७, ०६:३० खबर संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९)सँग नजोड्न आग्रह गरेको छ।

गाउँघरमा कसैको ज्यान गए पनि कोरोनासँगै जोड्ने गरिएको भन्दै मन्त्रालयले सबै मृत्युलाई कोरोनासँग नजोड्न आग्रह गरेको हो। सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कोरोनाकै कारण मर्यो भन्ने हल्ला फैलाएका कारण मलामी नजाने गरेको खबर आएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे।

उनले ५ देखि १० प्रतिशत नागरिकलाई मात्रै अस्तपालमा भर्ना गनुपर्ने भएकाले कारोनाका कारण ज्यान गुमाउनेको दर कम हुने बताए। कुनै कारणवश ज्यान गए पनि कोरोनाकै कारण ज्यान गएको भन्ने भ्रम नराख्न आग्रह गरिएको छ। नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको बताए।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९९३ वटा नमूना परीक्षण गरेकोमा पाँच जनामा मात्रै कोरोना पुष्टी भएको बताए। यस्तै उनले चीनबाट ल्याइएको स्वास्थ्य परीक्षण लगायतका सामग्री सबै प्रदेशमा पुर्याइने बताए।

उनका अनुसार धनगढी, सुर्खेत र विराटनगरमा हेलिकोप्टरमार्फत सामग्री पुर्याइएको छ भने अरु जिल्लामा गाडीमार्फत सामग्री पठाइएको छ। यस्तै उनले  कोरोनाको नमूना परीक्षण सबै प्रदेशमा पुर्याइने बताए। धरानमा १९ वटा नमूना परीक्षण भइसकेको जानकारी दिँदै छिट्टै अरु प्रदेशमा पनि सेवा विस्तार गर्ने बताए।

कमेन्ट लोड गर्नुस