सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खाद्यान्न अभाव हुने चिन्ता, सरोकारवाला निकाय भन्छ–तीन महिनाको मौज्दात छ

२०७६ चैत्र १७, ०५:०४ भुवन भट्ट

धनगढी: सरकारले कोरोना रोकथामका लागि देशभर लकडाउन गरेको छ। यसअघि एक हप्ता सम्मका लागि आह्वान गरिएको लकडाउन फेरि आइतबार बसेको मन्त्री परिषद्को बैठकले चैत २५ गतेसम्म लम्बाएको छ। 

लामो समयसम्मका लागि लकडाउन आह्वान भएपछि धनगढीमा खाद्य बस्तुको अभाव हुने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ। लकडाउनले आपुर्ति ठप्प भएपछि धनगढीका व्यापारीहरुले खाद्य वस्तुको अभाव हुन थालेको भन्दै चिन्ता जाहेर गरेका हुन्। 

बजारमा अहिले चिनिको अभाव हुनथालेको व्यापारीहरु बताउँछन्। खुद्रा व्यापारीहरु थोकमा खाद्यान्न खरिद गर्न नपाएको गुनासो गरिरहेका छन्। भने उतातिर थोक विक्रेताले पनि  सामाग्री अभाव भएको बताइरहेका छन्। 

धनगढीको बोराडाडीका खुद्रा व्यापारी बीरबहादुर थापा भन्छन्, ‘खाद्यान्न खरिदका लागि थोक विक्रेता कहाँगए तर त्यहाँ खुद्रा रुपमा सामाग्री बिक्रि गरिने बताएपछि म फर्किए।’ खुद्रा बिक्रेताले थोकमा सामाग्री खरिदगर्न नपाएपछि वस्तुको मुल्य समेत महंगिने भन्दै खु्रद्रा रुपमा सामाग्री नल्याएको उनले बताए। उनले बजारका अहिले चिनी, ग्यास, रिर्चाज, तरकारीको अभाव भएको बताए। 

तर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले भने बजारमा उपभोग्य बस्तु अभाव हुन नदिने दावी गरेको छ। बजारमा तीन महिना पुग्ने उपभोग्य बस्तु मौज्दात रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल पुनमगरको दावी छ। तर बजारमा तरकारीको आपूर्तिमा भने केही चुनौती देखिएकाले त्यसको व्यवस्थापनमा जुटेको उनले बताए। 

खाद्यान्न आपूर्ति सहजताका लागी सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला आपूर्ति व्यवस्थापन समिती गठन गरीएको छ। खाद्यान्न अभाव हुननदिन र कालोबजारी नियन्त्रणका लागि उक्त समितिले नियमन गर्ने छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका जिल्ला आपूर्ति व्यवस्थापन समितिका अध्यक्ष मोहन जोशीले जिल्लामा खाद्यान्न अभाव हुन नदिने दावी गरेका छन्।

उनले जिल्लास्थित खाद्य मिल, थोक बिक्रेता, खुद्रा विक्रेता तथा अन्य सम्बन्धित निकायसँग छलफल गर्दा ३ महिना पुग्ने खाद्यान्न मौज्दात रहेको जानकारी पाएको बताए। खाद्यान्न अभाव हुन नदिन थप संयन्त्र परिचालनगरी जनतालाई भोेकमरीमा नपार्ने उनले दावी गरे। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस