सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरिया बजारमा सेनाले छर्कियो किटनाशक औषधि

२०७६ चैत्र १६, ०७:५३ खबर संवाददाता

धनगढी: नेपाली सेनाको भवानी दल गणले कोरोनाको संक्रमण रोकथामका लागि धनगढी र अत्तरिया बजारमा किटनाशक औषधि छर्केको छ।

भवानी दलले आइतबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बजार क्षेत्रमा दमकलले क्लोरिन छर्केको हो। भवानी दलका गणपति विकास केसीले जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकार संगको समन्वयमा धनगढी र गोदावरी बजार क्षेत्रमा स्प्रे गरिएको बताए।

उनले नेपाली सेनाले कैलाली कोरोनाको रोकथामका लागि हेल्पडेक्स मार्फत स्वास्थ्य चेकजाँच, क्वारेन्टाईन स्थापना लगायतका कार्य गर्दै आएको जानकारी दिए।

गोदावरी नगरपालिका अन्तर्गत सह सेनानी सुदर्शन उपाध्याय धितालको कमाण्डमा खटिएको मेडिकल टोलीले अत्तरिया चोक बसपार्क, स्मारक गेट र सैनिक आवासिय महा विद्यालयमा रहेको क्वारेन्टाईन भवनमा समेत किटाणुनाशक औषधी छर्केको छ।

सेनानी डम्बर शाहीको नेतृत्वको टोलीले धनगढी कभर्ड हलमा रहेको क्वारेन्टाईन एरियामा पाल ट्वाईलेट झ्याल ढोका तथा खुल्ला मैदानमा धनगढी उपमहानगरपालिकाको सहयोगमा स्प्रे गरेको छ।
 

कमेन्ट लोड गर्नुस