सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटेलबाट निकालिएपछि भारतमा नेपालीको बिचल्ली, प्रहरीबाट लुकेर खुलाठाउँमा बास

२०७६ चैत्र १६, ०१:२४ खबर संवाददाता

गणेश ठगुन्ना, डडेल्धुरा: कोरोना भाइरस(कोभिड–१९) त्रासकाबिच भारतमा ठूलो संख्यामा नेपालीहरु होटेलबाट निकालिएका छन्। भारतको गुजरातमा पर्ने राजकोट शहरका विभिन्न ठाउँमा एक सयभन्दा बढी नेपालीहरु होटेलको कामबाट निकालिएका हुन्। 

कोरोना भाइरसका कारण पुरै भारत लकडाउन गरिएका बेला तलब नै नदिई त्यहाँका होटेल मालिकहरुले कामबाट निकालिदिएपछि एकसय भन्दा बढी नेपालीहरु आफ्नो सम्पर्कमा आएको राजकोटमै रहेका डडेल्धुराका सन्दिप बोगटीले जानकारी दिए। 

अलपत्र परेका मध्ये धेरैजसो भारतमा जनता कफ्र्यु लगाएको अघिल्लो दिन कामबाट निकालिएको उनले बताए। कोरोनाको कारण देखाउँदै होटेल बन्द गरेर आफूलाई कामबाट निकालेको र तलब पनि नदिएको बोगटीमार्फत सम्पर्कमा आएका राजकोटस्थित एक होटलमा काम गर्ने डडेल्धुराको अमरगढी नगरपालिका–४ सुनेडाका तीर्थबहादुर बिष्टले गुनासो गरे। 

होटेलबाट निकालिएसँगै उनीहरुको एक हप्तादेखि खुला आकाश मुनीको बास भएको छ। विभिन्न स्थानमा फरक–फरक समूहमा उनीहरु खुला ठाउँमा दिनरात काटिरहेका छन्। लकडाउन भएकाबेला खुला ठाउँमा देखेपछि त्यहाँको प्रहरीले समेत उनीहरुलाई लखेटिरहेको छ। 

प्रहरीले एक ठाउँबाट लखेटेपछि उनीहरु अर्को ठाउँमा दिनरात काटिरहेका छन्। “बाहिर खुला ठाउँमा दिनरात काट्नुपर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिदैन्। लखेट्ने गरेको छ” पिडित केशव बिष्टले दुःख पोखे।

तलब नै नदिएपछि किनेर खानलाई गोजीमा पैसा समेत नभएको र होटेल र पसलहरु समेत बन्द गरिएकोहुँदा आफुहरुलाई खान र बस्न निकै समस्यामा भएको अर्का पिडित धर्म साउँदले बताए।

राजकोट शहरमा विभिन्न समूहमा फरक–फरक ठाउँमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेको जानकारी दिँदै खान बस्न समेत समस्य ाभएको हुँदा उद्धार गरिदिन नेपाल सरकारका साथै सुदूरपश्चिमप्रदेश सरकारलाई समेत उनीहरुले गुहार मागेका छन्। 

उनीहरुले भारतमै काम गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफुहरुको समस्या बुझ्न सक्ने भन्दै उद्धारको आशा गरेका छन्।
 

कमेन्ट लोड गर्नुस