सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘उत्पादक-वितरणको सहमतिमा नै चीनबाट सामग्री’

२०७६ चैत्र १५, ०९:४९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक/वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक पटक बोलपत्र आह्वान गर्दासमेत कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुनः उत्पादक÷वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता गरी उक्त सामग्री  चीनबाट  ल्याउन लागिएको जानकारी दिए।

सामग्री ल्याउनका लागि आज नेपाल वायुसेवा निगमको जहाज चीन गएको छ। राति १ बजे जहाजले सामग्री नेपाल ल्याउने छ।  मन्त्रालयका प्रवक्ता डा. देवकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय शुरुदेखि नै क्रियाशील रहिरहेको उल्लेख गर्दैै सामग्री ल्याउने  विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेको भनी दुःख व्यक्त गरेको छ ।  

‘‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरीद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित÷पोष्ट भइरहेको परिप्रेक्ष्यमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्रीहरु मात्र प्रचारप्रसार गर्न सबैमा अनुरोध छ’’, विज्ञप्तिमा भनिएको छ। 

 (रासस)

कमेन्ट लोड गर्नुस