सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः धनगढीका सडकमा किटनाशक औषधि छर्किन सुरु

२०७६ चैत्र १३, ०४:५० खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाले कोभिड– १९ रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधि छर्किन सुरु गरेको छ। बिहीबार चौराहादेखि मनहेराको पेटो«ल पम्म र हसनपुर राष्ट्रबैंक चोकदेखि धनगढी उप–महानगरपालिकाको गेटसम्म औषधि छर्किने काम गरिएको छ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भव भएसम्म नगरका सबै क्षेत्रमा औषधि छर्किने बताएका छन्। उनले भने, ‘औषधी छर्किने काम पानी छर्किने ट्यांकरबाट गरिरहेकाले सबै गल्लीहरुमा ट्यांकर प्रवेश नगर्न सक्छ। धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएससम्म काम गरिरहेको छ त्यसैले संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ।

धनगढी उप–महानगरपालिको दमकल शाखा इन्चार्ज काशीराम अर्यालले नगरक्षेत्रमा निरन्तर औषधी छर्किने बताए। उनले भने, ‘औषधि केही गन्हाउने हुन्छ, त्यसमा अप्ठेरो नमान्न नगरवासीमा अनुरोध गर्दछौं।’

सय बेडको क्वारेन्टाइन तयार
धनगढी उप–महानगरपालिकाले बिहिबार मात्रै १ सय बेडसम्मको क्वारेन्टाइन तयार गरिसकेको नगरप्रमुख वडले बताए। ‘शुक्रबारसम्म २ सय भन्दा बढी बेड तयार गरिसक्छौं। उप–महानगरपालिकाले पूर्वतयारी अन्तरगत समिति नै बनाएर जिम्मेवारी बाँडफाँड गरेर काम गरिरहेको छ’ उनले भने।

कमेन्ट लोड गर्नुस