सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ कम्पनीद्धारा नेपाललाई २ हजार किट उपहार

। फोटो स्रोत ।
२०७६ चैत्र १३, ०८:१२

चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ। ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ। ‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भाव हो,’ कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले एपीडी न्युजलाई भनेका छन्।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ। त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ। सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ।

कोरोना भाइरस परीक्षणका निम्ति किट अत्यावश्यक मानिन्छ। तर, कोरोना  विश्वका १ सय ९७ बढी देशमा फैलिएपछि यो सर्वसुलभ हुन सकेको छैन। पर्याप्त किट नभएपछि नेपाल सरकार यसको जोहोमा जुटेको बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका थिए। मन्त्री ढकालले चीनबाट तीन दिनभित्र आवश्यक स्वास्थ्य सामाग्री ल्याइने बताएका थिए। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको भन्दै ट्वीट गरेकी थिइन्।

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ। यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितमध्ये १ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने २ को उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस