सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द

२०७६ चैत्र १३, ०७:५०

पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ। 

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो। गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले बताए। बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए। 

“कोरोनाका बिरामी आउने डरले उनीहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भने।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए। “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उनले भने। 

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताए। प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उहाँले पनि औषधि पसल सञ्चालन गर्नुभएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले बताए।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए÷नभएको अनुगमन गरेको थियो। ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताए।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस